

बाढी–पहिरोको कहर : देशभरका मुख्य राजमार्ग अवरुद्ध, कतै एकतर्फी त कतै राति यातायातमा रोक

काठमाडौँ । पछिल्लो केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले मुख्य राजमार्ग तथा सडक सञ्जाल प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्डमा यातायात प्रभावित भएको हो।
कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। केही स्थानमा वैकल्पिक मार्ग तथा एकतर्फी सडक सञ्चालन गरी यातायात व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
कोशीमा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्गको सहारा
कोशी प्रदेशको भोजपुरमा मध्यपहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ। उक्त सडकमा वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ।
यस्तै, इलामको मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, यात्रु तथा सवारी साधनका लागि वैकल्पिक मार्ग उपलब्ध रहेको जनाइएको छ।
बागमतीमा सबैभन्दा बढी सडक प्रभावित
अविरल वर्षाको सबैभन्दा बढी असर बागमती प्रदेशका सडक सञ्जालमा परेको छ। सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। दिउँसोको समयमा भने सडक तथा मौसमको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइएको छ।यस्तै, कान्ति लोकपथमा पनि बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत कोदारी र लिपिङ क्षेत्रमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक, नुवाकोटको मध्यपहाडी लोकमार्ग तथा टोखा–छहरे सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्।धादिङको दामन–पाख्रिन सडक खण्डसमेत पहिरोका कारण अवरुद्ध रहेको छ।
गण्डकीका सडकमा एकतर्फी यातायात
गण्डकी प्रदेशमा पनि पहिरोका कारण बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी–जोमसोम सडक तथा मनाङको चामे–बेसीसहर सडक खण्डमा यातायात प्रभावित भएको छ।
उक्त सडकहरूमा हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। बागलुङ क्षेत्रमा पूर्ण रूपमा दुईतर्फी यातायात सञ्चालन गर्न भने अझै केही समय लाग्ने देखिएको छ।
रोल्पा र रुकुम पश्चिममा सडक पूर्ण अवरुद्ध
लुम्बिनी प्रदेशको रोल्पामा पर्ने सहिदमार्गअन्तर्गत घोराही–थवाङ–रुकुम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा ठप्प भएको छ।यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढीका कारण जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।यसैबीच, पहिरोका कारण प्रभावित पाल्पाको सिद्धार्थ राजमार्गमा भने अवरोध हटाइएपछि यातायात पुनः सुचारु भएको छ।
लगातार वर्षासँगै बाढी र पहिरोको जोखिम अझै कायम रहेकाले प्रहरीले यात्रुलाई अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा यात्रा गर्नुपरे सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै गन्तव्यतर्फ जान आग्रह गरेको छ।
समाज
थप सामाग्री-
पेटी ठेक्काको आडमा ठगीको साम्राज्य : हर्क श्रेष्ठमाथि निष्पक्ष छानबिन अब अनिवार्य
-
आज भदौ ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
३ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४ सै घण्टा सुरक्षित,…





