डीडीसीले पहिलोपटक ६ सय किलो घ्यू दुबई निर्यात गर्दै

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले पहिलोपटक ६ सय किलो घ्यू दुबई निर्यात गर्ने भएको छ।

दुबईमा रहेका नेपाली उपभोक्तालाई लक्षित गर्दै परीक्षणका रूपमा घ्यू निर्यात गर्न लागिएको हो। यसका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको जनाएको छ।

डीडीसीका अनुसार पहिलो खेपको बजार प्रतिक्रिया अध्ययन गरेपछि आगामी दिनमा ठूलो परिमाणमा घ्यू निर्यात गर्ने योजना छ। सुरुआती चरणमा जहाजमार्फत घ्यू पठाइनेछ भने पछि भारत हुँदै कन्टेनरमार्फत निर्यात गर्ने तयारी गरिएको छ।

दुबईपछि मध्यपूर्वका अन्य मुलुकमा समेत घ्यू तथा डीडीसीका अन्य दुग्धजन्य उत्पादनको बजार विस्तार गर्ने योजना संस्थानले बनाएको छ।

यसअघि प्रधानमन्त्री बालेन शाहले डीडीसीको याक चिजलगायत स्वदेशी उत्पादनको सामाजिक सञ्जालमार्फत प्रवर्द्धन गरेपछि संस्थानका उत्पादनप्रति उपभोक्ताको चासो बढेको जनाइएको थियो।

Facebook Comments Box
TOP
Shares