
पर्सामा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकको समूहबाट लछारपछार गरि कुटपिट, ३२ हजार रुपैयाँ लिएर मोटरसाइकल छाडेको आरोप

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकहरूको समूहले कुटपिट तथा लछारपछार गरेको घटना सार्वजनिक भएको छ। प्रहरीमाथि हातपात गरी मोबाइलसमेत फुटाइदिएको घटनापछि नियन्त्रणमा लिइएका मोटरसाइकल छाड्न ३२ हजार रुपैयाँ असुलिएको आरोपसमेत लागेको छ।
प्रहरी चौकी टिहुकीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्र यादवमाथि शुक्रबार राति भारतीय नागरिकहरूको समूहले कुटपिट गरेको बताइएको छ। प्रहरी चौकी टिहुकीका असई भोला चौधरीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे टिहुकीस्थित गुडु नामक व्यक्तिको मदिरा पसलमा आएका चार जना भारतीय नागरिकले मदिरा सेवन गरेपछि आपसमा झैझगडा गरेका थिए। पसल सञ्चालक गुडुले प्रहरी चौकीमा खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुगेपछि उनीहरू मोटरसाइकल छाडेर फरार भएका थिए।
त्यसपछि राति करिब साढे ८ बजे मदिरा सेवन गरेर झगडा गरेका व्यक्तिहरू १४–१५ जनाको समूह बनाएर पुनः पसलमा आएर सञ्चालक गुडुसँग विवाद गर्न थालेपछि प्रहरी टोली फेरि घटनास्थल पुगेको असई चौधरीले बताए।
विवाद नियन्त्रणमा लिन प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा लाठीचार्ज गर्नुपरेको र त्यसक्रममा समूहका व्यक्तिहरूले प्रहरीको लाठी खोसेर प्रहरी वरिष्ठ हवल्दार यादवमाथि कुटपिट तथा लछारपछार गरेको चौधरीको भनाइ छ। उनीहरूको समूह ठूलो रहेको र घटनास्थलमा प्रहरीका दुई जना मात्रै पुगेकाले प्रहरीमाथि हातपात भएको उनले बताए।
असई चौधरीका अनुसार कुटपिटबाट हवल्दार यादवको हातमा चोट लागेको र उनको मोबाइलसमेत फुटेको छ। यद्यपि, हातमा बाहिरबाट देखिने गरी चोटपटक नरहेको उनले बताए। हवल्दारले लाठी प्रहार गरेपछि समूहका व्यक्तिहरूले लाठीसमेत खोसेर उनीमाथि आक्रमण गरेको चौधरीको भनाइ छ।
प्रहरीले घटनास्थलबाट चारवटा मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याएको थियो। नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये रातो–कालो अपाचे (BR22 BK6754), कालो बुलेट (BR01 HL4681), सेतो अपाचे (BR05 4782) र रातो होन्डा साइन एसपी (BR22 AW3620) रहेका छन्।
तर, प्रहरी नियन्त्रणमा रहेका मोटरसाइकल छाड्ने क्रममा २० हजार भारतीय रुपैयाँ अर्थात् करिब ३२ हजार नेपाली रुपैयाँ लिएको आरोप सार्वजनिक भएको छ। हवल्दारमाथि कुटपिट भएको, मोबाइल फुटेको तथा मुद्दा चलाएर मोटरसाइकल भन्सार पठाइदिने भन्दै डर देखाएर रकम असुली गरिएको आरोप लागेको हो। आरोपअनुसार तीनवटा मोटरसाइकल छाडिएको छ भने बुलेट मोटरसाइकलका धनी अझै सम्पर्कमा नआएको असई चौधरीले बताएका छन्।
यस विषयमा असई चौधरीसँग बुझ्दा उनले गाउँघरको अवस्थालाई ध्यानमा राखेर मोटरसाइकलका कागजात जाँच गरी छाडिएको दाबी गरे। आफूले कुनै रकम नलिएको बताउँदै उनले अरू कसैले आफ्नो नाममा रकम लिएको भए त्यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।
यता, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालले मोटरसाइकल नियन्त्रणमा लिइएको विषयमा जानकारी गराइएको भए पनि प्रहरी वरिष्ठ हवल्दारमाथि कुटपिट भएको र मोबाइल फुटाइएको विषयमा आफूलाई जानकारी नगराइएको बताए। उनले घटनाबारे बुझ्ने प्रतिक्रिया दिएका छन्।
एकातिर प्रहरी कर्मचारीमाथि ड्युटीकै क्रममा समूहगत आक्रमण भएको विषय छ भने अर्कोतिर नियन्त्रणमा लिइएका सवारीसाधन छाड्दा रकम असुलिएको गम्भीर आरोप सार्वजनिक भएको छ। घटनाको निष्पक्ष छानबिन गरी प्रहरीमाथि भएको आक्रमण र रकम असुलीको आरोपबारे सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित प्रहरी प्रशासनको ध्यान जान आवश्यक देखिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पर्सामा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकको समूहबाट लछारपछार गरि कुटपिट, ३२ हजार रुपैयाँ लिएर मोटरसाइकल छाडेको आरोप
-
आज मंसिर ५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
न्यायाधीशका पीएसओ वरिष्ठ प्रहरी हवल्दार ढकालले आफैँलाई गोली हानेर गरे आत्महत्या
-
दुईतिहाइको दम्भमा न्यायालयमाथि दबाब, के सरकार संविधानभन्दा माथि छ?
-
सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधानकार्यालयको अस्वीकार, आईजीपी सचिवालयले देखायो भाषागत त्रुटि
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
१ दिन अगाडि
1.8kViews 75 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको प्रहरी…





