छात्रावासमा छोराको हत्या भएको खबर सुनेको केही घण्टामै आमाको पनि मृत्यु

दाङ । काठमाडौंमा अध्ययनरत २२ वर्षीय छोराको हत्या भएको खबर सुनेको केही घण्टामै दाङमा उनकी आमाको समेत मृत्यु भएको छ। छोराको मृत्युको खबरले विक्षिप्त बनेकी घोराही उपमहानगरपालिका–१७ की ३८ वर्षीया बिना कालाथोकीको शनिबार दिउँसो घरमै मृत्यु भएको हो।

काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार कुटपिट तथा धारिलो हतियार प्रहारबाट घोराही–१७ का २२ वर्षीय वसन्त कालाथोकीको हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार शनिबार दिउँसो करिब ३ बजे वसन्तको हत्या भएको खबर पाएपछि घरमै रहेकी उनकी आमा बिनाको मृत्यु भएको हो। घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट चौघेराबाट प्रहरी सहायक हवल्दार अमर गैह्रेको कमान्डमा दुई जना र जिल्ला प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक एक्कबहादुर नेपालीको कमान्डमा पाँच जना प्रहरी घटनास्थल पुगेका थिए।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलको मुचुल्का तयार पारेपछि बिनाको शव पोस्टमार्टमका लागि शनिबार साँझ करिब ४ बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो। शव हाल प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

वसन्त परिवारका जेठा छोरा थिए। उनको मृत्युपछि ११ वर्षीय कान्छा छोरा शिशिरलाई हजुरबुबाले आफ्नो घरमा लगेर राखेका छन्।

रोजगारीका लागि फ्रान्स जाने तयारीमा रहेका वसन्त पछिल्लो पाँच–छ महिनादेखि काठमाडौंस्थित होस्टलमा बसेर भाषा अध्ययनलगायत आवश्यक तयारी गर्दै आएका थिए। अध्ययनका क्रममा उनी दाङस्थित घरमा पनि आउने–जाने गरेका थिए।

यसैबीच, वसन्तको हत्या आरोपमा प्रहरीले होस्टलमै बस्दै आएका बारा, कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार उनीहरूले वसन्तको टाउको, घाँटीसहित शरीरका विभिन्न भागमा कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एकातिर २२ वर्षीय छोराको हत्या र अर्कोतिर त्यसको खबर सुनेको केही घण्टामै आमाको मृत्यु भएपछि कालाथोकी परिवारमा एकैदिन अकल्पनीय बज्रपात परेको छ।

Facebook Comments Box
TOP
15 Shares