
इनम सापकोटाको राजनीतिक कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठसँग पटक–पटक फोन सम्पर्क, देउवा र आरजुसँग अझ निकट सम्बन्ध रहेको श्रेष्ठकै दाबी

काठमाडौं । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको सम्पर्क सञ्जालबारे नयाँ–नयाँ विवरण सार्वजनिक हुन थालेका छन्। बहालवाला प्रधानन्यायाधीश, न्यायाधीश तथा सरकारी उच्चपदस्थ अधिकारीहरूसँग सम्पर्क देखिएका सापकोटाको राजनीतिक वृत्तका प्रभावशाली नेताहरूसँग पनि सम्बन्ध रहेको खुलेको छ।
यसैक्रममा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा नेता उमेश श्रेष्ठसँग सापकोटाको पटक–पटक फोन सम्पर्क हुने गरेको पाइएको छ। सार्वजनिक भएको कल विवरणअनुसार उनीहरूबीच नियमित सम्पर्क हुने गरेको देखिएपछि सापकोटाको राजनीतिक पहुँच र सम्बन्धबारे थप चासो बढेको छ।
सापकोटासँगको सम्बन्धबारे प्रतिक्रिया दिँदै श्रेष्ठले उनी आफ्नो विद्यार्थी भएको र पुरानै चिनजानका कारण कुराकानी हुने गरेको बताएका छन्। विद्यार्थी हुँदादेखिको सम्बन्ध भएकाले फोन सम्पर्क हुनु अस्वाभाविक नभएको उनको भनाइ छ।
‘सम्पर्क हुँदैमा के नै बिग्रेको छ र ? न ऊसँग कारोबार गरेको छु, न बिचौलियाको रूपमा कुनै कुरा गरेको छु,’ श्रेष्ठले भने।
तर कुराकानीका क्रममा श्रेष्ठले सापकोटाको सम्बन्ध आफूभन्दा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र आरजु राणा देउवासँग अझ निकट रहेको दाबी गरेका छन्। ‘मेरोभन्दा सम्बन्ध नजिक त देउवा र आरजुको पो छ त,’ श्रेष्ठले स्पष्ट पारे।
श्रेष्ठको यो भनाइले सापकोटाको राजनीतिक सम्पर्क र पहुँचबारे थप प्रश्न उठाएको छ। उच्चपदस्थ सरकारी अधिकारीदेखि राजनीतिक नेतृत्वसम्म सम्पर्क विस्तार गरेको देखिएका सापकोटाको सम्बन्धबारे अनुसन्धान र सार्वजनिक विवरणले थप चासो सिर्जना गरेको छ।
प्राप्त कल विवरणअनुसार गत १८ जुनमा सापकोटाले कांग्रेस नेता श्रेष्ठलाई फोन गरेका थिए। उक्त दिन उनीहरूबीच २ मिनेट २ सेकेन्ड कुराकानी भएको विवरणमा उल्लेख छ।
स्वास्थ्य क्षेत्रको ठेक्का तयारीमा पनि सापकोटाको भूमिका रहेको आशंका
स्रोतका अनुसार सापकोटासँगको सम्पर्क सामान्य चिनजानमा मात्र सीमित नरहेको आशंका पनि गरिएको छ। कांग्रेस नेता श्रेष्ठले सापकोटासँगको सम्बन्धका आधारमा सरकारबाट स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ठेक्का लिने तयारी गरिरहेको स्रोतको दाबी छ।
राजनीतिक तथा प्रशासनिक वृत्तमा पहुँच विस्तार गर्दै आएका सापकोटाको श्रेष्ठसँगको सम्बन्ध पुरानै रहेको बताइन्छ। पछिल्लो समय सार्वजनिक भएका सम्पर्क विवरणले उनको पहुँचको दायरा र त्यसको प्रयोजनबारे थप प्रश्न जन्माएको छ।
को हुन् उमेश श्रेष्ठ ?
उमेश श्रेष्ठ नेपाली कांग्रेसका नेता तथा व्यवसायी हुन्। शिक्षा क्षेत्रमा स्थापित व्यवसायीका रूपमा परिचित उनी ललितपुरस्थित लिटिल एन्जल्स एजुकेसन ग्रुपका संस्थापक अध्यक्ष हुन्। निजी विद्यालय तथा कलेजहरूको संगठन हिसानको अध्यक्षसमेत भइसकेका श्रेष्ठ व्यवसायसँगै राजनीतिमा पनि सक्रिय छन्।
श्रेष्ठ २०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका थिए। निजी स्वास्थ्य संस्थामा समेत व्यावसायिक लगानी रहेका कारण स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पुग्दा उनको नियुक्ति स्वार्थको द्वन्द्वसँग जोडेर विवादमा परेको थियो।
निजी स्वास्थ्य व्यवसायमा संलग्न व्यक्ति नै स्वास्थ्य मन्त्रालयको नेतृत्वमा पुग्दा नीतिगत निर्णयमा व्यावसायिक स्वार्थ जोडिन सक्ने भन्दै उनको नियुक्तिको आलोचना भएको थियो। विवादपछि श्रेष्ठले मन्त्री पदमा रहँदासम्म आफ्नो व्यावसायिक संलग्नताबाट अलग रहने तथा सरकारी तलब, गाडी र भत्तालगायतका सुविधा नलिने घोषणा गरेका थिए।
सापकोटाको सम्पर्क सञ्जालबारे एकपछि अर्को विवरण सार्वजनिक भइरहेका बेला कांग्रेस नेता श्रेष्ठसँगको फोन सम्पर्क र देउवा–आरजुसँग अझ निकट सम्बन्ध रहेको उनको आफ्नै दाबीले यो प्रकरणलाई राजनीतिक वृत्तमा थप चर्चाको विषय बनाएको छ। अब अनुसन्धानका क्रममा सार्वजनिक हुने तथ्यले सापकोटाको सम्पर्कको प्रकृति र त्यसबाट भएका सम्भावित लाभबारे थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आईजीपी कार्कीको समर्थनमा प्रहरी नेतृत्व एकजुट, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावले पीसीसी बैठकमा तरंग
-
आज कार्तिक १३ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
दुई राजदूतको नाम अस्वीकृत भएपछि आईजीपी दानबहादुर कार्कीमाथि निशाना किन?
-
आज कार्तिक १२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
जातीय विभेद र महिला हिंसाविरुद्ध कडा कारबाहीमा जोड, मन्त्री सीता बादी र आईजीपी कार्कीबीच भेटवार्ता
आज कार्तिक ११ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
4.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफन्तहरूसँग चलिरहेको वादविवाद समाधान हुनेछ। समाजमा नयाँ जिम्मेवारी प्राप्त हुन…





