‘दानलाई हटाएर मनोज बनाउँदैमा प्रहरी आफ्नो हुँदैन, नेपाल प्रहरीलाई राजनीतिक भर्तीकेन्द्र नबनाऊ सरकार!’

काठमाडौं ।नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयले प्रहरी संगठनको संस्थागत गरिमा, व्यावसायिक स्वतन्त्रता र मनोबलमाथि गम्भीर प्रश्न खडा गरेको छ। संविधान, ऐन, कानुन र प्रहरी नियमावलीको परिधिभित्र रहेर संगठन सञ्चालन गर्न खोज्दा कार्कीलाई नै पदबाट हटाइएको भन्दै सरकारको कदमप्रति असन्तुष्टि व्यक्त हुन थालेको छ।

कार्कीको नेतृत्वकालमा नेपाल प्रहरीले राजनीतिक तथा प्रशासनिक दबाबबीच पनि व्यावसायिक मर्यादा कायम राख्ने प्रयास गरेको र प्रहरी कारबाही संविधान तथा कानुनको दायराभित्र हुनुपर्ने अडान लिएको विषय अहिले चर्चामा छ। प्रहरीलाई सरकारको आदेश पालना गर्ने निकायका रूपमा मात्र नभई कानुन कार्यान्वयन गर्ने व्यावसायिक संगठनका रूपमा सञ्चालन गर्नुपर्ने उनको दृष्टिकोण सत्तापक्षका लागि असहज बनेको आरोपसमेत लाग्दै आएको छ।

कार्कीले आईजीपीका रूपमा काम गर्दा संगठनभित्र सुधारका विभिन्न प्रयास गरेका थिए। प्रहरी कर्मचारीलाई समान रूपमा रासन उपलब्ध गराउने पहल, राष्ट्रपति कार्यालयमा नामसारी भइसकेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीकै नाममा फिर्ता गराउने प्रयास, इन्टिग्रेटेड एन्टी साइबर स्क्याम सेन्टर स्थापना, ड्रोन युनिट गठन तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र एड्भान्स्ड एनालिटिक्स सेल स्थापना उनका कार्यकालका महत्त्वपूर्ण पहलका रूपमा हेरिएका छन्।

त्यसैगरी नेपाल प्रहरीको तीनवर्षे रणनीतिक कार्यक्रम ल्याउनेलगायत संगठनको आधुनिकीकरण र संस्थागत विकाससँग सम्बन्धित काम पनि अघि बढाइएको थियो। यी पहलले संगठनभित्र र बाहिर कार्कीको नेतृत्वबारे सकारात्मक धारणा निर्माण गरेको समर्थकहरूको दाबी छ।

तर, पछिल्लो समय प्रहरी संगठनलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्न खोजिएको र कानुनभन्दा माथि रहेर आदेश कार्यान्वयन गराउन दबाब दिने प्रवृत्तिविरुद्ध कार्कीले अडान लिएको भन्दै उनलाई विभिन्न ढंगले विवादित बनाउने प्रयास भएको आरोप छ।

पत्रकार पक्राउ प्रकरणले पनि यही विवादलाई थप चर्काएको छ। पत्रकारहरूको गिरफ्तारीका लागि नाम र संख्या नै तोकेर निर्देशन दिइएको विषय सार्वजनिक भएपछि त्यसमा कसको भूमिका थियो भन्ने प्रश्न उठेको थियो। प्रहरीमाथि पत्रकार पक्राउ गर्न दबाब दिनेहरू पछि आफ्नो संलग्नता नरहेको बताउन सक्रिय भएको र अन्ततः विवादको भार आईजीपीमाथि थोपर्ने प्रयास भएको टिप्पणी भइरहेको छ।

यसैबीच सरकारले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको थियो। सरकारका तर्फबाट यसलाई कारबाही नभई जिम्मेवारी परिवर्तनका रूपमा व्याख्या गरिए पनि कार्यकाल बाँकी रहँदै प्रहरी प्रमुख हटाइएको विषयले कानुनी र संस्थागत बहस जन्माएको छ।

कार्कीलाई हटाएर अर्का प्रहरी अधिकृत मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरिएपछि नेपाल प्रहरीभित्र नेतृत्व परिवर्तनको विषय थप संवेदनशील बनेको छ। संगठनमा व्यावसायिक क्षमता र लामो समयको सेवाबाट स्थापित अधिकृतहरूबीच नेतृत्वका लागि हुने प्रतिस्पर्धालाई राजनीतिक निर्णयले प्रभावित पार्दा प्रहरीको संस्थागत विश्वासमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

नयाँ आईजीपी बनेका मनोज केसीका लागि पनि यो नियुक्ति चुनौतीपूर्ण बनेको छ। पदसँगै प्राप्त हुने सम्मान र सलामीभन्दा संगठनको दीर्घकालीन विश्वास र व्यावसायिक प्रतिष्ठा महत्त्वपूर्ण हुने भएकाले सरकारको निर्णयसँग जोडिएको विवादको जवाफदेहिताबाट उनी पनि अलग रहन नसक्ने विश्लेषण हुन थालेको छ।

अहिले विवादको केन्द्रमा कार्कीको व्यक्तिगत पद मात्रै छैन, नेपाल प्रहरीमा नेतृत्व नियुक्ति र पदमुक्ति संविधान तथा कानुनअनुसार हुने कि राजनीतिक इच्छाअनुसार भन्ने प्रश्न छ। यही विषयमा कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्दै आफूलाई पदबाट हटाउने सरकारको निर्णय बदर गरी पुनर्बहालीको माग गरेका छन्।

यसअघि २०५३ सालमा तत्कालीन आईजीपी अच्युतकृष्ण खरेललाई पदबाट हटाएर अर्को अधिकृतलाई जिम्मेवारी दिने सरकारको निर्णय विवादमा परेको थियो। त्यसबेला सर्वोच्च अदालतले हस्तक्षेप गर्दै खरेललाई पुनर्बहाली गर्ने आदेश दिएको ऐतिहासिक नजिरलाई अहिलेको विवादसँग जोडेर हेरिएको छ।

त्यसैले अहिले सर्वोच्च अदालतको निर्णयलाई विशेष चासोका साथ हेरिएको छ। सरकारले एउटै संगठनमा कार्यरत प्रहरी महानिरीक्षकलाई पदबाट हटाएर अर्को व्यक्तिलाई नियुक्त गरेको निर्णयको वैधानिकता परीक्षण हुनु आवश्यक रहेको कानुनी बहससमेत चलिरहेको छ।

रिटमाथिको सुनुवाइ र अन्तरिम आदेशको मागसँगै न्यायिक प्रक्रियाको समयतालिकालाई लिएर पनि चासो व्यक्त भइरहेको छ। छठपछिको सोमबारसमेत सार्वजनिक बिदा दिइएको विषयलाई केहीले न्यायिक सुनुवाइ ढिल्याउने प्रयासका रूपमा टिप्पणी गरेका छन्। यद्यपि बिदा दिने निर्णयको उद्देश्य न्यायिक प्रक्रियामा अवरोध पुर्‍याउनु थियो भन्ने विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ।

‘Justice might be delayed, but it cannot be denied’ अर्थात् न्याय ढिलो हुन सक्छ, तर न्यायबाट वञ्चित गर्न सकिँदैन भन्ने मान्यतासहित अहिले कार्कीको पक्षले कानुनी लडाइँ अघि बढाइरहेको छ।

यो मुद्दाको परिणामले दानबहादुर कार्कीको व्यक्तिगत भविष्य मात्रै निर्धारण गर्ने छैन। यसले नेपाल प्रहरीको नेतृत्व नियुक्ति, प्रहरी महानिरीक्षकको कार्यकाल, संगठनको व्यावसायिक स्वतन्त्रता र सरकारको अधिकारको सीमासम्बन्धी महत्त्वपूर्ण प्रश्नको निरूपण गर्नेछ।

यदि कानुन र स्थापित न्यायिक नजिरविपरीत कार्यकारी निर्णयलाई मान्यता दिइयो भने त्यसले प्रहरी संगठनको संस्थागत स्थायित्व र मनोबलमा पार्न सक्ने प्रभावबारे गम्भीर बहस हुन सक्छ। अर्कोतर्फ, अदालतले सरकारको निर्णयलाई गैरकानुनी ठहर गरेमा प्रहरी नेतृत्व परिवर्तनमा कानुनी सीमाको महत्त्व पुनः स्थापित हुनेछ।

नेपाल प्रहरी कुनै व्यक्ति विशेषको संगठन होइन। न त यो कुनै सरकार, दल वा सत्तामा पुगेका व्यक्तिको निजी संयन्त्र हो। प्रहरी संगठनको पहिचान संविधान, कानुन, व्यावसायिकता र नागरिकप्रतिको जवाफदेहितामा आधारित हुनुपर्छ।

दान प्रहरी वा मनोज प्रहरी होइन, नेपाल प्रहरी नै चाहिन्छ भन्ने आवाज अहिलेको विवादको मूल सन्देश बनेको छ। प्रहरीलाई व्यक्तिविशेषको प्रभाव र राजनीतिक स्वार्थबाट मुक्त राख्नुपर्ने मागसँगै सरकारको निर्णयविरुद्धको कानुनी लडाइँले संस्थागत बहसको रूप लिएको छ।

अब प्रश्न सरकारतर्फ पनि तेर्सिएको छ— प्रहरी संगठनलाई कानुनअनुसार चलाउने कि सत्ताको इच्छाअनुसार परिचालन गर्ने? प्रहरी नेतृत्वको नियुक्ति र पदमुक्तिमा स्थापित कानुनी व्यवस्था पालना गर्ने कि राजनीतिक सुविधाअनुसार निर्णय लिने?

यी प्रश्नको जवाफ सर्वोच्च अदालतको फैसलाले मात्रै होइन, राज्य सञ्चालनमा रहेका निकायहरूको व्यवहारले पनि दिनेछ। अहिले सबैको ध्यान सर्वोच्च अदालततर्फ छ। अदालतको निर्णयले दानबहादुर कार्कीको मुद्दा मात्रै होइन, नेपाल प्रहरीको संस्थागत भविष्य र मुलुकमा विधिको शासनको अवस्थासमेत प्रभावित पार्नेछ।आज मंसिर ७ गते सोमबार सम्मानित अदालतबाट आउने आदेसले नै प्रहरी संगठनको साख र गरिमा जोगाउने छ।

Facebook Comments Box
प्रहरी वरिष्ठ हवल्दार कुटपिट प्रकरणमा पर्सा प्रहरीको छानबिन, असई भोला चौधरी जिल्ला तानिए
१ दिन अगाडि

1.5kViews 30 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीमा प्रहरी वरिष्ठ हवल्दारमाथि भएको कुटपिट…

TOP
15 Shares