ओखलढुंगाका पेटी ठेकेदार हर्क श्रेष्ठको यस्तो छ ठगीको शृङ्खला

काठमाडौं । ओखलढुंगा जिल्ला स्थायी घर भएका हर्क श्रेष्ठले निर्माण व्यवसायीका नाममा ‘सिरियल ठगी’ धन्दा चलाउँदै आएको पाइएको छ। एकाघरका तीन भाइ मिलेर तीनवटा निर्माण कम्पनी खडा गर्दै श्रेष्ठले करोडौं रुपैयाँ ठगी गर्दै आएको पीडितहरूले जनरक्षालाई बताएका छन्।

बृटिस एन्ड अनुभवी कन्स्ट्रक्सन, अनुभवी कन्स्ट्रक्सन र जेके एकता कन्स्ट्रक्सन नामक कम्पनी खडा गर्दै करोडौं रुपैयाँ ठगी गर्दै आएको पीडितहरूको दाबी छ।

ठगी धन्दाका ‘सिरियल किङ’का रूपमा चिनिने हर्क श्रेष्ठ र उनका सहोदर दाजु जितबहादुर श्रेष्ठले ओखलढुंगाको एक पेट्रोल पम्पबाट तेलसमेत उधारो लिएर पैसा नतिरी उल्टै पेट्रोल पम्प सञ्चालकविरुद्ध अनुचित लेनदेन भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको पाइएको छ।

ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका–११ मा सञ्चालन हुँदै आएको वेन्जु आयल सप्लायर्सलाई करिब ७० लाख रुपैयाँ ठगेका श्रेष्ठले जिल्लाकै निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा सिद्धिचरण नगरपालिका–११ का वडा अध्यक्ष विनोदकुमार ताम्राकारको समेत करोडौं रुपैयाँ ठगेको स्वयं वडा अध्यक्ष ताम्राकारले जनरक्षालाई बताएका छन्।

वडा अध्यक्ष ताम्राकारका अनुसार निर्माण व्यवसायी कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनबाट पेटी ठेक्का लिँदै ‘धन भएको, बुद्धि नभएका’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै सोझा मानिसको खोजी गर्दै हिँड्ने हर्क श्रेष्ठले ओखलढुंगा जिल्लामा सयौं व्यक्तिलाई ठगी गर्दै हाल काठमाडौंको कलंकीमा व्यापार गर्दै आएका छन्।

ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका–११ मा सञ्चालन हुँदै आएको वेन्जु आयल सप्लायर्सका सञ्चालक विश्वेश्वर बराललाई निर्माण व्यवसायी श्रेष्ठले गाडीमा तेल हालेर तिर्नुपर्ने रकम नतिरी उल्टै अनुचित लेनदेन भन्दै काठमाडौं प्रहरीमा उजुरी दायर गरेपछि उनको ठगी धन्दाको भेद एकपछि अर्को गर्दै खुल्दै गएको हो।

श्रेष्ठको ठगी धन्दाको लहरोले ओखलढुंगाका कांग्रेस नेता रामहरि खतिवडादेखि उद्योग वाणिज्य महासंघ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठलाई समेत नछाडेको पीडितहरूको दाबी छ।

उद्योग वाणिज्य महासंघ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठका अनुसार एउटा ठूलो पेटी ठेक्कामा लगानी गर्नुपर्‍यो, ‘हजुर फाइदा बाँडौंला’ भन्दै श्रेष्ठले १० लाख रुपैयाँ सापटी लिएका थिए। त्यसबापत दिएको चेक नसाटिएको उनको भनाइ छ।

हाल उनीविरुद्ध इलाका प्रहरी कार्यालय धरानबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी हुने अवस्थामा रहेको बताइएको छ। यस विषयमा जनरक्षाका प्रधानसम्पादक रामशरण काफ्लेले इलाका प्रहरी कार्यालय धरानका राइथरका डीएसपीसँग सम्पर्क गर्दा श्रेष्ठको ठगी धन्दा र सो सम्बन्धमा सम्मानित अदालतबाट पक्राउ पुर्जी जारी भएको बताएका छन्।

यता, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारलाई बाँधेर पिट्दै काम लगाउने अभिव्यक्ति दिइरहँदा पेटी ठेकेदार हर्क श्रेष्ठले कान्छाराम तामाङको पेटी ठेकेदारका रूपमा काम गर्दै आएको र ओखलढुंगाको मिलनचोक–निसंखे साइड रोड निर्माण सम्पन्न नगरी लथालिङ्ग अवस्थामा छाडेर फरार रहेको स्रोतले बताएको छ।

यसैगरी, श्रेष्ठले काष्ठमण्डप कन्स्ट्रक्सनबाट पेटी ठेक्कामा काम लिएको ओखलढुंगाकै ठाडे–जन्तरखानी साइटसमेत अलपत्र छाडेर फरार भएको विश्वेश्वर बरालले बताएका छन्।

ठगी धन्दाको पाटो एकातिर छ भने हर्क श्रेष्ठले पेटी ठेक्काको नाममा लापरबाहीपूर्ण रूपमा गरेका कामका कारण केही वर्षअघि दुईजना बालकको ज्यान गएको र एकजना गम्भीर घाइते भएको दाबीसमेत गरिएको छ।

ओखलढुंगा जिल्ला मिलनचोक–निसंखे सडकमा लापरबाहीपूर्ण तरिकाले काम गर्दा पहिरो झरेर बोलेरो गाडीमा सवार दुई बालकको घटनास्थलमै मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएको बताइएको छ। यस्तो घटनामा समेत श्रेष्ठले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुको सट्टा उल्टै धम्काएको आरोप छ।

यसरी धम्की दिएपछि मृतक बालकका बुवाले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएपछि प्रहरीले श्रेष्ठलाई हिरासतमा लिएको थियो। हिरासतमा केही दिन राखेपछि मृतकका परिवारलाई क्षतिपूर्ति दिई उनी हिरासतमुक्त भएको बताइएको छ।

यसैगरी, श्रेष्ठकी श्रीमती गीतामाया श्रेष्ठविरुद्ध यादव पौडेलको जाहेरीका आधारमा नेपाल सरकार वादी र गीतामाया श्रेष्ठ प्रतिवादी रहेको मुद्दामा सम्मानित जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो। तर श्रेष्ठ सो पक्राउ पुर्जीविरुद्ध उच्च अदालत पाटन गएका थिए। उच्च अदालत पाटनले देवानी मुद्दाबाहेक फौजदारी मुद्दामा पक्राउ गरी आवश्यक अनुसन्धान गर्न मिल्ने स्पष्ट उल्लेख गरेको भए पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको नपाइएको बताइएको छ।

श्रेष्ठको ठगी धन्दाको लेखाजोखा नै नभएको पीडितहरूको दाबी छ। उनले पेटी ठेकेदारका नाममा ओखलढुंगा जिल्लामा रहेका मोटर पार्ट्सको बक्यौता नतिरेको, काम गर्ने कर्मचारी तथा श्रमजीवीहरूको पारिश्रमिक नदिएको, राशन पसलको भुक्तानी नदिएको, पेट्रोल पम्पको पैसा नतिरेको जस्ता थुप्रै गुनासाका पोका जनरक्षाको कार्यालयमा साक्षीका रूपमा आक्रोश पोख्दै न्यायको हात पसारेर बसेको भान हुन्छ।

यसरी हर्क श्रेष्ठले दिनदहाडै ठगी गर्दै काठमाडौं उपत्यकामा पाँचवटा भव्य आलिशान महल बनाउन सफल भएको दाबी गरिएको छ। उनका पेप्सीकोलामा दुईवटा, थानकोटमा एउटा, कोटेश्वरमा एउटा र काँडाघारीमा एउटा घर रहेको बताइएको छ।

यसरी ठगी धन्दाको साम्राज्य चलाएका पेटी ठेकेदार हर्क श्रेष्ठले कसरी ठगी गर्छन् त भन्ने कुरा पनि रोचक छ। सुरुमा उनले मानिसलाई कुन कुरा गर्दा पत्याउँछन् भन्ने उसको मनोविज्ञान बुझ्ने गरेको बताइन्छ। त्यसपछि आफू देशका लब्धप्रतिष्ठित व्यक्तिहरूसँग उठबस रहेको गाथा सुनाउँदै सम्बन्धित व्यक्तिलाई प्रभावमा पार्ने र पैसा सापटी लिने गरेको पीडितहरूको आरोप छ।

पैसा लिएपछि फिर्ता नगर्ने र उल्टै ‘मिटरब्याजी’ भन्दै उजुरीदेखि मिडिया ट्रायलसम्म गर्ने गरेको पीडितहरूको दाबी छ।

हाल उनीबाट ठगीमा परेका २० जना व्यक्ति जनरक्षाको सम्पर्कमा आएको बताइएको छ। जसमा आजको शृङ्खलामा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, उद्योग वाणिज्य महासंघ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठ, ओखलढुंगा निर्माण व्यवसायी संघका अध्यक्ष तथा सिद्धिचरण नगरपालिका–११ का वडा अध्यक्ष विनोदकुमार ताम्राकार र पेट्रोल पम्प सञ्चालक विश्वेश्वर बरालको कहानी समावेश गरिएको छ।यस समाचारको विषयमा हर्क श्रेष्ठलाई सम्पर्क गर्ने कोसिस गर्दा सम्पर्क हुन सकेन।

श्रेष्ठको ठगी धन्दाको शृङ्खला क्रमशः प्रकाशित गर्दै जानेछौं।

Facebook Comments Box
TOP
90 Shares