भोटेकोशी बाढी र सडक अवरोधले ग्यास अभाव चर्कियो, केही दिनमै सहज हुने दाबी

काठमाण्डौ । काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव अझै कायमै छ। मध्यपूर्वमा तनाव बढेसँगै गएको फागुनदेखि देखिएको ग्यास अभाव भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि थप चर्किएको हो।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि ग्यास ढुवानी प्रभावित हुँदा उपत्यकाका उपभोक्ताले ग्यासका लागि थप सास्ती खेप्नुपरेको छ। अभाव बढेपछि नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल गरी अत्यावश्यक उपभोक्तालाई राहत पुग्ने गरी वैकल्पिक ढुवानी तथा वितरणको व्यवस्था मिलाउन थालिएको छ।

नेपाल आयल निगमले ग्यास उद्योगीलाई काठमाण्डौ उपत्यकाबाहिरै ‘बोटलिङ’ अर्थात् सिलिन्डरमा ग्यास भरेर उपत्यकामा ल्याउन अनुमति दिएको छ। नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यकाबाहिर रहेका उद्योगमा पर्याप्त खाली सिलिन्डर नहुँदा काठमाण्डौमा रहेका खाली सिलिन्डर ट्रकमार्फत सम्बन्धित उद्योगसम्म पुर्‍याएर ग्यास भर्ने काम भइरहेको छ।

हाल तराईका १५ वटा ग्यास उद्योगमा विभिन्न २६ ब्रान्डका सिलिन्डरमा ग्यास भर्न थालिएको छ। शुक्रबार मात्रै तराईका उद्योगबाट ३० हजार सिलिन्डर ग्यास काठमाण्डौ भित्रिएको जनाइएको छ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाण्डौ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्छ। तर लामो समयदेखि अभाव रहेकाले अहिले दैनिक खपत बढेर करिब एक लाख सिलिन्डरसम्म पुग्ने अवस्था रहेको उहाँको भनाइ छ।

उद्योग तथा ढुवानीको व्यवस्थालाई सङ्गठित रूपमा अघि बढाइएकाले केही दिनमै ग्यासको समस्या क्रमशः समाधान हुने अध्यक्ष चन्दले दाबी गर्नुभएको छ। उहाँले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै सिलिन्डर साट्न र अभावको समयमा अनावश्यक रूपमा ग्यास मौज्दात नराख्न आग्रह गर्नुभएको छ।

उहाँका अनुसार एउटा ग्यास बुलेटमा करिब ४५० सिलिन्डर बराबरको ग्यास आउँछ। ठूलो ट्रकले भरिएका करिब ५०० सिलिन्डर र खाली अवस्थामा करिब ६०० सिलिन्डरसम्म बोक्न सक्छ।

मध्यपूर्वको संकट, पृथ्वी राजमार्ग अवरुद्धलगायतका कारण देखाउँदै निजी क्षेत्रका ग्यास उद्योग तथा ढुवानी प्रभावित हुँदा यसको प्रत्यक्ष मार भने उपभोक्तामाथि परेको छ। लामो समयदेखि ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न सरकारले ढुवानी र वितरण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

Facebook Comments Box
TOP
45 Shares