एसपी गोविन्द काफ्लेको स्पष्टीकरण : ‘यो मेरो व्यक्तिगत कारोबार होइन

काठमाडौं  । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले आफूलाई ‘मिटरब्याजी’सँग जोडेर सार्वजनिक भएका समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले विवादित आर्थिक कारोबार आफ्नो व्यक्तिगत नभई चिनजानका आफन्तसँग सम्बन्धित रहेको दाबी गर्दै आफूलाई प्रत्यक्ष रूपमा जोडेर समाचार सम्प्रेषण गर्नु उचित नभएको बताएका छन्।

काफ्लेका अनुसार उनले उक्त कारोबारमा कुनै रकम लगानी गरेका वा असुली गरेका छैनन्। आफूले सम्बन्धित पक्षलाई समयमै रकम भुक्तानी गर्न र समस्या भए कानुनी प्रक्रियामा जान सक्नेबारे सुझाव मात्र दिएको उनको भनाइ छ।

‘यो विषयमा मेरो चिनजानको आफन्तसँगको कारोबार हो। मैले रकम समयमै दिनुपर्छ, नभए मुद्दा दर्ता हुन्छ भनेको मात्रै हो। बाँकी मसँग सम्बन्धित विषय होइन। मेरो नाम जोडेर समाचार बनाउनुपर्ने विषय नै होइन,’ काफ्लेले भने।

उनले चिनजानका व्यक्तिको हकमा मात्र नभई आर्थिक विवाद वा लेनदेनसम्बन्धी समस्या लिएर आउने कुनै पनि सेवाग्राहीलाई कानुनी बाटो अपनाउन सुझाव दिने गरेको बताए।

‘चिनजानको मात्रै होइन, कोही पनि सेवाग्राही आएर यस्तो विषय राखेमा मैले भन्ने कुरा यही हो—समयमै रकम तिर्नुपर्छ, समस्या भए कानुनी प्रक्रियामा जानुपर्छ,’ उनले भने।

काफ्लेले आफू नेपाल प्रहरीको जिम्मेवार पदमा कार्यरत रहेकाले कसैको व्यक्तिगत आर्थिक कारोबारमा प्रत्यक्ष संलग्न रहेको अर्थ लाग्ने गरी समाचार सम्प्रेषण गर्नु गलत हुने बताए। विवादित कारोबारसँग आफ्नो प्रत्यक्ष आर्थिक सम्बन्ध नरहेको दाबी गर्दै उनले आफूलाई बदनाम गर्ने उद्देश्यले विषयलाई ‘मिडिया ट्रायल’का रूपमा प्रस्तुत गरिएको हुन सक्ने आशंका समेत व्यक्त गरे।

‘मलाई बदनाम गर्न र लिएको पैसा फिर्ता गर्न नपर्ला भन्ने सोचले निज व्यक्तिले मिडिया ट्रायल गरेको हुन सक्छ,’ काफ्लेले भने।

यसअघि निर्माण व्यवसायी हर्कबहादुर श्रेष्ठसँगको आर्थिक कारोबारलाई लिएर काफ्लेमाथि ‘मिटरब्याज’सम्बन्धी आरोप सार्वजनिक भएको थियो। श्रेष्ठले आफूलाई दबाबमा पारेर चेक काट्न लगाइएको आरोप लगाउँदै कानुनी प्रक्रिया अघि बढाएका छन्। उक्त विषयसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेको बताइएको छ।

तर, काफ्लेले श्रेष्ठसँग आफ्नो कुनै व्यक्तिगत आर्थिक लेनदेन नरहेको र विवादित कारोबारमा आफ्नो प्रत्यक्ष संलग्नता नभएको स्पष्ट पारेका छन्। उनका अनुसार आफूमाथि लगाइएको आरोप र वास्तविक आर्थिक कारोबारबीचको सम्बन्ध प्रमाण र कानुनी प्रक्रियाबाटै स्पष्ट हुनुपर्ने विषय हो।

कानुनी मान्यताअनुसार आरोप लाग्दैमा कुनै व्यक्तिलाई स्वतः दोषी ठहर गर्न मिल्दैन। विवादित कारोबारमा वास्तविक पक्ष को हो, रकम कसले दिएको वा लिएको हो तथा सम्बन्धित व्यक्तिको प्रत्यक्ष संलग्नता कति छ भन्ने विषय प्रमाण र न्यायिक प्रक्रियाका आधारमा टुंगिनुपर्ने हुन्छ।

अदालतमा विचाराधीन विषयमा अन्तिम निष्कर्ष न्यायिक प्रक्रियाबाट आउने भएकाले आधिकारिक अनुसन्धान वा अदालतको फैसलाअघि कुनै व्यक्तिलाई दोषीका रूपमा प्रस्तुत गर्नु उपयुक्त नहुने कानुनी सिद्धान्त रहेको छ।

काफ्लेले पनि यही आधारमा आफूविरुद्ध सार्वजनिक भएका आरोपको निष्पक्ष छानबिन हुनुपर्ने र प्रमाणका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्ने बताएका छन्। उनको दाबी छ—विवादित आर्थिक कारोबार आफ्नो व्यक्तिगत नभएको र आफूले कानुनी प्रक्रियाबारे सामान्य सुझाव मात्र दिएको विषयलाई आफ्नो प्रत्यक्ष संलग्नताका रूपमा व्याख्या गर्नु न्यायोचित हुँदैन।

Facebook Comments Box
TOP
30 Shares