

रसुवाको बाढीमा देशको ध्यान, बिर्तामा घुमुवा प्रहरीमाथि तस्करी संरक्षण र ‘असुली’को आरोप

वीरगन्ज । देशको ध्यान रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, उद्धार तथा राहतमा केन्द्रित भइरहेका बेला वीरगन्जका सीमावर्ती क्षेत्रमा भने प्रहरीकै घुमुवा टोलीमाथि तस्करी संरक्षण र सर्वसाधारणबाट रकम असुली गरेको आरोप लागेको छ।
वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी सहायक हवल्दार विबेक सिंहमाथि घुमुवा प्रहरीको जिम्मेवारीमा रहेर सीमावर्ती क्षेत्रमा सर्वसाधारणलाई अनावश्यक दुःख दिने, चेकजाँचका नाममा रकम माग्ने तथा तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्ने गरेको आरोप स्थानीयले लगाएका छन्।
स्थानीयका अनुसार सिंहलाई वडा प्रहरी कार्यालय बिर्ताले क्यूआरटी तथा घुमुवा प्रहरीका रूपमा विभिन्न क्षेत्रमा परिचालन गर्दै आएको छ। तर, शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेका उनले पदको दुरुपयोग गर्दै सर्वसाधारणलाई अनावश्यक रूपमा रोक्ने, सामानको चेकजाँच गर्ने र रकम माग्ने गरेको गुनासो बढेको छ।
सिंहले वीरगन्जका छपकैया, इनर्वा, नगवा लगायतका सीमावर्ती क्षेत्रमा पुगेर तस्करीमा संलग्न व्यक्तिहरूबाट नियमित रूपमा ‘महिनवारी’ उठाउने गरेको आरोपसमेत स्थानीयले लगाएका छन्।
स्थानीयका अनुसार इनर्वा भन्सार, इनर्वा गाउँ तथा नगवा क्षेत्रबाट कबाड, मदिरालगायतका सामान भारततर्फ जाने गरेको छ भने भारतको रक्सौललगायतका बजारबाट हार्डवेयर, कपडा, किराना तथा अन्य सामग्री नेपाल भित्रिने गरेको छ।
तर, घरायसी प्रयोजनका लागि सीमापारिबाट सामान ल्याउने सर्वसाधारण भने प्रहरीको चेकजाँचका नाममा समस्यामा पर्ने गरेको गुनासो गर्छन्। प्रत्यक्षदर्शीका अनुसार एक बोरा चामललगायत सामान्य घरायसी सामान ल्याउने व्यक्तिलाई समेत रोक्ने, रकम माग्ने र पैसा नदिए पक्राउ गरी लैजाने वा थुन्नेसम्मको धम्की दिने गरिएको आरोप छ।
स्थानीयका अनुसार त्यस्ता व्यक्तिबाट ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म रकम माग्ने गरिएको छ।
यसको विपरीत ठूलो परिमाणमा सामान ओसारपसार गर्ने तस्करीमा संलग्न व्यक्तिहरूलाई भने सहज रूपमा आवतजावत गर्न दिइने गरेको आरोप छ। नाम उल्लेख नगर्ने सर्तमा एक तस्करीमा संलग्न व्यक्तिले आफूहरूबाट नियमित रूपमा रकम उठाइने भएकाले सामान ओसारपसार गर्दा रोकतोक कम हुने दाबी गरेका छन्।
स्थानीयको दाबीअनुसार सिंह लामो समयदेखि वडा प्रहरी कार्यालय बिर्ता क्षेत्रमै कार्यरत छन्। उनी करिब पाँच वर्षदेखि सोही कार्यालयअन्तर्गत कार्यरत रहेको र प्रहरी संगठनभित्रका केही उच्च तहका अधिकारीको संरक्षणका कारण पटक–पटक घुमुवाको जिम्मेवारी पाउने गरेको स्थानीयको आरोप छ।
सिंहमाथि लागेको आरोपबारे निष्पक्ष छानबिन गर्नुपर्ने स्थानीयको माग छ। विशेषगरी सर्वसाधारणबाट कथित रूपमा रकम असुली तथा तस्करीमा संलग्न समूहसँगको भनिएको साँठगाँठबारे प्रहरीको माथिल्लो नेतृत्वले अनुसन्धान गर्नुपर्ने उनीहरूको भनाइ छ।
यस विषयमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदीसँग प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा उनले कार्यालयमै आएर कुराकानी गर्न आग्रह गरेका थिए। स्थानीयले भने सिंहलाई घुमुवाको जिम्मेवारी दिनुमा प्रहरी निरीक्षक सुवेदीको संरक्षण रहेको आरोप लगाएका छन्। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
प्रहरी निरीक्षक सुवेदीको कार्यकाल अझै करिब चार महिना बाँकी रहेको बताइँदै गर्दा स्थानीयस्तरमा प्रहरीको कार्यसम्पादन र सीमावर्ती क्षेत्रमा भइरहेको भनिएको गतिविधिमाथि प्रश्न उठ्न थालेको छ।
प्रहरीको घुमुवा टोलीको मुख्य जिम्मेवारी अपराध नियन्त्रण, सूचना संकलन तथा शान्ति सुरक्षा कायम गर्न सहयोग गर्नु हो। यस्तो जिम्मेवारीमा खटिएका प्रहरीमाथि नै सर्वसाधारणबाट रकम असुली र तस्करी संरक्षणको आरोप लागेपछि घटनाबारे निष्पक्ष र तथ्यमा आधारित छानबिन आवश्यक देखिएको छ।
समाज
थप सामाग्री-
रसुवाको बाढीमा देशको ध्यान, बिर्तामा घुमुवा प्रहरीमाथि तस्करी संरक्षण र ‘असुली’को आरोप
-
आज भदौ २० गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी र सडक अवरोधले ग्यास अभाव चर्कियो, केही दिनमै सहज हुने दाबी
-
देशभर मनसुन सक्रिय : सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
-
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
३ घण्टा अगाडि
400Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज…





