नेपाल प्रहरीमा एआईजीका ६ पद रिक्त हुँदै, १५ डीआईजीबीच प्रतिस्पर्धा चर्कियो

वरिष्ठता, कार्यसम्पादन र व्यावसायिक क्षमताको परीक्षा; आफ्नाभन्दा योग्यलाई प्राथमिकता दिने आईजीपी केसीको तयारी

काठमाडौं । नेपाल प्रहरीमा उच्च नेतृत्व तहमा ठूलो फेरबदल हुने भएको छ। ३० वर्षे सेवा अवधिका कारण एकैपटक पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) अवकाशमा जाने भएपछि संगठनमा एआईजीका ६ पद रिक्त हुने भएका छन्। रिक्त पदमा बढुवाका लागि १५ जना डीआईजीबीच प्रतिस्पर्धा हुने देखिएपछि प्रहरी संगठनभित्र भावी नेतृत्वको समीकरणसमेत चर्चामा आएको छ।

एआईजीहरू सिद्धिबिक्रम शाह, हिमालय श्रेष्ठ, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी र डम्बर विकले आगामी पुस ५ गतेदेखि अवकाश पाउँदैछन्। त्यसैगरी डीआईजीहरू विनोद घिमिरे, ओम राना, माधव श्रेष्ठ, दिलीपसिंह देउवा र सुरेन्द्र गुरुङ पनि ३० वर्षे सेवा अवधिका कारण घर जान लागेका हुन्। उनीहरूमध्ये घिमिरेले मंसिर १६ गते र अन्य चार जनाले पुस ५ गतेदेखि अवकाश पाउनेछन्।

यसअघि एआईजी मनोजकुमार केसी प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएपछि एउटा एआईजी पद रिक्त भइसकेको छ। अब पाँच एआईजीको अवकाशसँगै एआईजीका कुल ६ पद रिक्त हुनेछन्।

जनपद प्रहरीतर्फ डीआईजीका २० दरबन्दी रहेकामा पाँच जना अवकाशमा गएपछि बाँकी १५ जना अधिकृतबीच एआईजी बढुवाका लागि प्रतिस्पर्धा हुनेछ। यसपटकको बढुवा सामान्य पदपूर्तिमा मात्र सीमित हुने छैन। बढुवा हुने अधिकृतहरूले तत्कालीन प्रहरी नेतृत्वको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुका साथै आगामी आईजीपीको दौडमा समेत प्रभाव पार्ने भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ।

प्रहरी संगठनमा लामो समयदेखि काम गरेका अनुभवी अधिकृत, राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका अधिकारी तथा पछिल्लो पुस्ताका नेतृत्वदायी अधिकृतबीचको प्रतिस्पर्धाले यसपटकको बढुवालाई थप रोचक बनाएको छ। वरिष्ठता, कार्यसम्पादन, व्यावसायिक दक्षता, नेतृत्व क्षमता र संगठनमा पुर्‍याएको योगदान बढुवाका निर्णायक आधार बन्ने अपेक्षा गरिएको छ।

को–को छन् एआईजीका मुख्य दाबेदार ?

एआईजी बढुवाको प्रतिस्पर्धामा दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्ट, अरुण पौडेल, दीपेन्द्र जिसी, दीपक रेग्मी  गोविन्द थपलिया र मुख्य दाबेदारका रूपमा देखिएका छन्। उनीहरूसँगै दीपक बस्नेत, जयराज सापकोटा, सुदर्शन कोइराला, भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले र विश्व अधिकारी पनि प्रतिस्पर्धामा छन्।

यी १५ जना अधिकृतको कार्यअनुभव, जिम्मेवारी र व्यावसायिक पृष्ठभूमि फरक–फरक छ। कसैले प्रदेश प्रहरीको नेतृत्व सम्हालेका छन् भने कसैले अपराध अनुसन्धान, प्रशासन, योजना, प्रशिक्षण तथा केन्द्रीय निकायमा काम गरेका छन्। केही अधिकृत राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका हुन्।

१. राजेन्द्रप्रसाद भट्ट

राजेन्द्रप्रसाद भट्ट अनुसन्धान, योजना र व्यवस्थापनको अनुभव भएका अधिकृत हुन्। उनले विभिन्न जिल्ला तथा प्रहरी इकाइमा काम गर्नुका साथै प्रहरी प्रशिक्षण र केन्द्रीय व्यवस्थापनमा समेत जिम्मेवारी सम्हालेका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र दक्षिण सुडानमा काम गरेको अनुभव पनि उनीसँग छ।

अपराध अनुसन्धान, मानवअधिकार र सुरक्षा व्यवस्थापनसम्बन्धी विभिन्न तालिम लिएका भट्ट हाल प्रहरी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयको नेतृत्वमा छन्। डीआईजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरेका थिए।

२. दिनेश आचार्य

दिनेश आचार्य नेपाल प्रहरीमा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अनुभवी अधिकृत हुन्। डीआईजीका रूपमा उनले लागूऔषध नियन्त्रण ब्युरो, नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। हाल उनी प्रहरी एकेडेमीमा कार्यरत छन्।

संगठनको प्रशासनिक संरचनादेखि फिल्ड कमान्ड र केन्द्रीय तहसम्म काम गरेको अनुभव उनको व्यावसायिक यात्राको महत्वपूर्ण पक्ष हो।

३. अरुण पौडेल

अरुण पौडेलले प्रहरी संगठनभित्र प्रदेश नेतृत्वदेखि केन्द्रीय तहसम्मका जिम्मेवारी सम्हालेका छन्। बागमती प्रदेश प्रहरी प्रमुखका रूपमा काम गरेका उनी प्रहरी प्रधान कार्यालयको कार्य विभागअन्तर्गत विभिन्न जिम्मेवारीमा समेत पुगेका छन्।

प्रहरी परिचालन, शान्तिसुरक्षा व्यवस्थापन र संगठन सञ्चालनमा अनुभव हासिल गरेका पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन्।

४. गोविन्द थपलिया

गोविन्द थपलिया प्रहरी संगठनको प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारीमा अनुभव भएका अधिकृत हुन्। हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उनले डीआईजी हुँदा मधेस प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका थिए।

प्रहरी कर्मचारीको वृत्ति विकास, जनशक्ति व्यवस्थापन र संगठनात्मक संरचनासँग सम्बन्धित काममा उनको अनुभव छ। केन्द्रीय तहको प्रशासनिक जिम्मेवारीमा काम गरेको पृष्ठभूमि पनि उनका लागि महत्वपूर्ण मानिन्छ।

५. सुदर्शन कोइराला

नेपाल प्रहरीमा असाध्यै सोझा र कर्तव्यनिष्ठ अधिकृत हुन् सुदर्शन कोईराला । उनी एसएसपीबाट डीआईजीमा बढुवा भएका अधिकृतमध्ये एक हुन्। डीआईजीका रूपमा उनले विशेष ब्युरोको जिम्मेवारी सम्हालेका थिए।

अनुसन्धान, सूचना संकलन र सुरक्षा विश्लेषणसँग सम्बन्धित निकायमा काम गरेको पृष्ठभूमिका कारण सुरक्षा सूचना तथा अनुसन्धानको क्षेत्रमा उनको अनुभव महत्वपूर्ण मानिन्छ।

६. दीपेन्द्र जिसी

दीपेन्द्र जिसी प्रहरी प्रशिक्षण र प्रदेश नेतृत्वको अनुभव भएका अधिकृत हुन्। उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काम गरेका छन्। प्रहरी अधिकृत तथा कर्मचारीको व्यावसायिक क्षमता विकाससँग सम्बन्धित प्रशिक्षणको अनुभव उनीसँग छ।

हाल गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा रहेका जिसीसँग तालिम तथा फिल्ड कमान्ड दुवै क्षेत्रको अनुभव छ।

७. दीपक रेग्मी

दीपक रेग्मीले प्रहरी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा काम गरेका छन्। केन्द्रीय तहको योजना निर्माण र व्यवस्थापकीय जिम्मेवारीमा अनुभव हासिल गरेका उनी हाल बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्।

प्रदेशको शान्तिसुरक्षा, प्रहरी परिचालन र मातहतका कार्यालयको व्यवस्थापनमा काम गरेको अनुभव उनको बढुवा प्रतिस्पर्धाको आधार बन्न सक्छ।

८. दीपक बस्नेत

दीपक बस्नेत राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका अधिकृत हुन्। उनले प्रदेश समन्वय विभागमा डीआईजीको जिम्मेवारी सम्हालेका थिए।

प्रदेश प्रहरी कार्यालय र केन्द्रीय प्रहरी प्रधान कार्यालयबीच समन्वय, संगठनात्मक परिचालन तथा व्यवस्थापनसँग सम्बन्धित काम उनको जिम्मेवारीका महत्वपूर्ण क्षेत्र हुन्। अनुसन्धान पृष्ठभूमिबाट प्रहरी संगठनको उच्च तहसम्म पुगेका बस्नेत पनि एआईजीका दाबेदार हुन्।

९. जयराम सापकोटा

जयराम सापकोटा पनि राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका अधिकृत हुन्। उनले प्रहरी प्रधान कार्यालयको कार्य निर्देशनालयमा काम गर्नुका साथै हाल कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।

भौगोलिक रूपमा चुनौतीपूर्ण कर्णाली प्रदेशको सुरक्षा व्यवस्थापन, मातहतका प्रहरी इकाइको परिचालन र समन्वयमा काम गरेको अनुभव उनको व्यावसायिक पृष्ठभूमिको महत्वपूर्ण पक्ष हो।

१०. भूपेन्द्र खत्री

भूपेन्द्र खत्री संगठनभित्र अपराध अनुसन्धान र फिल्ड कमान्डको अनुभव भएका अधिकृत हुन्। उनले काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। तत्कालीन सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गर्ने प्रहरी कारबाहीमा उनको भूमिका चर्चामा आएको थियो।

पछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र हाल लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका खत्रीसँग अपराध अनुसन्धान तथा कमान्डको अनुभव छ।

११. सानुराम भट्टराई

सानुराम भट्टराई अपराध अनुसन्धानको क्षेत्रमा अनुभव भएका अधिकृत हुन्। उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वसमेत सम्हालेका थिए। उपत्यकामा हुने संगठित अपराध, आर्थिक अपराध तथा विभिन्न आपराधिक गतिविधिको अनुसन्धान र नियन्त्रणमा उनको अनुभव रहेको छ।

हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेका भट्टराईसँग अपराध अनुसन्धान र प्रदेश कमान्ड दुवै क्षेत्रको अनुभव छ।

१२. ओम अधिकारी

ओम अधिकारी प्रहरी संगठनको उच्च तहमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अधिकृत हुन्। उनले प्रहरी महानिरीक्षकको सचिवालयमा काम गरेको अनुभव छ। हाल उनी मधेस प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन्।

केही समय काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारीसमेत सम्हालेका अधिकारीसँग केन्द्रीय प्रशासनिक संयन्त्र र उपत्यकाको सुरक्षा व्यवस्थापन दुवै क्षेत्रको अनुभव छ।

१३. शेखर खनाल

शेखर खनालले प्रहरी संगठनमा जिल्ला कमान्ड र केन्द्रीय निकायमा काम गरेको अनुभव हासिल गरेका छन्। उनले ललितपुर प्रहरी परिसरको नेतृत्व सम्हालेका थिए। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरी नायव महानिरीक्षकको जिम्मेवारीमा पुगे।

हाल कोशी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा रहेका खनालसँग जिल्लाको सुरक्षा व्यवस्थापनदेखि भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा सहयोग गर्ने निकायसम्मको अनुभव छ।

१४. अविनारायण काफ्ले

अविनारायण काफ्ले २०५६ सालमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका अधिकृत हुन्। उनी एसएसपीबाट डीआईजीमा बढुवा भएका अधिकृतमध्ये एक हुन्। बढुवापछि प्रहरी महानिरीक्षकको सचिवालयमा जिम्मेवारी पाएका काफ्लेको अनुभव संगठनको केन्द्रीय प्रशासनिक तथा समन्वयात्मक कामसँग जोडिएको छ।

लामो सेवा अनुभव र केन्द्रीय तहमा काम गरेको पृष्ठभूमि उनका लागि महत्वपूर्ण पक्ष हो।

१५. विश्व अधिकारी

विश्व अधिकारीको बढुवा यात्रा अन्य अधिकृतको भन्दा फरक रह्यो। २०८० वैशाख २४ गते एसएसपीमा बढुवा हुँदा उनी पहिलो नम्बरमा थिए। तर जेनजी आन्दोलनका बेला काठमाडौं प्रहरी परिसर प्रमुख रहेका कारण आन्दोलनपछिको राजनीतिक परिस्थितिमा उनी डीआईजी बढुवाको पहिलो सूचीबाट बाहिरिए।

२०८२ कात्तिकमा पाँच जनालाई डीआईजीमा बढुवा सिफारिस गर्दा पहिलो वरियताका अधिकारीलाई छुटाइएको थियो। त्यसबेला आन्दोलनसम्बन्धी घटनाको छानबिन भइरहेको विषयलाई कारणका रूपमा प्रस्तुत गरिएको थियो।

वरियतामा अगाडि हुँदाहुँदै बढुवाबाट छुटाइनुलाई उनका पक्षधरले तत्कालीन सरकारबाट भएको अन्यायका रूपमा व्याख्या गरेका थिए। पछि मंसिर १ गते उनलाई डीआईजीमा बढुवा सिफारिस गरिएको थियो। पहिलो वरियतामा रहेर पनि ढिलो बढुवा पाएको उनको प्रसंग यसपटकको प्रतिस्पर्धामा समेत चर्चामा रहने देखिन्छ।

ब्याचको समीकरणले पनि बढुवा प्रभावित पार्ने

एआईजी बढुवामा वरिष्ठ ब्याचका अधिकृतलाई मात्र अवसर दिने कि आगामी प्रहरी नेतृत्वका लागि महत्वपूर्ण मानिएको ११२ समूहका अधिकृतलाई समेत समेट्ने भन्ने विषयले पनि चर्चा पाएको छ।

शेखर खनाल, भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, अविनारायण काफ्ले र विश्व अधिकारीलगायतका अधिकृतलाई आगामी प्रहरी नेतृत्वका दाबेदारका रूपमा हेरिएको छ। त्यसैले यसपटकको बढुवाले तत्कालीन रिक्त पद पूर्ति गर्ने मात्र नभई आगामी प्रहरी नेतृत्वको समीकरणसमेत निर्धारण गर्नेछ।

सिनियर ब्याचका अनुभवी अधिकृतलाई प्राथमिकतामा राख्दै अर्को ब्याचबाट समेत योग्य अधिकृतलाई अवसर दिने विषयमा छलफल भइरहेको गृह मन्त्रालय स्रोतको दाबी छ। यसले संगठनमा नेतृत्वको निरन्तरता र भावी नेतृत्व विकासलाई सँगसँगै अघि बढाउने अपेक्षा गरिएको छ।

आफ्नाभन्दा योग्यलाई प्राथमिकता दिने आईजीपी केसीको तयारी

१५ जना डीआईजीमध्येबाट ६ जनालाई एआईजीमा बढुवा गर्नु आईजीपी मनोजकुमार केसीका लागि महत्वपूर्ण परीक्षा हुनेछ। यो निर्णयले उनको नेतृत्वशैली, संगठनप्रतिको दृष्टिकोण र बढुवा प्रक्रियामा अपनाइने निष्पक्षताको मापदण्डसमेत स्पष्ट पार्नेछ।

आईजीपी केसीले यसपटक व्यक्तिगत निकटता र गुटगत सम्बन्धभन्दा योग्यता, वरिष्ठता, कार्यसम्पादन तथा संगठनमा पुर्‍याएको योगदानलाई प्राथमिकता दिने तयारी गरेको स्रोतको दाबी छ। आफ्ना निकट मानिएका अधिकृतलाई मात्रै अघि बढाउनेभन्दा प्रतिस्पर्धामा रहेका सबैमध्ये योग्य र सक्षम अधिकृतलाई छनोट गर्ने उनको तयारी रहेको बताइन्छ।

बढुवा प्रक्रियामा गृह मन्त्रालयको अनावश्यक हस्तक्षेप हुन नदिई प्रहरी नेतृत्वको मूल्यांकनलाई आधार बनाउने अपेक्षा गरिएको छ। प्रहरी संगठनमा पहुँच, राजनीतिक निकटता र गुटगत प्रभावका आधारमा बढुवा हुने गरेको गुनासो विगतमा पटक–पटक उठ्दै आएको छ। यस्तो अवस्थामा योग्यता र कार्यसम्पादनलाई प्राथमिकता दिने निर्णयले प्रहरी संगठनमा सकारात्मक सन्देश दिन सक्छ।

प्रहरी संगठनको उच्च नेतृत्वमा पुग्ने अधिकृतले केवल वरिष्ठता मात्र होइन, कठिन परिस्थितिमा निर्णय लिन सक्ने क्षमता, व्यावसायिक इमानदारी, निष्पक्षता र संगठनलाई एकताबद्ध बनाएर अघि बढाउने सामर्थ्यसमेत प्रदर्शन गर्नुपर्ने हुन्छ।

त्यसैले यसपटकको एआईजी बढुवा आईजीपी केसीका लागि आफ्ना निकटलाई अवसर दिने कि संगठनका लागि योग्य र सक्षम अधिकृत छनोट गर्ने भन्ने प्रश्नको जवाफ दिने अवसर पनि हो। उनले निष्पक्ष र पारदर्शी निर्णय गर्न सके प्रहरी संगठनभित्र योग्यताको सम्मान बढ्नेछ। अन्यथा बढुवालाई लिएर पुनः गुटगत प्रभाव र पहुँचको बहस चर्किने निश्चित छ।

अब सबैको नजर प्रहरी प्रधान कार्यालयको सिफारिस र गृह मन्त्रालयको निर्णयमा केन्द्रित भएको छ। १५ प्रतिस्पर्धीमध्ये ६ जनाले बाजी मार्दा नेपाल प्रहरीको आगामी नेतृत्वको दिशा र समीकरणसमेत तय हुनेछ।

Facebook Comments Box
‘दानलाई हटाएर मनोज बनाउँदैमा प्रहरी आफ्नो हुँदैन, नेपाल प्रहरीलाई राजनीतिक भर्तीकेन्द्र नबनाऊ सरकार!’
२४ घण्टा अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं ।नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको…

TOP
30 Shares