

एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण
बेनी । म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ ।
मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो ।
आइतबार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको पार्कको निर्माण कार्य सकिएपछि औपचारिकरुपमा उद्घाटन गरिएको हो । पार्कमा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ ।
गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । “बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रुपमा पार्क बनाएका हौँ, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ”, अध्यक्ष रोकाले भन्नुभयो ।
उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । पार्क बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।
त्यसैगरी थप पाँचआना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु एक लाख र मङ्गला युवा क्लबले रु दुई लाख आर्थिक सहयोग गर्नुभएको थियो । आइतबार पार्क उद्घाटनको अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको छ । बाजागाजासहित बाबियाचौर बजार परिक्रमापश्चात् पार्कमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवारसँगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मङ्गला युवा क्लबका पदाधिकारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि समग्र मङ्गलाको समृद्धिमा सघाउने उद्देश्यले आर्थिकरुपमा महँगो पर्ने जग्गालाई आफूहरुले निःशुल्क दान गरेको जग्गादाता अधिकारीले बताउनुभयो ।
“हामीले यहाँको विकासका लागि यो जग्गा निःशुल्क दान गरेका हौँ, खोलाको किनारको जग्गामा आज पार्क स्थापना भएको छ, यसले दीर्घकालीनरुपमा मङ्गला गाउँपालिकाको विकासमा रचनात्मक सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले रु १८ लाख, गण्डकी प्रदेश सरकारबाट सङ्ग्रहालय भवन बनाउन रु १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलको लागि रु सात लाख बजेट उपलब्ध गराएका थिए । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र सङ्ग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब रु ६० लाख बढी लगानी गरेको जनाइएको छ ।
पार्कलाई निःशुल्क जग्गा दिने अधिकारीको सम्मानमा पार्क परिसरमा अर्धकदको सालिक बनाइएको छ भने सङ्ग्रहालयको नाम ‘मङ्गला खड्ग नन्द सङ्ग्रहालय’नामकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
म्याग्दी नदी किनारमा निर्माण भएको पार्क स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महसुस हुने गरी निर्माण गरिएको छ ।
पार्कलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । पार्क सञ्चालनमा आएसँगै मङ्गलामा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिनुभयो ।रासस
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१५ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



