रातो नम्बर प्लेटका मोटरसाइकलबाट राइड सेयरिङ बन्द, अब कालो नम्बर प्लेट अनिवार्य

काठमाडौँ । सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने मोटरसाइकल तथा स्कुटरका लागि नयाँ व्यवस्था लागू गरेको छ। अब रातो नम्बर प्लेट भएका निजी दुईपाङ्ग्रे सवारी साधनले राइड सेयरिङ सेवा सञ्चालन गर्न नपाउने भएका छन्।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको आर्थिक ऐनमार्फत दुईपाङ्ग्रे सवारी साधनलाई समेत सार्वजनिक (भाडाका) सवारी साधनका रूपमा दर्ता गर्ने कानुनी व्यवस्था गरेको हो। यसअनुसार राइड सेयरिङ सेवामा प्रयोग हुने मोटरसाइकल तथा स्कुटरलाई भाडाका सवारी साधनका रूपमा दर्ता गरी कालो नम्बर प्लेट लिनुपर्नेछ।

प्रचलित यातायात व्यवस्था ऐन, २०४९ अनुसार भाडाका सवारी साधनलाई कालो नम्बर प्लेट प्रदान गर्ने व्यवस्था रहेको छ। हालसम्म भने अधिकांश राइड सेयरिङ सेवा रातो नम्बर प्लेट भएका निजी मोटरसाइकल तथा स्कुटरमार्फत सञ्चालन हुँदै आएका छन्।

नयाँ व्यवस्थासँगै राइड सेयरिङमा संलग्न दुईपाङ्ग्रे सवारी साधनले वार्षिक आयकरसमेत तिर्नुपर्नेछ। सरकारले यस्तो सवारी साधनका लागि वार्षिक ३ हजार रुपैयाँ आयकर निर्धारण गरेको छ।

यसबाहेक, राइड सेयरिङ सेवाबाट प्राप्त हुने प्रत्येक कारोबारमा ५ प्रतिशत कर लाग्ने व्यवस्था पनि गरिएको छ। सरकारले यस कदमलाई राइड सेयरिङ क्षेत्रलाई कानुनी दायरामा ल्याउने, राजस्व संकलन व्यवस्थित गर्ने तथा सेवा सञ्चालनलाई नियमन गर्ने प्रयासका रूपमा लिएको जनाएको छ।

नयाँ व्यवस्थासँगै नेपालमा सञ्चालन भइरहेका राइड सेयरिङ सेवाहरूले आफ्नो सेवा तथा सवारी साधनको दर्ता प्रक्रियामा आवश्यक परिवर्तन गर्नुपर्ने भएको छ। यसले राइड सेयरिङ व्यवसायलाई थप औपचारिक र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
384 Shares