गाउँ छाडेर धमाधम सहरतिर

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ घरपरिवारका २२१ जना बसाइँ सरेका छन्। गत साउनदेखि पुस मसान्तसम्म गाउँपालिकाका स्थानीय गाउँ छाडेर सहरी तथा तराई क्षेत्रमा बसाइँ सरेका हुन्।  अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क सर्वाधिक छ। गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले आठवटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नम्बर ५ बिहुँबाट बसाइँ सरेको जानकारी दिए । बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जनाले गाउँ छाडेका छन्। वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाका परिवारै बसाइँ–सराइ गर्नेमा पर्छन्। वडा नं. ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ। वडा नं. ६ बाट ११ परिवारका ४३ जना बसाइँ–सराइ गरेका छन्। बिहुँका स्थानीय अधिकांश जापान, अस्ट्रेलिया, पोर्चुगललगायत मुलुकमा छन्। गाउँपालिकाबाट बसाइँ–सराइ लिएर जानेबाहेक थातथलो छाडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साबिकको बिहुँ गाविस (हाल : स् वडा नं.५ र ६) सदरमुकामदेखि छोटो दूरीका वडा हुन्। गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बिहुँमा दुईवटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार रहे पनि गाउँ रित्तिन नछाडेको बताए ।

अन्य वडाको तुलनामा बिहुँ फलफूल र नगदेबाली बढी उत्पादन हुने क्षेत्र पनि हो। राष्ट्रिय परिचयपत्र बनाउनेक्रममा घटना दर्ता भएका हुन्। काठेखोलामा सबैभन्दा कम बसाइँ–सराइ वडा नं. ७ लेखानीमा छ। यो वडाबाट पाँच महिनाको अवधिमा एक परिवारका तीन जना सदस्य मात्रै गाउँ छाडेर अन्यत्र गएका छन्। “हामीले विकास निर्माणका काम गाउँमा केन्द्रित गरेका छौँ तर गाउँलेचाहिँ सहर केन्द्रित भएका छन्,” गाउँपालिका अध्यक्ष राजु थापाले भने, “बसाइँ–सराइको स्थिति हेरेर नीति, कार्यक्रम र बजेट बनाउनुपर्ने अवस्था आउन थालेको छ।”

वडा नं. १ पालाबाट दुई परिवारका आठ, वडा नं. २ भीमापोखराबाट छ परिवारका १८, वडा नं. ३ धम्जाबाट पाँच परिवारका १९, वडा नं. ४ तङ्ग्रामबाट दुई परिवारका १२ र वडा नं. ७ रेसबाट नौ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ। बसाइँ सर्नेमा आर्थिक दृष्टिकोणले मध्यम वर्ग कम रहेका छन्। वैदेशिक रोजगारीबाट छोटो अवधिमा धेरै अर्थोपार्जन गर्ने परिवारका सदस्य बसाइँ–सराइ गरेको काठेखोला गाउँपालिका–२, भीमापोखराका वडाध्यक्ष विद्यापति शर्माको भनाइ छ।  गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला–मजदुरी गरेर खानेहरू अवसरका खोजीमा सहर–बजारतिर झरेका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
११ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares