सामूहिक एकता र बोहरा दम्पतीको जग्गादानबाट माखबुँमा निर्माण भयो भव्य श्री विष्णुनारायण मन्दिर

चेतनारायण बेल्बासे ललितपुर । गोदावरी नगरपालिका–१४, ठैबस्थित माखबुँमा स्थानीयवासीको सामूहिक प्रयास, धार्मिक आस्था र सामाजिक एकताको अनुपम उदाहरण प्रस्तुत गर्दै भव्य श्री विष्णुनारायण मन्दिर निर्माण सम्पन्न भएको छ।

मन्दिर निर्माणका लागि आफ्नो अमूल्य जग्गा दान गर्नुहुने आदरणीय रामेश्वर बोहरा तथा उहाँकी धर्मपत्नी अम्बिका बोहरालाई एक विशेष समारोहबीच हार्दिक धन्यवादसहित उच्च सम्मान गरिएको छ। भूमिदानजस्तो पुण्य कार्यमार्फत धार्मिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको भन्दै बोहरा दम्पतीको योगदानको प्रशंसा गरिएको थियो।

मन्दिर निर्माणमा स्थानीय टोलवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार आर्थिक सहयोग जुटाउँदै हातेमालो गरेर मन्दिर निर्माण कार्य सम्पन्न गरेका हुन्। यसले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, आपसी सहयोग र सामूहिक एकताको उत्कृष्ट सन्देश दिएको छ।

श्री विष्णुनारायण मन्दिर निर्माण समितिका संयोजक रामचन्द्र बेलबासेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी नगर उपप्रमुख मुना अधिकारी तथा गोदावरी नगरपालिका–१४ का वडा अध्यक्ष निरोज बज्राचार्य विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन मिना पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा स्थानीय १० जनाभन्दा बढी ज्येष्ठ नागरिक आमाबुबाहरूलाई विशेष सम्मानसहित अतिथिका रूपमा आसन ग्रहण गराइएको थियो। ज्येष्ठ नागरिकप्रति सम्मान र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस कार्यलाई कार्यक्रमको विशेष आकर्षणका रूपमा लिइएको थियो।

मन्दिर निर्माणमा आर्थिक तथा अन्य विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगदाताको योगदानलाई समितिले अमूल्य र स्मरणीय रहेको जनाएको छ। समितिका अनुसार बजेट व्यवस्थापनको सीमितताका कारण हाललाई पाँच हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, जनप्रतिनिधि, ज्येष्ठ नागरिक, समाजसेवी, सहयोगी दाता तथा सम्पूर्ण श्रद्धालु भक्तजनप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।

माखबुँवासीको सामूहिक प्रयासबाट निर्माण सम्पन्न भएको श्री विष्णुनारायण मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई सामाजिक एकता, आपसी सद्भाव र भावी पुस्ताका लागि धर्म तथा संस्कृतिको संरक्षण गर्ने महत्वपूर्ण धरोहरका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

अन्त्यमा, मन्दिर निर्माण तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण टोलवासी, सहयोगदाता र शुभेच्छुकप्रति आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

श्री विष्णुनारायण भगवान्को कृपा सम्पूर्ण भक्तजनमा रहिरहोस्।

Facebook Comments Box
आज मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
५ घण्टा अगाडि

1.7kViews 15 Shares Share on Facebook Share on Twitter मेष प्रतिष्ठित कार्य प्रारम्भ गर्ने मौका मिल्नेछ। कार्यक्षेत्रमा आत्मबल र धैर्य…

TOP
15 Shares