कार्कीको रिट सुनुवाइ छल्न खोजिएको आशंका, प्रहरी प्रधान कार्यालयबाटै म्याद बुझ्न अस्वीकार; सर्वोच्चले प्रहरीकै प्रतिनिधिमार्फत म्याद तामेल गराउन आदेश दिएपछि सरकार र प्रहरी नेतृत्वमाथि गम्भीर प्रश्न

सर्वोच्चको म्यादसमेत नबुझ्ने आईजीपी केसी, कानुनी शासनमाथि नै चुनौती !

कार्कीको रिट सुनुवाइ छल्न खोजिएको आशंका, प्रहरी प्रधान कार्यालयबाटै म्याद बुझ्न अस्वीकार; सर्वोच्चले प्रहरीकै प्रतिनिधिमार्फत म्याद तामेल गराउन आदेश दिएपछि सरकार र प्रहरी नेतृत्वमाथि गम्भीर प्रश्न

काठमाडौं । कानुन कार्यान्वयन गराउने जिम्मेवारी बोकेको नेपाल प्रहरीकै सर्वोच्च नेतृत्वले सर्वोच्च अदालतको म्याद बुझ्नसमेत आनाकानी गरेको घटनाले मुलुकको कानुनी शासन र संस्थागत मर्यादामाथि गम्भीर प्रश्न खडा गरेको छ । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सुनुवाइ हुनुअघि वर्तमान आईजीपी डा. मनोजकुमार केसीका नाममा जारी अदालतको म्याद तामेल हुन नसकेपछि सोमबारको पेसी नै सरेको छ ।

प्रहरी संगठनको नेतृत्व गर्ने व्यक्तिले नै सर्वोच्च अदालतको म्याद नबुझ्ने अवस्था आउनु सामान्य प्रशासनिक कमजोरी मात्रै हो कि न्यायिक प्रक्रियालाई प्रभावित पार्ने नियोजित प्रयास ? अहिले यो प्रश्न गम्भीर रूपमा उठेको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार ४ मंसिरमा आईजीपी केसीका नाममा म्याद बुझाउन प्रहरी प्रधान कार्यालय पुगेका अदालतका तामेलदारलाई कार्यालयले लामो समयसम्म पर्खाएको थियो । सम्बन्धित व्यक्ति बैठकमा रहेको भन्दै पर्खाइएको भए पनि कार्यालय समय सकिँदासम्म केसी उपस्थित भएनन् । अन्ततः प्रहरी प्रधान कार्यालयले समेत म्याद बुझ्न अस्वीकार गरेको भन्दै तामेलदारले अदालतमा प्रतिवेदन बुझाएका थिए ।

त्यसपछि अदालतबाट पुनः म्याद जारी गर्ने अवस्था सिर्जना भयो । रिटमाथि सोमबार सुनुवाइ हुने कार्यसूची रहे पनि म्याद तामेल नभएको विषय उठेपछि सुनुवाइ बुधबारका लागि सारियो । तर, सर्वोच्च अदालतले यसलाई सामान्य प्रक्रियागत विषयका रूपमा मात्रै लिएन । प्रहरी प्रधान कार्यालयकै प्रतिनिधिमार्फत म्याद बुझाउने व्यवस्था गर्न आदेश दिँदै अर्को पेसीको मिति पनि आफैं तोक्यो । यसले मुद्दालाई अनावश्यक रूपमा लम्ब्याउने प्रयास स्वीकार्य नहुने स्पष्ट सन्देश दिएको छ ।

सुनुवाइका क्रममा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ता करुणाकर मल्लिकले प्राविधिक कारणले म्याद बुझ्न नसकिएको भन्दै पुनः म्याद जारी भएमा नफर्किने गरी बुझ्ने प्रतिबद्धता जनाएका थिए । तर, अदालतको म्याद बुझ्न नसकिएको कारण प्राविधिक थियो भने त्यसको जिम्मेवारी कसले लिने ? राज्यको सुरक्षा निकायको सर्वोच्च पदमा बसेका व्यक्तिको कार्यालयमै सर्वोच्च अदालतको म्याद तामेल हुन नसक्नुले प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएको छ ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले सरकारबाटै अदालतको आदेश अवज्ञा भएको देखिएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने तर्क गरेका थिए । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले पनि म्याद नबुझ्ने कार्य गलत भएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयकै प्रतिनिधिमार्फत म्याद तामेल गराउन र मुद्दालाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।

अझ गम्भीर कुरा, यसअघि सर्वोच्च अदालतले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णयसहितका सम्बन्धित कागजात तथा प्रमाणित प्रतिलिपि पेस गर्न आदेश दिएको थियो । तर, सोमबारको पेसीमा सरकारका तर्फबाट उक्त सक्कल फाइलसमेत पेस भएन । त्यसपछि अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई नै सक्कल फाइल पेस गर्न आग्रह गरेको छ ।

यस घटनाले एउटा गम्भीर प्रश्न जन्माएको छ– अदालतले मागेको कागजात समयमै पेस नगर्ने, अदालतको म्याद बुझ्न आनाकानी गर्ने र सुनुवाइका क्रममा प्रक्रियागत अड्चन देखिने अवस्था किन सिर्जना भइरहेको छ ? न्यायिक प्रक्रियालाई सहज बनाउनुपर्ने राज्यका निकायहरूबाटै यस्तो व्यवहार देखिनु लोकतान्त्रिक शासन व्यवस्थाका लागि सुखद संकेत होइन ।

कानुनविद्हरूले यस घटनालाई प्रहरी नेतृत्वको सामान्य व्यस्ततासँग जोडेर मात्रै हेर्न नहुने तर्क गरेका छन् । राजनीतिक वृत्तमा प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको प्रभाव र संरक्षणमा आईजीपी केसीले अदालतको प्रक्रियालाई हल्का रूपमा लिएको हो कि भन्ने आशंकासमेत व्यक्त हुन थालेको छ । यद्यपि, यस विषयमा कुनै आधिकारिक प्रमाण वा अदालतबाट त्यस्तो निष्कर्ष सार्वजनिक भएको छैन । तर, अदालतको म्याद तामेलमा भएको अवरोध र सरकारी कागजात पेस हुन नसकेको घटनाको निष्पक्ष छानबिन तथा स्पष्ट जवाफ आवश्यक छ ।

नेपाल प्रहरी कुनै व्यक्ति, प्रधानमन्त्रीको सल्लाहकार वा राजनीतिक शक्तिको निजी संगठन होइन । प्रहरी महानिरीक्षकको पद पनि राजनीतिक पहुँचको आधारमा अदालतको आदेशभन्दा माथि रहने पद होइन । प्रहरी संगठनको पहिलो दायित्व संविधान, कानुन र न्यायिक संस्थाको सम्मान गर्नु हो । अरूलाई कानुन पालना गराउने निकायको नेतृत्वले नै अदालतको म्याद बुझ्न आनाकानी गर्छ भने त्यसले आम नागरिकलाई कस्तो सन्देश दिन्छ ?

दानबहादुर कार्कीलाई १८ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको थियो । उनको स्थानमा मनोजकुमार केसीलाई नयाँ आईजीपी बनाइएको थियो । कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

अब बुधबार हुने सुनुवाइमा अदालतले दुवै पक्षको बहस सुनेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ । त्यसका लागि सरकारले मन्त्रिपरिषद्को सक्कल निर्णय र सम्बन्धित कागजात पेस गर्नुपर्नेछ ।

यो मुद्दा दानबहादुर कार्की र मनोजकुमार केसीबीचको पदको लडाइँ मात्रै होइन । यो राज्यको निर्णय कानुनभन्दा माथि हुन्छ कि हुँदैन भन्ने संवैधानिक प्रश्नसँग जोडिएको विषय हो । सर्वोच्च अदालतको आदेश पालना गर्नु कुनै पदाधिकारीको व्यक्तिगत इच्छा वा सुविधाको विषय हुन सक्दैन ।

अदालतको म्याद बुझ्नसमेत आनाकानी गर्ने प्रवृत्तिले न्यायिक प्रक्रियामाथि अविश्वास बढाउँछ । त्यसैले सर्वोच्च अदालतले यस प्रकरणलाई गम्भीरतापूर्वक लिएर म्याद तामेलीमा अवरोध गर्ने र अदालतले मागेका कागजात पेस नगर्ने पक्षको जवाफदेहिता सुनिश्चित गर्न आवश्यक छ ।

कानुनको शासनमा प्रहरी महानिरीक्षक पनि कानुनकै अधीनमा हुन्छन् । अदालतको ढोका सबैका लागि समान हो । प्रधानमन्त्री, उनका सल्लाहकार वा प्रहरी प्रमुख कसैले पनि न्यायालयको प्रक्रियालाई आफ्नो अनुकूल चलाउन पाउने छुट छैन । कानुन कार्यान्वयन गराउने प्रहरी नेतृत्वले नै अदालतको म्यादबाट पन्छिन खोज्छ भने त्यसलाई सामान्य कमजोरी भनेर उन्मुक्ति दिन मिल्दैन ।

 

Facebook Comments Box
‘दानलाई हटाएर मनोज बनाउँदैमा प्रहरी आफ्नो हुँदैन, नेपाल प्रहरीलाई राजनीतिक भर्तीकेन्द्र नबनाऊ सरकार!’
२४ घण्टा अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं ।नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको…

TOP
15 Shares