तस्करी नियन्त्रणमा कडाइ, आवश्यक ठाउँमा नीतिगत लचकता अपनाइने : रवि लामिछाने

काठमाडौँ । रवि लामिछानेले मुलुकभर फैलिएको तस्करीको जालोलाई नियन्त्रण गर्न सरकारले कडाइ गरिरहेको जनाउँदै आवश्यक ठाउँमा नीतिगत लचकता अपनाउन सकिने संकेत दिएका छन्।

आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको संवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सीमा क्षेत्रमा भइरहेको खुला तस्करीप्रति राज्य मौन बस्न नसक्ने स्पष्ट पारे। उनले तस्करी नियन्त्रणका लागि कडाइ गर्दा सीमावर्ती क्षेत्रका सर्वसाधारणमा असन्तुष्टि देखिएको स्वीकार गर्दै त्यहाँको संवेदनशीलतालाई ध्यानमा राखेर नीतिगत पुनर्विचार भइरहेको जानकारी दिए।

सीमावर्ती क्षेत्रका नागरिकहरूको जीवनशैली वर्षौँदेखि वारिपारि आवतजावत गर्ने र सस्तो बजारबाट दैनिक उपभोग्य वस्तु ल्याउने रहेको उल्लेख गर्दै उनले यसलाई पूर्ण रूपमा बेवास्ता गर्न नसकिने बताए। तर, उपभोक्ताले सस्तो खोज्ने प्रवृत्ति र सीमावारिका नेपाली व्यवसायीहरूको लगानी जोखिममा पर्ने अवस्था राज्यका लागि चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

लामिछानेले स्वदेशी उद्यमी र व्यवसायीको संरक्षण र प्रवर्द्धनलाई राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिँदै विदेशी सस्तो बजारको दबाबका कारण नेपाली बजार धराशायी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

उनले देशको अर्थतन्त्र सुधारका लागि तस्करी नियन्त्रण अनिवार्य सर्त भएको उल्लेख गर्दै उपभोक्ताको सहजता र व्यवसायीको सुरक्षाबीच सन्तुलन कायम गर्न सरकार लागिपरेको बताए। “हाम्रा उद्यमी र व्यवसायीको उन्नति हाम्रो प्राथमिकता हो, तर आम सर्वसाधारणको जनजीवन पनि सहज हुनुपर्छ,” उनले भने।

हालै सीमा नाकाहरूमा सुरक्षा जाँच र राजस्व संकलनमा कडाइ गरिएपछि स्थानीय तहमा विरोधका स्वर सुनिन थालेका छन्। यस सन्दर्भमा लामिछानेले साना उपभोक्तालाई मर्का नपर्ने गरी ठुलो परिमाणको अवैध तस्करी रोक्न सरकार प्रतिबद्ध रहेको दाबी गरे।

Facebook Comments Box
TOP
454 Shares