
वरियताक्रममा सोविता गौतमको छलाङ : सरकारको प्राथमिकता कि अनुसन्धानको सुई मोड्ने रणनीति?

सरकार सञ्चालनको जिम्मेवारी पाएका मन्त्रीहरूको वरियताक्रम सामान्य प्रशासनिक सूची मात्रै होइन, यसले सरकारभित्रको शक्ति सन्तुलन, राजनीतिक प्राथमिकता र प्रधानमन्त्रीको विश्वाससमेत प्रतिबिम्बित गर्छ। तर प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारमा गरिएको पछिल्लो वरियताक्रमको हेरफेरले अनेक प्रश्न जन्माएको छ। गृहमन्त्रीभन्दा तल रहेकी कानुनमन्त्री सोविता गौतमलाई एकाएक प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो वरियतामा पुर्याउनुको आधार के हो?
गृहमन्त्री सुदन गुरुङभन्दा समेत तल रहेकी गौतमलाई तेस्रो स्थानमा राखिएको छ। उनीभन्दा अगाडि मन्त्री बनेका परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई समेत पछि पारिएको छ। यो सामान्य प्रशासनिक निर्णय हो कि प्रधानमन्त्रीको विशेष राजनीतिक तथा रणनीतिक प्राथमिकताको संकेत? सरकारले यसको स्पष्ट जवाफ दिएको छैन। वरियताक्रम परिवर्तनको आधार र औचित्य सार्वजनिक गर्नु सरकारको जिम्मेवारी हो।
यस घटनालाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर पनि हेर्नुपर्ने आधार छन्। भ्रमण दलमा समेटिएका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको नाम अन्तिम समयमा काटिएको थियो। त्यसको कारण पनि सरकारले सार्वजनिक गरेन। तर श्रेष्ठका ससुरा तथा पूर्वश्रममन्त्री शरदसिंह भण्डारी मलेसियामा नेपाली कामदार पठाउने क्रममा बायोमेट्रिकका नाममा भएको भनिएको आर्थिक अनियमितताको अनुसन्धानसँग जोडिएपछि भ्रमणबाट नाम हटाइएको हुन सक्ने चर्चा भयो।
बायोमेट्रिक प्रकरण सामान्य आर्थिक अनियमितताको विषय होइन। नेपाली श्रमिकको बाध्यतालाई माध्यम बनाएर रकम असुलिएको भनिएको यस प्रकरणमा राज्यका उच्च तहमा पुगेका व्यक्तिहरूको भूमिकासमेत निष्पक्ष रूपमा छानबिन हुनुपर्छ। तत्कालीन श्रम प्रशासनका जिम्मेवार अधिकारी, सचिव तथा कर्मचारीमाथि अनुसन्धान र पक्राउ प्रक्रिया अघि बढे पनि राजनीतिक तथा संवैधानिक रूपमा प्रभावशाली व्यक्तिहरूको हकमा अनुसन्धानको अवस्था के छ भन्ने स्पष्ट छैन।
यस प्रकरणमा तत्कालीन श्रममन्त्रीसमेत रहेका वर्तमान सभामुखको भूमिकाबारे पनि प्रश्न उठिरहेको छ। पूर्वश्रममन्त्री भण्डारीको सन्दर्भमा पनि अनुसन्धानको अवस्था सार्वजनिक हुन सकेको छैन। केही व्यक्ति पक्राउ पर्ने तर राजनीतिक पहुँच भएका व्यक्तिहरूको हकमा अनुसन्धान सुस्त देखिने हो भने त्यसले राज्यको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ।
अझ चिन्ताको विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) माथि प्रधानमन्त्रीको सचिवालयको निर्देशन र राजनीतिक स्वार्थअनुसार अनुसन्धान अघि बढाइएको भन्ने आरोप लाग्नु हो। यो आरोप सत्य हो भने प्रहरी अनुसन्धानको स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप हो। सत्य होइन भने सरकारले तथ्यसहित खण्डन गर्नुपर्छ। अनुसन्धानको दिशा प्रमाण र कानुनले निर्धारण गर्नुपर्छ, राजनीतिक निर्देशनले होइन।
सीआईबी कुनै प्रधानमन्त्री वा राजनीतिक दलको निजी अनुसन्धान संयन्त्र होइन। अपराधमा संलग्न भएको प्रमाण भेटिए जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्छ। राजनीतिक निकटताका आधारमा कसैलाई संरक्षण र असहमतिका आधारमा कसैलाई प्रतिशोधको निशाना बनाउने छुट सरकारलाई छैन।
वर्तमान सरकार सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक हस्तक्षेपको अन्त्य गर्ने प्रतिबद्धतासहित आएको हो। त्यसैले उसले आफ्नो प्रतिबद्धता व्यवहारबाट प्रमाणित गर्नुपर्छ। कानुनमन्त्रीलाई तेस्रो वरियतामा राख्नुको आधार सार्वजनिक गर्ने, ऊर्जामन्त्रीको भारत भ्रमण रद्द हुनुको वास्तविक कारण स्पष्ट पार्ने र बायोमेट्रिक प्रकरणको अनुसन्धानको प्रगति जनतासमक्ष ल्याउने काम अब सरकारले गर्नुपर्छ।
राज्यमा कानुन सबैका लागि बराबर हुन्छ भन्ने मान्यता व्यवहारमा देखिनुपर्छ। प्रधानमन्त्रीका निकट हुन् वा विपक्षी, मन्त्री हुन् वा पूर्वमन्त्री, सभामुख हुन् वा पूर्वमुख्यसचिव—कसैले पनि कानुनभन्दा माथि हुने सुविधा पाउनु हुँदैन।
वरियताक्रममा कसलाई तेस्रो बनाइयो भन्नेभन्दा ठूलो प्रश्न राज्यको अनुसन्धान प्रणालीमा कसको प्रभाव चलिरहेको छ भन्ने हो। सरकारको प्राथमिकता अपराधको निष्पक्ष अनुसन्धान हो कि राजनीतिक समीकरण रक्षाको प्रयास? यसको जवाफ व्यवहारबाट दिनुपर्ने बेला आएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
वरियताक्रममा सोविता गौतमको छलाङ : सरकारको प्राथमिकता कि अनुसन्धानको सुई मोड्ने रणनीति?
-
आज मंसिर १० गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चमा कानुन व्यवसायीको बलियो बहस, सरकारको निर्णय बदर गर्न माग
-
एसपी बिदामा रहृको मौका छोपी,डिएसपीको मनोमानी जिप्रकाबाट बेपता तस्कर अझै फेला परेनन्
-
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
आज मंसिर ९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter मेष नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। आर्थिक कारोबारमा फाइदा हुनेछ। पढाइमा…





