

बसाइँसराइ गर्ने ह्वात्तै बढे
वालिङ ।स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन् । गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाई सरेर गएका हुन् । उक्त घरधुरीका दुई हजार आठ सय ९८ जना बसाई सरेका नगरपालिकाको पञ्जीकरण शाखाका अपरेटर पदम पराजुलीले जानकारी दिनुभयो ।
विसं २०७८ मा वालिङबाट दुई सय ४६ घरधुरीका नौ सय ४४ जना बसाई सरेर अन्यत्र गएकामा यस वर्षको हालसम्म दुई हजार आठ सय ९८ जना गइसकेका छन् । बसाई सरेर अन्यत्र जानेको तुलनामा अन्यत्रबाट बसाई सरेर आउने पनि छन् ।
बसाई सरेर आउनेभन्दा जानेको सङ्ख्या बर्सेनि बढ्दोक्रममा रहेको छ । गत वर्ष एक सय १६ घरधुरीका चार सय ३७ जना र २०७९ को हालसम्म दुई सय ९४ घरधुरीका एक हजार एक सय १६ जना बसाई सरी आएका तथ्याङ्क रहेको उहाँले जानकारी दिनुभयो ।
चौध वटा वडा रहेको नगरपालिकाका केही वडामा बजार विस्तार हुने क्रम बढ्दो छ । केही वडा ग्रामीण र विकट छन् । ग्रामीण भेगका वडाबाट बजारतिर बसाई सर्ने क्रम बढ्दै गएको छ । बजारबाट अझै ठूला सहरमा बसाइँसराइ गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।
यस वर्ष ग्रामीण वडाका रुपमा रहेको वालिङ १२ बाट एक सय ४३ घरधुरीका पाँच सय ७९, वडा नं १४ बाट एक सय ३६ घरधुरीका चार सय ९९ जना बसाई सरेर गए । यस वर्ष सबैभन्दा थोरै वडा नं ३ बाट २८ घरधुरीका ८८ जना बसाई सरे । विसं २०७८ मा वडा नं। १४ का ३८ र १२ का ३६ घरधुरी बसाई सरेर गए । १२ बाट एक सय ५३ जना र १४ बाट एक सय ४९ जना बसाई सरेका उहाँले जानकारी दिनुभयो ।
स्थानीयस्तरमा रोजगारी, उच्च शिक्षा, स्वास्थ्य तथा लगानीजस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउनुहुन्छ । ग्रामीण भेगबाट स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायका लागि बजार आउने क्रम बढ्दो रहेकाले स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, सुविधासम्पन्न मेडिकल कलेज, यही लगानी गर्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ त्यतापट्टि ध्यान दिनुपर्ने धारणा उहाँको छ ।
“यहाँको विकासका लागि पनि जनसङ्ख्या आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसाय, लगानी गर्ने वातावरण बनाई छिमेकी पालिकालाई पनि आकर्षित गर्दै अगाडि बढ्नु आवश्यक छ ।” वालिङबाट विभिन्न कारणले मानिस अन्यत्र बसाई सरेर जानुलाई आफूले गम्भीर ढङ्गले लिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
“वालिङमा अन्यत्रबाट बसाई सरेर आउनेभन्दा जानेको सङ्ख्या धेरै हुनु पक्कै पनि हाम्रा लागि राम्रो होइन”, उहाँले भन्नुभयो, “बसाइँसराइका कारण के के हुन् पहिचान गरी कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्छौँ ।” पछिल्लो समय आर्थिक सम्पन्नताका कारण पनि केही मानिस ठूला सहरमा शिक्षादीक्षा, स्वास्थ्य उपचार, रोजगारी, व्यापार व्यवसायका लागि जाने चलन बढेको उहाँ बताउनुहुन्छ ।
बसिरहेको ठाउँ आफू अनुकूल नहुनु, परिस्थिति फेरिनु, सोचेजस्तो नहुनु, आफन्त इष्टमित्र जता धेरै हुनुहुन्छ उतै बसाई जानु, स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायजस्ता सामाजिक तथा व्यक्तिगत कारणले मानिस पहुँच पुग्ने ठाउँमा बसाई सरेर जाने गरेका छन् ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१३ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



