वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जंगली हात्तीले उपद्रो मच्चाएको छ।

पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो ।

जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूहमा पसेका जंगली हात्तीले उपद्रो मच्चाएका छन् । तीन वटाको समूहमा बस्ती पस्ने हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वा बताउँछन्।

यसपालि पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ ।

बिहीबार रातीमात्र हात्तीले गौशाला–८ ढल्केबरमा पाँच/सातवटा गोठघर भत्काइदिएको छ । गज, ढोइ र छावासहितको हात्तीको समूहले सागरनाथ वनविकास परियोजनाको प्लटसँगै जोडिएका गौशाला–८ का पाँचभन्दा बढी बस्तीमा उखु, केरा, कोवी, मकै र गहुँसहितका बाली उखेल्ने, माड्ने गरेर क्षति पुर्‍याएको छ।

जंगली हात्तीको समूह बिहानपख बर्दिबास–५ को सोनापेटी, ढुङ्ग्रे र खयरमाराका दक्षिणीटोल पसेको स्थानीयले बताएका छन् ।

अधिकांश मध्यरातपछिको समयमा हात्ती बस्ती पस्ने गरेको र बिहान चार बजेअघि नै वनक्षेत्रको सुरक्षित बासस्थानतिर  जाने गरेको गौशाला–८ ढल्केबरकै मीन रहपाल बताउँछन्।

पछिल्लो जारी साताभित्रै (गत आइतबारयता ) हात्तीको समूहले आफ्नो वडाका विभिन्न बस्तीमा गरी १० बिघा बढीको बालीनाली सखाप पारेको गौशाला–८ का वडाअध्यक्ष भोजबहादुर दर्लामी बताउँछन्।

जंगली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आएपनि यसको समाधान भने हुन सकेको छैन । हात्तीले गत वर्ष हिउँदमा बर्दिबास–३ पाटुमा दुई वटा घर नै लडाएर विचल्ली बनाएको थियो । त्यसअघि हात्तीले बर्दिबास–३ कै पर्साहीधाप र रजबासका सात घर भत्काएको पीडितले अझै बिर्सेका छैनन् ।

यसपालि सर्लाहीतिरबाट महोत्तरी पसेको हात्तीले एक साताअघि छिमेकका सर्लाहीका बस्तीमा बालीनाली निकै क्षति गरेको थियो।

कहिले सिन्धुलीतिरबाट चुरे कटेर महोत्तरी पस्ने हात्तीले धनुषाको मिथिला नगरपालिकाको ढल्केबर शिरानका बस्तीसम्म उपद्रो मच्चाउने गरेको छ । पाँच वर्षअघि त हात्तीले ढल्केबरमा घर भत्काएर मान्छेलाई सुँडले तान्दै पछारेर मारेको जनाइएको छ।

यी जङ्गली हात्ती आफ्नो पुरानो बाटोमै हिड्ने गरेका वन्यजन्तुविज्ञको भनाइ छ । तर पछिपछि हात्तीका पुराना बाटा फाँडिएर घर बनेपछि त्यस्तै ठाउँ नजिक हात्तीको उपद्रो बढ्ने गरेको छ । हात्तीको बाटो एकअर्को पुस्तासँग जोडिदै आउने गरेको विज्ञ बताउँछन् । अहिले बाबुआमासँग आएको छावा पछि यही बाटो अनुसरण गर्ने र त्यसपछि उनीसँग हिड्नेसँग बाटोको सम्बन्ध जोडिदै जाने परम्परा बसेको हेमन्तप्रसाद साह बताउँछन्।

अहिले हात्तीको उपद्रो बढेका बेला तत्काल वनसम्बद्ध कार्यालय र वन सुरक्षाकर्मीले यसको कुशल व्यवस्थापनको चाँजो मिलाउन पर्ने बर्सेनीजसो क्षति पुर्‍याउँदै आएको बर्दिबास–३ का वडाअध्यक्ष विराटकुमार विष्टको भनाइ छ।

यसैबीच डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रले मातहतका सबै सवडिभिजन वन कार्यालय र वनसुरक्षा गस्तीलाई सचेतता अपनाउन र बस्ती पस्ने हात्ती धपाउने कार्यमा स्थानीयबासीसँग सहकार्य गर्न भनिएको बताएका छन्।

यसबारे नजिकको पर्सा वन्यजन्तु आरक्षण केन्द्रलाई यसबारे जानकारी गराइने मिश्रको भनाइ छ।रासस

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
460 Shares