प्रहरीमा ‘सानालाई ऐन, ठूलालाई चैन’ : उच्चपदस्थमाथि कारबाही सिफारिस, प्रतिवेदन प्रधान कार्यालयमै थन्कियो

काठमाडौं । नेपाल प्रहरीभित्र अनुशासन र आन्तरिक शुद्धीकरणको नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको देखिएको छ। प्रहरीका उच्चपदस्थ अधिकारीहरू गम्भीर प्रकृतिका विवाद र लापरबाहीमा मुछिएर छानबिनबाट दोषी देखिँदासमेत उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन। विभिन्न छानबिन समितिले कारबाही सिफारिससहित बुझाएका प्रतिवेदन प्रहरी प्रधान कार्यालयमै थन्किँदा पहुँचवाला प्रहरी अधिकारीलाई उन्मुक्ति दिने गरिएको आरोप बलियो बनेको छ।

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमै मोबाइल फोन प्रयोग गर्न दिएको घटनामा ललितपुरका तत्कालीन एसएसपी होबिन्द्र बोगटीसहितका प्रहरी अधिकारीमाथि छानबिन गर्न गत जेठमा डीआईजी ओम अधिकारीको नेतृत्वमा समिति गठन गरिएको थियो। चार महिना लामो छानबिनपछि समितिले एसएसपी बोगटी, एसपी गौतम मिश्र र प्रहरी नायब निरीक्षक विष्णु विकलगायतलाई कारबाही गर्न सिफारिस गर्दै गत असोजमा प्रतिवेदन बुझाएको थियो। तर, उक्त प्रतिवेदन दुई महिनादेखि प्रहरी प्रधान कार्यालयको कानुन महाशाखामै थन्किएको छ।

त्यस्तै, कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुखका रूपमा कार्यरत एसपी मुकुन्द रिजालमाथि गरिएको विभागीय छानबिनको प्रतिवेदन पनि सात महिनादेखि कार्यान्वयन हुन सकेको छैन। अर्घाखाँची प्रहरी प्रमुख हुँदा पदम केसी हत्या प्रकरणको अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोपमा उनीमाथि कारबाही सिफारिस गरिएको थियो।

भूमिकास्थान नगरपालिका–७ का पदम केसी २०८० साउन २६ गते मकैबारीमा गोली लागेको अवस्थामा मृत भेटिएका थिए। सुरुमा बाँदर धपाउने क्रममा आफैँले चलाएको गोली लागेर मृत्यु भएको निष्कर्ष निकाल्दै घटनालाई भवितव्यका रूपमा अनुसन्धान गरिएको थियो। तर, गत वर्ष गरिएको थप अनुसन्धानमा केसीको हत्या सौतेनी दाइ निमबहादुर केसीले गरेको खुलेको थियो। पक्राउ परेका निमबहादुर हाल कारागारमा छन्। घटनाको प्रारम्भिक अनुसन्धानमा गम्भीर त्रुटि गरेको भन्दै रिजालसहितका प्रहरी अधिकारीमाथि प्रदेश प्रहरी कार्यालयले कारबाही सिफारिस गरे पनि त्यसको टुंगो लागेको छैन।

मधेश प्रदेशका तत्कालीन डीआईजी गोविन्द थपलिया र धनुषाका तत्कालीन एसपी रुगमबहादुर कुँवरबीचको विवाद पनि प्रहरीको आन्तरिक अनुशासनमाथि प्रश्न उठाउने अर्को उदाहरण बनेको छ। उनीहरूबीचको विवाद सामाजिक सञ्जालमै सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले एआईजी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले एसपी कुँवरसहित वरिष्ठ सई सागरशमशेर राणा र गोपाल थापामगरलाई प्रहरी आचरणविपरीत गतिविधि गरेको भन्दै कारबाही सिफारिस गरेको थियो। तर, उक्त प्रतिवेदनसमेत कार्यान्वयनमा आउन सकेको छैन।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डीएसपी हेमबहादुर केसीमाथि पनि गम्भीर विभागीय कारबाहीको सिफारिस भएको छ। सल्यान प्रहरी प्रमुख हुँदा सवारी दुर्घटनासम्बन्धी मुद्दामा आर्थिक लेनदेन गरी वास्तविक चालकलाई हटाएर अर्कै व्यक्तिलाई चालकका रूपमा प्रस्तुत गरेको आरोप उनीमाथि छ।

२०८२ असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलानजिकै लु २ ख ६५०२ नम्बरको गाडी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो। उक्त गाडी वीरबहादुर नेपालीले चलाएको भए पनि उनीसँग सवारी चालक अनुमतिपत्र नभएकाले कर्णबहादुर खड्कालाई चालकका रूपमा खडा गरी मुद्दा चलाइएको आरोप छ। यस प्रकरणमा प्रदेश प्रहरी कार्यालयले छानबिन गरी डीएसपी केसीसहित वीरेन्द्रराज गुरुङलगायतका प्रहरी अधिकारीमाथि कारबाही सिफारिस गरेको थियो। तर, उक्त प्रतिवेदन पनि प्रहरी प्रधान कार्यालयको कानुन महाशाखामै रोकिएको छ।

आर्थिक लेनदेनको गम्भीर आरोपमा मुछिएका प्रहरी निरीक्षक किशोर तामाङ, विजय चौहान र वीरेन्द्र बोहरामाथिको छानबिनसमेत टुंगिएको छ। तर, उनीहरूमाथिको कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन।

यी घटना प्रहरी संगठनभित्रका केही प्रतिनिधि उदाहरण मात्र हुन्। उच्चपदस्थ अधिकारीमाथि छानबिन गर्नै कठिन हुने र छानबिनबाट कारबाही सिफारिस भए पनि कार्यान्वयनमा ढिलाइ हुने प्रवृत्तिले संगठनको अनुशासन प्रणालीमाथि नै प्रश्न उठाएको छ। गम्भीर गल्तीमा मुछिएका पहुँचवाला अधिकारीले उन्मुक्ति पाउने तर तल्लो तहका प्रहरी कर्मचारी सामान्य त्रुटिमै कारबाहीको भागीदार बन्ने गरेको भन्दै प्रहरीभित्र ‘सानालाई ऐन, ठूलालाई चैन’ प्रवृत्ति मौलाएको आरोप लाग्दै आएको छ।

यद्यपि, प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले भने उच्च दर्जाका प्रहरी अधिकारीमाथि पनि विभागीय कारबाही हुने गरेको दाबी गरेका छन्। कारबाही गर्दा पद र दर्जाभन्दा कसुरको प्रकृति हेरिने उनको भनाइ छ।

‘हाम्रो तथ्यांकमा सिनियर अधिकृत पनि धेरै कारबाहीमा परेका छन्,’ उनले भने, ‘प्रहरीविरुद्ध अनुशासनलाई बलियो बनाउन आन्तरिक शुद्धीकरणको काम भइरहेको छ। यसमा शून्य सहनशीलताकै नीति छ।’

तर, प्रहरी प्रधान कार्यालयकै तथ्यांकले भने उच्च तहका अधिकारीमाथि हुने कारबाहीको अवस्था निकै कमजोर देखाउँछ। चालु आर्थिक वर्षमा सात सय पाँचजना प्रहरी विभागीय कारबाहीमा पर्दा प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाका चारजना मात्रै छन्। त्यस्तै, गत आर्थिक वर्षमा एक हजार नौ सय ३२ जना प्रहरी कारबाहीमा परेकामा प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाका ११ जना मात्रै थिए।

तल्लो तहका सयौँ प्रहरी कर्मचारी कारबाहीमा पर्ने तर गम्भीर आरोप लागेका उच्चपदस्थ अधिकारीमाथिका छानबिन प्रतिवेदनसमेत कार्यान्वयन नहुने अवस्थाले प्रहरीको आन्तरिक शुद्धीकरणमाथि गम्भीर प्रश्न खडा गरेको छ। शून्य सहनशीलताको नीति भाषण र दाबीमा सीमित नराखी कारबाही सिफारिस भएका प्रतिवेदनको निष्पक्ष कार्यान्वयन गर्नुपर्ने चुनौती प्रहरी नेतृत्वसामु देखिएको छ।

Facebook Comments Box
एसपी बिदामा रहृको मौका छोपी,डिएसपीको मनोमानी जिप्रकाबाट बेपता तस्कर अझै फेला परेनन्
२ दिन अगाडि

1.5kViews 30 Shares Share on Facebook Share on Twitter पर्साका एसपी बिदामा रहेको मौका छोपी जिल्ला प्रहरीको प्रवक्ता समेत रहेका…

TOP
60 Shares