

तीन छोरा र नाति बेपत्ता भएपछि ७१ वर्षीया आमाको प्रतीक्षा : ‘सन्तान फर्किएर आउँछन् कि भन्ने आशा मारेकी छैन’

पीडित परिवारका घाइतेलाई भेट्न टिचिङ अस्पताल पुगेका दल मर्दन कामीले ७१ बर्षिय बाचेन तामाङको बेपत्ता तीन छोरा ,एक नाति र जुवाइको विवरण प्रहरी सहायता केन्द्रमा दर्ता गराए
काठमाडौं, २०८३ भदौ २०
भोटेकोसीमा आएको बाढी–पहिरोमा आफ्ना परिवारका सदस्य बेपत्ता भएपछि रसुवाकी ७१ वर्षीया बाचेन तामाङ अझै उनीहरू फर्किएर आउने आशामा छिन्। रसुवा गम्बुडाँडा कालिकाथी निवासी तामाङका तीन छोरा, नाति र ज्वाइँलगायत परिवारका सदस्य बाढी–पहिरोपछि बेपत्ता छन्।
शुक्रबार टिचिङ अस्पताल परिसरमा बेपत्ता व्यक्तिहरूको तस्वीर हेर्दै गरेकी बाचेनको अवस्था देखेर उपस्थितहरू भावुक बने। तस्वीरहरूमध्ये एउटा तस्वीरतर्फ लामो समयसम्म टोलाउँदै उनले ‘मेरो कान्छा छोराजस्तै लाग्छ’ भनेकी थिइन्।
सन्तानको तस्वीर हेर्दै गहभरि आँसु पारेर रोएकी उनलाई सम्झाउँदै ‘आमा, नरुनुहोस्, उहाँहरू आउनुहुन्छ होला’ भनिएपछि उनले आफूले अझै आशा नछोडेको बताइन्।
‘एक दिन आउँछन् कि भन्ने आशा छ, आशा मारेकी छैन,’ भन्दै उनी घुकघुक रोएकी थिइन्।
परिवारका अनुसार बाढी–पहिरोमा उनका कान्छा छोरा रोहित थोकर तामाङ (३०), पाल्देन थोकर (४०), कामीथिरिङ थिङ (४०), नाति अमृत थोकर (२६) र ज्वाइँ विजय डंगोल लगायत बेपत्ता छन्।
पीडितलाई भेट्न अस्पताल पुगेपछि आमासँग भेट
यस विषयमा दल मर्दन कामीले पीडित परिवारका घाइते सदस्यहरू अस्पतालमा उपचाररत रहेको जानकारी पाएपछि आफू टिचिङ अस्पताल पुगेको बताए।
कामीका अनुसार अस्पतालमा घाइते पीडितलाई भेट्ने क्रममा उनले ७१ वर्षीया बाचेन तामाङलाई भेटेका थिए। आमाले आफ्ना परिवारका सदस्यहरू बेपत्ता भएको बताएपछि आफूले उनलाई प्रहरी सहायता केन्द्रसम्म लगेर बेपत्ता भएका व्यक्तिहरूको नाम टिपाउन सहयोग गरेको कामीले जानकारी दिए।
‘पीडित परिवारका घाइतेहरू अस्पतालमा उपचाररत रहेको जानकारी पाएपछि म उनीहरूलाई भेट्न टिचिङ अस्पताल पुगेको थिएँ। त्यही क्रममा ७१ वर्षीया बाचेन तामाङ आमासँग भेट भयो। उहाँले आफ्ना सन्तानहरू बेपत्ता भएको बताउनुभयो। त्यसपछि आमालाई प्रहरी सहायता केन्द्रमा लगेर बेपत्ताहरूको नाम टिपाउन सहयोग गरेँ,’ कामीले भने।
उनका अनुसार प्रहरी नागरिक सहायता डेस्कमार्फत बेपत्ताको विवरण सम्बन्धित निकायसम्म पुर्याउने प्रक्रिया अघि बढाइएको छ।
शान्ति तामाङ आजै अस्पतालबाट डिस्चार्ज हुँदै
कामीले उपचाररत शान्ति तामाङलाई समेत भेटेको जानकारी दिए। उनका अनुसार शान्ति तामाङको स्वास्थ्य अवस्थामा सुधार भएपछि शुक्रबार नै अस्पतालबाट डिस्चार्ज हुने भएकी छन्।
कामीका अनुसार शान्तिले अस्पतालबाट डिस्चार्ज भएपछि काठमाडौंको नागढुङ्गामा रहेका आफन्तसँग जाने र आफ्ना श्रीमान् विजय डंगोलको काजकिरियामा सहभागी हुने जानकारी दिएकी छन्।
बाढी–पहिरोमा परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका पीडितहरूको अवस्था अत्यन्तै पीडादायी रहेको भन्दै कामीले राज्यका सम्बन्धित निकायले पीडित परिवारसम्म पुगेर आवश्यक सहजीकरण गर्नुपर्ने बताए।
‘एउटी आमाको आँखामा हजारौँ परिवारको पीडा देखियो’
बाचेन तामाङको अवस्था देखेपछि आफू अत्यन्तै भावुक भएको कामीले बताए।
‘आज आमाको आँखामा एउटी आमा मात्र होइन, आफ्नो सन्तान गुम्ने पीडामा तड्पिएका हजारौँ परिवारको पीडा देखेँ,’ उनले भने।
उनले बेपत्ता व्यक्तिका परिवारलाई राज्यले तत्काल सूचना उपलब्ध गराउनुपर्ने र सम्भावित सबै स्थानमा खोजी अभियानलाई तीव्रता दिनुपर्ने बताए।

सम्भावित सबै स्थानमा खोजी तीव्र पार्न माग
यसैबीच त्रिशूली–३ ए आयोजनाको सुरुङबाट दुई जनाको जीवित उद्धार भएको घटनालाई सकारात्मक उपलब्धि भन्दै कामीले उद्धारमा खटिएका सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनले अन्य सुरुङ, जलविद्युत् आयोजना, जोखिमयुक्त संरचना तथा बाढी–पहिरोबाट प्रभावित सम्भावित सबै स्थानमा मानिस फसेका छन् कि छैनन् भन्ने तत्काल पहिचान गर्न सरकारसँग माग गरेका छन्।
उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय उद्धार टोली तथा सम्बन्धित विज्ञहरूको संयुक्त परिचालन गरी सम्भावित सबै स्थानमा खोज तथा उद्धार अभियान अझ तीव्र पार्नुपर्ने बताए।
‘एउटा जीवन पनि अमूल्य हुन्छ। त्यसैले कुनै पनि सम्भावित स्थान खोजीबिनै नछोडियोस्। बेपत्ता परिवारको आशा जीवित छ, राज्यले त्यो आशालाई सम्मान गर्दै खोजी र उद्धारलाई उच्च प्राथमिकता दिनुपर्छ,’ कामीले हामीलाई बताए ।
समाज
थप सामाग्री-
रसुवाको बाढीमा देशको ध्यान, बिर्तामा घुमुवा प्रहरीमाथि तस्करी संरक्षण र ‘असुली’को आरोप
-
आज भदौ २० गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी र सडक अवरोधले ग्यास अभाव चर्कियो, केही दिनमै सहज हुने दाबी
-
देशभर मनसुन सक्रिय : सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
-
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
३ घण्टा अगाडि
400Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज…





