
आईजीपीबाट हटाउने निर्णयको बचाउमा सरकारको विशेष कानुनी तयारी, कार्की पक्ष भन्छ– अच्युतकृष्ण खरेलको नजिर नै पर्याप्त छ
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्नुपर्ने मागसहित परेको रिटविरुद्ध सरकार आफ्नो निर्णयको प्रतिरक्षामा ठूलो कानुनी टोलीसहित सर्वोच्च अदालतमा उत्रिने तयारीमा जुटेको छ। कार्कीको रिटमा अन्तरिम आदेश जारी हुन नदिन महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलसहित आठ सरकारी वकिललाई बहसमा उतार्ने सरकारको तयारीले यो प्रकरणलाई थप पेचिलो बनाएको छ।
आज मंसिर ९ गते सर्वोच्च अदालतमा कार्कीको रिटमाथि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा सुनुवाइ हुँदैछ। सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. कडेल, चार जना नायब महान्यायाधिवक्तासहित आठ सरकारी वकिलले मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्ने तयारी गरेका छन्।
सरकारी पक्षको टोलीमा महान्यायाधिवक्ता कडेल, नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र ध्रुवकुमार चौहान, वरिष्ठ सहन्यायाधिवक्ता दिनेश घिमिरे, सोमाकान्त भण्डारी तथा उपन्यायाधिवक्ता दशरथ पंगेनी रहेका छन्।
सरकारी पक्षले संविधान, प्रहरीसम्बन्धी कानुन, सर्वोच्च अदालतका विगतका नजिर र प्रशासनिक अभ्यासलाई आधार बनाएर सरकारको निर्णय कानुनसम्मत रहेको दाबी प्रस्तुत गर्ने तयारी गरेको स्रोतको भनाइ छ।
तर, कार्की पक्षले भने सरकारको कानुनी तयारीलाई सर्वोच्चको पुरानो नजिरले नै चुनौती दिन सक्ने दाबी गरेको छ। कार्की पक्षका एक वरिष्ठ अधिवक्ताका अनुसार पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई पदबाट हटाइएको प्रकरणमा सर्वोच्च अदालतले स्थापित गरेको नजिर नै यस विवादमा पर्याप्त हुन सक्छ। सरकारका तर्फबाट जति नै ठूलो कानुनी टोली उपस्थित भए पनि स्थापित न्यायिक सिद्धान्तको परीक्षणबाट उम्कन नसकिने उनको तर्क छ।
आजको सुनुवाइमा सुरुमा कार्कीका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि सरकारी वकिलले सरकारका तर्फबाट प्रतिरक्षा गर्नेछन्। दुवै पक्षको बहसपछि सर्वोच्चले नवनियुक्त आईजीपी मनोजकुमार केसीलाई पदमा कायम राख्ने वा तत्कालका लागि रोक लगाउने भन्ने विषयमा अन्तरिम आदेशबारे निर्णय गर्नेछ।
यसअघि मंसिर ७ गते न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो। तर, सुनुवाइ प्रारम्भ भएलगत्तै सरकारी वकिलले नवनियुक्त आईजीपी केसीले सोही दिन अदालतको म्याद बुझेको जानकारी गराएपछि प्रक्रिया अघि बढेको थिएन।
कार्कीले आफूलाई सुनुवाइको अवसरसमेत नदिई कुनै स्पष्ट आधार र कारणबिना गैरकानुनी रूपमा आईजीपी पदबाट हटाइएको दाबी गर्दै रिट दायर गरेका हुन्। उनले मन्त्रिपरिषद्को निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षकमा बहाल गर्न माग गरेका छन्।
मन्त्रिपरिषद्ले गत कात्तिक १८ गते कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।
कार्कीको माग सरकारको निर्णय बदर र पुनर्बहालीमा सीमित छैन। उनको रिटमा उठाइएको मूल प्रश्न प्रहरी संगठनको नेतृत्व परिवर्तन गर्दा सरकारले अपनाउनुपर्ने कानुनी प्रक्रिया, निर्णयको आधार, पदाधिकारीलाई सुनुवाइको अवसर दिनुपर्ने दायित्व र कार्यकालसम्बन्धी कानुनी व्यवस्थासँग पनि जोडिएको छ।
सरकारले आफ्नो निर्णयलाई प्रशासनिक जिम्मेवारी परिवर्तनका रूपमा व्याख्या गर्दै आएको छ भने कार्की पक्षले त्यसलाई कानुनी प्रक्रिया पूरा नगरी गरिएको पदमुक्तिको निर्णय भन्दै चुनौती दिएको छ।
आठ सरकारी वकिलको बहस र कार्की पक्षले अघि सार्ने अच्युतकृष्ण खरेलसम्बन्धी नजिरबीच आज सर्वोच्च अदालतमा हुने सुनुवाइले प्रहरी नेतृत्व परिवर्तनको विवादमा महत्वपूर्ण कानुनी दिशा तय गर्ने अपेक्षा गरिएको छ। अन्तरिम आदेश जारी भएमा नयाँ आईजीपीको कार्यभार र सरकारको निर्णय कार्यान्वयनमा प्रत्यक्ष प्रभाव पर्न सक्छ। आदेश जारी नभएमा कार्कीको रिटको अन्तिम फैसला नआउँदासम्म केसीको नियुक्ति तत्कालका लागि कायम रहनेछ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
-
आज मंसिर ९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी कार्कीको रिटमा आज सर्वोच्चको सुनुवाइ, के आउला फैसला ? पुनर्बहालीको बाटो खुल्ला कि सरकारको निर्णयले पाउला निरन्तरता ?
-
सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षपछि मात्रै वकालत गर्न पाइने, ‘कुलिङ अफ पिरियड’ लागू
-
सामूहिक एकता र बोहरा दम्पतीको जग्गादानबाट माखबुँमा निर्माण भयो भव्य श्री विष्णुनारायण मन्दिर
बाँकेमा कुटपिट गर्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलायो ८ राउण्ड हवाई फायर, चार प्रहरी घाइते
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा स्थानीयमाथि कुटपिट…





