

छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल
कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो । स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्ट बताए । “छाडा चौपायामा स्थानीय तहले धेरै पैसा खर्चिएका छन्, तर अझै समस्या समाधान हुन सकेको छैन,” उनले भने, “छाडा चौपाया राख्न कान्जीहाउस (गौशाला) बनाइयो तर अहिले उपयोगविहीन छन् ।”यस्ता चौपायाको समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन् । बेदकोट नगरपालिकामा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै सडकका चौपाया संकलन गरेर स्थानीयले नगरपालिका परिसरमा थुनेका छन् ।
नगरपालिकालाई छाडा चौपायाको समस्या समाधानका लागि दबाब दिन चौपाया नगरपालिकामा थुनिएको कमला चौधरीले बताए । “नगरपालिकालाई पटक पटक छाडा चौपायाको व्यवस्थापनका लागि भन्यौं, तर केही चासो देखाएन,” उनले भने , “माग सम्बोधनका लागि दबाब दिन चौपाया नगरपालिकाको कार्यालयमा हुलेका हौं ।”छाडा चौपाया नगरपालिकाको परिसरमा तीन दिनदेखि राखिएका छन् । समस्या समाधान नहुञ्जेसम्म नगरपालिकामा चौपाया थुनिने उनले बताए ।
चाहिञ्जेल पाल्ने र पछि छाड्ने प्रवृत्तिले छाडा चौपायाको समस्या समाधान हुन नसकेको पशु संरक्षणकर्मी बताउँछन् । पछिल्लो समय पशुप्रति मानवका व्यवहार ‘कू्रूर’ हुन थालेको पशु संरक्षणका सक्रिय हरिशरण महाराजले बताए । “दूध दिने बेलासम्म गाई बाँध्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ,” उनले भने । पशुलाई धर्ममा पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्ति मौलाउँदा पशु संरक्षण हुन नसकेका उहाँको भनाइ छ । “ तिहारमा पूजा गरिने गाईप्रति समेत मानवीय व्यवहार भएको छैन, सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन सकेको छैन,” उनले भने ।
छाडा चौपाया व्यवस्थापन हुन नसक्दा पूर्वपश्चिम राजमार्ग, बजार क्षेत्रभर नै पशु चौपायाको समस्या जस्ताको त्यस्तै छ । भीमदत्तले रु ५० लाख खर्चेर निर्माण गरेका ‘कान्जिहाउस’ (गौशाला) मा एउटा पनि पशु चौपाया छैनन् । जग्गा भाडामा लिएर बनाएको गौशाला जीर्ण बन्दै गएको स्थानीय राधेश्वर धामीले बताए ।
पश्चिम गड्डाचौकीदेखि, सुकासाल, वनगाउँ, बसपार्क, सुडा लालपुर, सिसैया, दैजी, गुलरिया, कृष्णपुरसम्म जताततै छाडा चौपाया देखिन्छन् । राजमार्गमा छाडा पशुका कारण दुर्घटनाको खतरा पनि बढेको छ ।
छाडा चौपायाका कारण यात्रुले राजमार्गमा सास्ती खेप्नु परेको छ ।
छाडा चौपायाले खेतमा लगाएका बाली सखाप गर्ने गरेको बेदकोट–९ की काजल साउदले बताए । “चौपायाले खेतमा लगाएको बाली खाएर सखाप पार्छ,” उनले भने , “छाडा चौपायाले हैरान भएका छौं, यसको समाधान गर्नु जरुरी छ ।”
बेदकोट नगर प्रमुख भोजराज बोहराले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढेको बताए । “चुने पानीमा चौपायाका लागि टहरा बनाइएको छ, वडा नंं. ४ मा पनि जग्गा भाडामा लिएर व्यवस्थापनको काम अगाडि बढेको छ,” उनले भने , “दुई महिनाभित्र सडकका चौपायालाई त्यहाँ व्यवस्थापन गर्ने गरेर तत्कालीन र दीर्घकालीन योजना अगाडि बढाएकाछौं ।”
पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिकामा छाडा चौपायाको समस्या छ । शुक्लाफाँटा नगरपालिकाका छाडा चौपायालाई वडा नम्बर ९ स्थित बनाइएको गौशालामा राख्ने गरिएको नगर प्रमुख रणबहादुर महराले बताए । छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम तीव्र रुपमा अगाडि बढाएको नगर प्रमुख हेमराज ओझाले बताए । उनका अनुसार नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरिरहेको छ ।
“छाडा चौपाया र घरमै पालिएका गाईलाई फरक–फरक रङको ट्याग लगाउने कार्य भइरहेको छ,” उनले भने , “यसले घरमै पालिएका गाई र बाह्य क्षेत्रमा छाडिएका गाईको पहिचान गर्न सहज हुन्छ, गाई–गोरु छाडा रुपमा छाड्ने व्यक्तिको पहिचान हुन्छ, अनि नगरपालिकाको प्रचलित कानुनअनुसार कारबाही गर्न सकिन्छ ।” छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले घाँस, चारो, पानी र हेरालाको व्यवस्था गर्न योजना बनाएको उनले जानकारी दिए । नगरपालिकाले चालू आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि रु ४० लाख बजेटको व्यवस्था गरेको छ । रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



