सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमा मात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो रु दुई सय ५० र कृषक तथा समूहले प्रतिकिलो रु तीन सयका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए ।“किसान तथा समूहले फूलका थुङ्गाका अलावा मालासमेत बनाएर बिक्री गरे”, उनले भने, “तिहारको अवधिमा किसान तथा समूहद्वारा प्रतिमाला रु ८० देखि रु एक सयका दरले बिक्री भयो ।” यहाँ उत्पादन भएको फूल तथा माला स्थानीय बजारमै अत्यधिक खपत भएको थियो । स्थानीय बजारसँगै बुटवल, पोखरा, काठमाडौँ, दाङ, नवलपुरलगायत ठाउँमा समेत माला खपत भएको पौडेलले बताए ।तिहारको अवधिमा सयपत्री फूलको माग विगतका वर्षका तुलनामा यसपाली बढेको थियो । व्यापारीले यहीँ आएर फूल खरिद गरेर लगेका थिए । “फूल पहिलो चरणको बिक्री भएर सकियो”, उनले भने, “दोस्रो चरणमा अहिले फेरि फूल उत्पादन भइसकेको छ, यो फूल विवाह, व्रतबन्धलगायतमा बिक्री गर्छौँ । साउनमा लगाइएको बोटबाट चैतसम्म उत्पादन लिन सकिन्छ ।” फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिई आर्थिकलाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूलखेती गरेको थियो । यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नका लागि नर्सरी स्थापना गरेको थियो ।

गाउँपालिकाले व्यावसायिकरूपमा फूलखेती गर्नका लागि नर्सरी राखेको बिर्घा पुछारमा पालिकाका सबै वडाबाट छनोट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिएको थियो । खनजोतदेखि फूल उत्पादन हुँदासम्मका लागि गाउँपालिकाले प्रतिरोपनी रु नौ हजारका दरले अुनदान उपलब्ध गराएको थियो । गत वर्ष गाउँपालिकाले परीक्षणका रूपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यस वर्षबाट कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराएको हो ।

पालिकाका सातवटै वडाका तीन महिला समूह, एक घरबास (होमस्टे) र १० कृषक गरी १४ समूह तथा व्यक्ति छनोट भएका हुन् । कृषक समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनी जग्गामा व्यावसायिक फूलखेती गरेका छन् । गाउँपालिकाले यस वर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ । एउटा बोटबाट चार सय वटासम्म फूलका थुङ्गा उत्पादन हुन्छन् ।

फूलको व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनुका साथै यहाँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गाउँपालिकाको छ । फूल उत्पादन हुने क्रम आगामी चैतसम्म हुने भएकाले बिक्री गरी थप आम्दानी लिन सकिन्छ । यहाँ व्यावसायिक फूलखेती थालेका किसानले तिहारको अवधिमा मात्रै न्यूनतम रु ३० हजारदेखि अधिकृतम रु ७०–८० हजारसम्म आम्दानी गरेका छन् ।

कालीगण्कडी गाउँपालिका–६ कुणादीका चिन्तामणि अधिकारीले तिहारमा मात्रै सयपत्री फूल बिक्रीबाट रु ६० हजार आम्दानी गरे । पहिलोपटक परीक्षणका रूपमा दुई रोपनीमा फूलखेती गर्नुभएका अधिकारीले तिहारको अवधिमा मात्रै फूल तथा माला बिक्री गरी मनग्गे  आम्दानी गरेका हुन् ।

“तिहारको अवधिमा मात्रै करिब दुई हजार मालाको माग थियो”, उनले भने, “मालाको माग अत्यधिक थियो तर पर्याप्त फूल थिएन र माग भएबमोजिम उपलब्ध गराउन सकेनौँ ।” तिहारको समयमा सयपत्री माला तथा फूलको घरमै छोपाछोप भएको उनले बताए । उत्पादित फूलको ८० प्रतिशत माला बनाएर प्रतिमाला फुटकर रु एक सय र होलसेलमा रु ९० मा बिक्री भएको उनी बताउछन् । तिहारमा उत्पादन भएजति फूल फेरि पनि बोटमा उत्पादन भएकाले आम्दानी अझै वृद्धि हुने व्यवसायी अधिकारीले बताए ।

“विभिन्न जातका गेडागुडी लगाउने गरेको जमिनमा यस वर्ष गाउँपालिकाको सहयोगमा पहिलोपटक सयपत्री फूल लगाएँ”, उनले भने, “फूलबाट राम्रै आम्दानी भयो, बाँदरबाट पनि समस्या भएन, अबका दिन अझै क्षेत्र विस्तार गरी फूलखेतीलाई निरन्तरता दिने सोचमा  छु ।”रासस

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares