पर्याप्त पानी नपर्दा सर्लाहीमा करिब सात प्रतिशत रोपाइँ

सर्लाही । असार सकिनै लाग्दा सर्लाहीमा करिब सात प्रतिशत मात्रै धान रोपाइँ भएको छ । पर्याप्त वर्षा हुन नसक्दा जिल्लामा सिँचाइ सुविधा रहेको क्षेत्रमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द यादवले जानकारी दिए । उनका अनुसार बाग्मती र मनुष्मारा सिँचाइ नहरको पानी लाग्ने क्षेत्रमा मात्रै धान रोपाइँ सुरु भएको हो ।“सिँचाइ सुविधा रहेको क्षेत्रमा मात्र धान रोपाइँ भएको छ, एक झर पर्याप्त पानी परे जिल्लाका सबै क्षेत्रमा रोपाइँ सुरु हुने थियो”, ज्ञान केन्द्रका प्रमुख यादवले भने । ४३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने सर्लाहीमा अधिकांश क्षेत्रमा आकाशे वर्षा कुरेर रोपाइँ गरिन्छ ।

बाग्मती र मनुष्मारा सिँचाइको नहरबाट केही  क्षेत्रफलमा सिँचाइ हुने भए पनि धेरै क्षेत्रमा आकाशे वर्षाको भर पर्नुपर्छ ।

यो वर्ष जेठको खडेरीले धानको ब्याड सुकेर नष्ट भएपछि अधिकांश किसानले दोहोर्‍याएर ब्याड राख्नु परेका कारण पनि समयमै धान रोपाइँ सुरु हुन नसकेको स्थानीयवासी भोला यादवले बताए । उनका अनुसार दोहोर्‍याएर राखेको धानको ब्याड पनि रोप्नका लागि तयार भइसकेको छ तर पर्याप्त आकाशे वर्षा हुन नसक्दा कतिपय स्थानमा धान रोपाइँ सुरु नै हुन सकेको छैन ।

जिल्लाको लखन्देही, कालिञ्जोर, फूलजोर, बाँके, झिमलगायत खोलामा किसानले बाँध कसेर सिँचाइ गर्ने गरेका भए पनि यस वर्ष पर्याप्त पानी नपर्दा यी खोलाहरु पनि सुक्खा छन् । रोपाइँका लागि पर्याप्त आकाशे वर्षाको प्रतीक्षामा बस्दाबस्दै असार सकिन लागेका अर्का किसान राजीव महतोले बताए । केही किसानले पम्पसेट चलाएर पनि रोपाइँ गर्न सुरु गरेका भए पनि अधिकांश किसानले खेतमा जम्ने गरी पानी परेपछि मात्रै रोपाइँ सुरु गर्ने महतोले बताए ।

बिजुली पुगेको ठाउँमा बत्तीबाट पम्पसेट चलाउन सहजै हुन्छ तर बत्ती नपुगेको ठाउँमा डिजेलबाट चलाउँदा महँगो पर्न जाने गरेको हिरेन साहले बताए । यस क्षेत्रमा केही दिनदेखि हल्का वर्षा भइरहे पनि बग्ने गरी पानी पर्न सकेको छैन ।

सामान्य पानीले मकै, उखुलगायत बालीलाई भने फाइदा नै गरेको किसानहरुले बताएका छन् । धान रोपाइँका लागि प्रतीक्षा गरेअनुसार पर्याप्त पानी नपर्दा जिल्लाका किसान निराश देखिएका छन् ।

जिल्लाका धेरैजसो किसानले रोपाइँ गर्न आली लगाउने र भित्ता ताछने काम गरिसकेका छन् भने कतिपयले त्यसका लागि मजदुर नै पाएका छैनन् । अहिले सबैतिर धमाधम रोपाइँ हुनुपर्नेमा पानी पर्न नसक्दा खेतीयोग्य फाँट सुक्खा देखिएका छन् ।रासस

 

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
Shares