आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौँ । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज देशभरका कृष्ण मन्दिरमा विशेष पूजा–आराधनासहित रथयात्रा तथा शोभायात्रा निकालिँदै छ।
पाप र अधर्मको संहार गरी सत्य, धर्म र सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले अवतार लिएको धार्मिक विश्वासका साथ भाद्र कृष्ण नवमीका दिन जन्माष्टमी मनाउने परम्परा छ। यस अवसरमा देशका विभिन्न स्थानमा कृष्णको झाँकीसहित रथयात्रा र शोभायात्रा निकाल्ने गरिन्छ।
काठमाडौँको उत्तरी भेग बूढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरबाट आज विशेष रथयात्रा निकाल्ने कार्यक्रम रहेको छ। यसैगरी काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले पनि श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेका छन्।
गोकर्णेश्वर नगरपालिका–८, बेँशीगाउँस्थित श्रीकृष्ण मन्दिर क्षेत्रबाट पनि आज रथयात्रा निकालिने भएको वडाध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिएका छन्। रथयात्रामा हजारौँ श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।
जन्माष्टमीका अवसरमा कृष्ण मन्दिरहरूमा भक्तजनको बिहानैदेखि भीड लाग्ने गरेको छ। श्रद्धालुहरूले व्रत बस्ने, कृष्णको पूजा–आराधना गर्ने, भजन–कीर्तन गर्ने तथा राति कृष्ण जन्मोत्सव मनाउने परम्परा छ।
पौराणिक ग्रन्थहरूमा बाल्यकालदेखि नै विभिन्न लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गरेको उल्लेख छ। महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई सत्य र धर्मको पक्षमा उभिन प्रेरित गर्दै श्रीकृष्णले धर्म स्थापनाका लागि युग–युगमा अवतार लिने सन्देश दिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
यसरी जन्माष्टमी केवल धार्मिक पर्व मात्र नभई सत्यको पक्षमा उभिने, अधर्मविरुद्ध संघर्ष गर्ने र धर्म तथा सदाचारको मार्गमा अघि बढ्ने प्रेरणाको दिनका रूपमा समेत मनाइँदै आएको छ।

Facebook Comments Box
TOP
15 Shares