दानबहादुर कार्कीको पक्षमा सर्वोच्चमा कानुन व्यवसायीको बलियो बहस, सरकारको निर्णय बदर गर्न माग

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा खटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा उनका पक्षका कानुन व्यवसायीहरूले सरकारको निर्णय गैरकानुनी, स्वेच्छाचारी र विधिको शासनविपरीत रहेको जिकिर गर्दै बदर गर्न माग गरेका छन् ।

सर्वोच्च अदालतमा बुधबार अन्तरिम आदेशका लागि भएको बहसमा कानुन व्यवसायीहरूले सरकारले प्रहरी ऐन र स्थापित न्यायिक नजिरविपरीत कार्कीलाई आईजीपीबाट हटाएको तर्क गरेका हुन् ।

बहसको सुरुवात गर्दै अधिवक्ता टीकाबहादुर कुँवरले कार्कीको कार्यकालमा करिब १८ महिना बाँकी रहँदै सरकारले नियोजित रूपमा पदबाट हटाएको जिकिर गरे । प्रहरी ऐनको प्रक्रिया पूरा नगरी र कार्कीको सहमतिबिनै अर्को पदमा खटाउने निर्णय गर्नु कानुनसम्मत नभएको उनको भनाइ थियो ।

कुँवरले २०८२ मङ्सिर २२ गते हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतले स्थापित गरेको नजिर उल्लेख गर्दै निश्चित अवधिका लागि नियुक्त पदाधिकारीलाई कानुनी प्रक्रिया र सहमतिबिना स्वेच्छाचारी वा प्रतिशोधपूर्ण ढङ्गले हटाउन अथवा अर्को निकाय वा सिर्जना गरिएको पदमा स्थानान्तरण गर्न नमिल्ने तर्क गरे ।

‘कार्कीलाई प्रहरी ऐनको दफा १० अनुसार मात्रै हटाउन पाइन्छ,’ उनले भने, ‘सरकारलाई हटाउन मन लाग्यो भन्दैमा कुनै पद सिर्जना गरेर हटाउन मिल्दैन । मन्त्रिपरिषद्ले निर्णय गर्दा खटाउने भनियो, तर उनलाई महानिरीक्षक पदबाट हटाइयो ।’

प्रहरी महानिरीक्षक आफैँ पनि सुरक्षा सल्लाहकारको भूमिकामा रहने पद भएको जिकिर गर्दै उनले सरकारको निर्णय कानुनी रूपमा त्रुटिपूर्ण रहेको बताए ।

त्यसैगरी अधिवक्ता माधवकुमार बस्नेतले कार्कीलाई अर्को जिम्मेवारीमा खटाउने निर्णय गरिए पनि उनको साविकको पद यथावत् रहने भएकाले सरकारको निर्णय प्रथम दृष्टिमै बदरभागी रहेको तर्क गरे । अर्को पद सिर्जना गरेर नियुक्त गर्ने सरकारको निर्णय कानुनी आधारविहीन रहेको उनको दाबी थियो ।

बहसमा सहभागी वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले प्रहरी महानिरीक्षक सरकारको इच्छाअनुसार जहाँसुकै खटाउन मिल्ने सामान्य पद नभएको जिकिर गरे ।

‘यो पदमा निश्चित पदावधि हुन्छ भनेर कानुनमै उल्लेख छ,’ उनले प्रश्न गरे, ‘सरकारले हटाएको होइन, खटाएको भनेको छ, त्यसो भए नेपालको कानुनले दुई जना आईजीपी हुने व्यवस्था गरेको छ ?’

उनले ‘सुरेश यादव विरुद्ध नेपाल सरकार’ मुद्दामा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले सार्वजनिक पदमा निश्चित पदावधिको कानुनी प्रत्याभूतिसम्बन्धी सिद्धान्त स्थापित गरेको स्मरण गराए । कानुनले पदावधि तोकेको पदबाट अवधि पूरा नहुँदै हटाउन स्पष्ट, वस्तुनिष्ठ र उचित कानुनी आधार आवश्यक पर्ने उनको तर्क थियो ।

त्यस्तै वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संसद्ले निर्माण गरेको कानुनअनुसार नियुक्त आईजीपीलाई हटाएर राजनीतिक प्रकृतिको पदमा पदस्थापन गर्नु गलत भएको बताए ।

उनले पूर्वआईजीपी अच्युतकृष्ण खरेलको मुद्दामा सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिरसमेत स्मरण गराउँदै सरकारले स्वेच्छाचारी ढङ्गले कुनै व्यक्तिलाई पदबाट हटाउन नमिल्ने बताए ।

कुनै गल्ती नगरेको व्यक्तिलाई बिनाकारण पदमुक्त गर्न मिल्ने कि नमिल्ने र यसमा ‘डक्ट्रिन अफ प्लेजर’ अर्थात् सरकारको इच्छाअनुसार पदमुक्त गर्न सकिने सिद्धान्तको दुरुपयोग भएको छ कि छैन भन्ने विषय अदालतले गम्भीर रूपमा परीक्षण गर्नुपर्ने उनको भनाइ थियो ।

खराब आचरण, शान्ति सुरक्षा कायम गर्न असफलता वा पदमा रहँदा हानि पुर्‍याएको अवस्था भए कानुनी प्रक्रिया र स्पष्टीकरणको अवसर दिएर मात्रै हटाउन सकिने भए पनि कार्कीको हकमा त्यस्तो प्रक्रिया नअपनाइएको उनले बताए ।

‘सरकारले प्रहरी ऐनमा फ्रड गरेको छ,’ शाक्यले भने, ‘उहाँलाई कतै खटाइएको भने पनि यथार्थमा बर्खास्ती नै गरिएको हो ।’

यसैगरी वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेलले सरकारले कुन कानुन र कुन दफामा टेकेर कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा खटाएको हो भन्ने स्पष्ट नखुलाएकाले तत्काल अन्तरिम आदेश जारी हुनुपर्ने माग गरे ।

सरकारको निर्णय स्वेच्छाचारी र कानुनी आधारविहीन रहेको उल्लेख गर्दै उनले अदालतले उक्त निर्णय सच्याउनुपर्ने जिकिर गरे ।

कार्कीका पक्षका कानुन व्यवसायीहरूले बहसका क्रममा प्रहरी महानिरीक्षकको निश्चित पदावधि, प्रहरी ऐनको व्यवस्था, प्राकृतिक न्यायको सिद्धान्त र सर्वोच्च अदालतका यसअघिका नजिरलाई आधार बनाउँदै सरकारको निर्णय बदर गर्न माग गरेका छन् ।

अब सर्वोच्च अदालतले सरकारको निर्णयको कानुनी वैधता र कार्कीलाई अन्तरिम राहत दिने वा नदिने विषयमा गर्ने आदेशलाई चासोका साथ हेरिएको छ ।

Facebook Comments Box
सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षपछि मात्रै वकालत गर्न पाइने, ‘कुलिङ अफ पिरियड’ लागू
१६ घण्टा अगाडि

1.7kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारी सेवाबाट अवकाश पाएका कर्मचारी तथा पदाधिकारीले अब अवकाशलगत्तै…

TOP
15 Shares