पूर्वराजा ज्ञानेन्द्र शाहले घटाएको त्यो घडी काण्ड

एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो । त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ । कुरा चल्दै गयो । राजाबाट हुकुम भयो, “मेरो भाई– छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने ? मैले एक उद्योग गर भनेर दिएकै छ । अब अरू दिनुपर्दैन । कीर्तिनिधि, नवराजलाई बढी ‘प्रेसर’ भयो, तिमीले भन्दिनू ।”
श्री ५ महेन्द्रलाई प्रजातन्त्रविरोधी पनि भनिन्छ । यो आरोप लाग्ने कारण २०१७ सालको काण्ड नै हो। पार्टीमाथि प्रतिबन्ध लगाई, जनताद्वारा निर्वाचित सरकारलाई विघटन गर्न झट्ट हेर्दा अप्रजातान्त्रिक लाग्छ । तर, यो काण्ड गराउनमा भारतको पनि हात छ । मेरो दृष्टिमा त्यस वेला राजा महेन्द्र र प्रधानमन्त्री विश्वेश्वरबीच के कुरा मिलेका थिएनन् थाहा छैन, तर यसको फाइदा भारतले लिन खोज्दा नै २०१७ साल पौष १ गतेको काण्ड हुन गयो ।
२०१७ साल मंसीर २८ गते शिकार खेल्ने निहुँमा तत्कालीन भारतका सेनाध्यक्ष जनरल श्री के.एम. थिमैया ठोरीको जङ्गलमा आए। त्यहीँ भारतीय राजदूत श्री भगवान् सहायले श्री ५ महेन्द्र र थिमैयाको भेट गराएका थिए । त्यसपछि पौष १ गतेको काण्ड हुन गयो । यो काण्डपछि पं. जवाहरलाल नेहरूले यो ठीक भएन भन्ने मात्र वक्तव्य दिनुभयो। अरू केही पनि प्रतिक्रिया भारतबाट नआउनु, शङ्का गर्ने ठाउँ छ ।
यस काण्डबाट राजालाई खुसी पारी आफ्नो स्वार्थ पूरा गराउने दाउमा भारत थियो, तर राजाले त्यसो हुन दिएनन् । यसको फाइदा नेपाली कांग्रेसलाई भयो। यसपछि भारतले त्यहाँ शरण लिएका कार्यकर्ताहरूलाई सहयोग दिन शुरु गर्‍यो ।
२०२५ सालतिर म गृहराज्यमन्त्री थिएँ। एक दिन साँझ जनरल मल्ल (शेरबहादुर) को फोन आयो– ‘श्री ५ बाट मन्त्रीज्यूलाई बोलाहट भएको छ, तुरुन्त दरबार आउनुपर्‍यो।’ म दरबार गएँ ।
श्री ५ बाट हुकुम भयो– “नवराज, अब प्रजातन्त्र दिने बेला भयो । जनताको नासो धेरै दिन राख्तिनँ । मलाई एउटा नयाँ संविधानको ड्राफ्ट (प्रारूप) चाहियो । त्यसकारण तिम्रो अध्यक्षतामा तीन सदस्यीय समिति बनाउँछु । पूर्णप्रसाद ब्राह्‍मण सदस्य र सदस्यसचिवमा सुन्दरप्रसाद शाह हुने छन् । विशेषज्ञहरूको पनि सल्लाह लिई चाँडै मलाई ड्राफ्ट (प्रारूप) तयार पारी देऊ ।”
भोलिपल्ट समिति बन्यो । सूर्यबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो । ड्राफ्टको काम सुरु भयो । तर, पूर्णप्रसादजीसँग कुरा मिलेन । उहाँले राजाको दर्शन पनि पाउनुभएको थिएन, सरकारको चाहना पनि बुझ्नुभएको थिएन । दर्शन बक्सन जाहेर गर्नुभयो, तर पाउनु भएन । सातआठ महीनापछि मात्र हामी तीनै जनाले सामूहिक दर्शन पायौं ।
त्यस दर्शनभेटमा मलाई देखाउँदै पूर्णप्रसादजीले सरकारमा जाहेर गर्नुभयो “सरकार, पञ्चायत मास्न स्वयम् उहाँजस्तो मन्त्री नै लाग्न भएको छ। पूर्ण प्रजातन्त्र दिनुपर्छ, बालिग मताधिकारबाट चुनाउ हुनुपर्छ, वाक् स्वतन्त्रता दिनपर्छ आदि कुरा उठाएपछि कसरी पञ्चायत व्यवस्था ठीक हुन्छ ? खाली नामचाहिँ पञ्चायत व्यवस्था राख्ने रे, कामचाहिँ बहुदलीय व्यवस्थाको गर्ने रे, सरकार म त यो मान्दिनँ ।”
पूर्णप्रसादजीका कुरा सुनेपछि श्री ५ बाट हुकुम भयो– “पूर्णप्रसाद, मैले जनताको नासो केही दिनलाई लिएको हुँ । यो नासो जनतालाई फिर्ता गर्न ढिलो भइसक्यो । चाँडै ड्राफ्ट तयार गर। नवराजले भनेको कुरा ठीक हो । मिलाएर मलाई चाँडै ड्राफ्ट देऊ ।”
श्री ५ को यस्तो प्रस्ट विचारपछि हामीले रातारात गरेर ड्राफ्ट तयार गर्‍यौं । यसैबीचमा विश्वेश्वरजी सुन्दरीजलमा हुनुहुन्थ्यो– उहाँलाई छोड्ने कुरा उठ्यो । सूर्यबहादुरजी प्रधानमन्त्री, म गृहराज्यमन्त्री थि एँ। हामी दुवैजनाले बीपीलाई छोड़ने कुरामा जोड दिँदै आएका थियौं ।
छोड्ने पक्का भएपछि दरबारको नाटक सुरु भयो । कहिले सूर्यप्रसाद त कहिले गिरिजाप्रसाद आदिलाई भेट्ने काम सुरु भयो । जस-जसले लिन खोजे पनि बीपी छोड़ने र उनी तीन महीना चुप लागेर बस्नुपर्ने । यसैबीचमा संविधानमा व्यापक सुधार गरी वालिग मताधिकारबाट चुनिएको व्यक्ति प्रधानमन्त्री हुने निर्णय स्वयम् श्री ५ महेन्द्रबाट नै गरिबक्सेको थियो ।
मलाई थाहा भएसम्म बीपी पनि यस कुरामा सहमत हुनुहुन्थ्यो । खाली पार्टी खोल्न पाउनुपर्छ भन्ने बीपीको अडान, दरबारको चाहना पार्टीमा नगएर चुनाउ चिह्‍नबाट चुनाउ लडौं भन्ने थियो । अर्थात् एउटै चिह्‍नबाट अधिराज्यभरि चुनाउ लड्ने कि पार्टीको नामबाट लड्ने । यति मात्र कुरा मिलेको थिएन । अरू सबै कुरामा करीब–करीब सहमति थियो ।
यहाँ एउटा अर्को प्रसङ्ग उल्लेख गर्न चाहन्छु । बीपीको स्वर्गारोहणपछि उहाँका जेलजर्नल र आत्मवृत्तान्त दुई किताब निस्के। त्यसमा सूर्यप्रसाद उपाध्यायबारे जे लेखिएको छ, त्यसमा म सत्यता देख्तिनँ । किनभने जेलबाट छुटेपछि राजा महेन्द्रले प्रधानमन्त्री बनाउन खोज्दा पनि वहाँले खानुभएन, बाहिर रहेका सम्पूर्ण कांग्रेसी कार्यकर्ता पालेर बस्नुभयो । साथै बीपीलाई छुटाउने कुरामा पनि उहाँको प्रमुख हात थियो। यो कुराचाहिँ सत्य हो उहाँ र राजाबीच बराबर भेट भइरहन्थ्यो ।
श्री ५ महेन्द्रबाट मलाई नै पनि एक दिन हुकुम भयो, “नवराज, जुन दिन सूर्यप्रसादलाई भेट्छु, बीपीलाई छोड़ने कुरा मात्र गर्छन् । यिनले मलाई हैरान पारिसके ।” त्यस्तो प्रयास गर्ने व्यक्ति बीपीको विरोधमा थिए भन्दा मैले विश्वास गर्ने ठाउँ पाइनँ । यो किताब मेरो आफ्नै इतिहास हुँदा आफूले जानेका, बुझेका कुराका वर्णन गर्ने प्रयास गर्दा सूर्यप्रसादजीबारे पनि लेखेको हुँ ।
बीपीले छुटेकै दिन श्री ५ को दर्शन पाउनुभयो । राजाले बीपीलाई तीन महिना चुप लागेर बसिदिनुस्, सबै ठीक हुन्छ हुकुम भएको थियो । बीपीले पनि सहमति दिनुभएको थियो । तर, केही हप्तापछि नै बीपीको विराटनगरमा गएर “राजा र मेरो गर्दन जोडिएको छ” भन्ने चर्चित भाषण आयो। राजा र उहाँबीचको सम्झौता पालना भएन । “राजहठ !” राजा रिसाए ।
संविधानमा परिवर्तन केहीपछि मात्र गर्ने भन्ने भयो । प्रजातान्त्रीकरणको कुरा केही समयपछि गयो ।
आज २०६६ सालमा आएर नेपालको जुन दुर्दशा भएको छ, सबै क्षेत्रमा चाहे शान्ति-सुरक्षाको कुरा होस्, या विकासको कुरा होस्, या सामाजिक क्षेत्रको कुरा होस् या जनतालाई सुविधा दिनुपर्ने (पानी, बिजुली आदि) कुरा होस् कहीं पनि सन्तोष लिने ठाउँ छैन । बहुदल आएको पनि १८ वर्ष भैसक्यो । मुलुक जातीय नाराको कारण टुक्रिने देखेर जनता सेनाले विद्रोह (वा ‘कू’) गरिदिए हुन्थ्यो भन्न थालेका छन् ।
छिमेकी देशहरूको दबाउ बढ्दै गएको छ । आज राजसंस्था पनि छैन । किन नेपालको यो दुर्दशा– यो सबै हेर्दा राजा महेन्द्रको २०१७ को कदम पूर्णतया गलत थियो भन्न सकिने ठाउँ छ कि छैन भन्ने भविष्यले नै निर्णय गर्नेछ । तर, श्री ५ महेन्द्र एक कुशल राजनीतिज्ञ, सफल राजा, दूरदर्शी र विवेकशील होइबक्सन्थ्यो भन्ने मेरो मान्यता छ ।
राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको प्रादर्भाव श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट भयो भने यसको विकसित अवस्था श्री ५ महेन्द्रको राज्यकालमा देखियो । नेपालमा आज जुन विकासका पूर्वाधारहरू खडा छन्, तीमध्ये मुख्यमुख्य विकासका कामहरू राजा महेन्द्रकै समयमा सुरु भएका हुन्– जस्तो पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण जोड्ने मार्गहरू, चिनी कारखाना, चुरोट कारखाना, जुत्ता कारखानाहरू, मुलुकी ऐन र भूमिसुधार कार्यक्रम आदि कामहरू सञ्चालन भए । साहित्य, कला र संस्कृतिको विकास र विस्तार गर्न आफ्नो निजी खर्चमा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान खडा गरी भवन पनि बनाइबक्स्यो । हुनत यो भवन पछि चिनियाँहरूले पूरा गरे, तर प्रारम्भ त उहाँबाटै भयो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठूलो परिवर्तन आयो । उहाँले नै दाङमा संस्कृत विश्वविद्यालयको स्थापना गराई, त्रिभुवन विश्वविद्यालयको विकास र विस्तारमा जोड दिइबक्स्यो ।
यसरी शिक्षा विकास र जनताको हित हुने सबै क्षेत्रमा उहाँको समयमा काम शुरु भयो। विदेश मामलामा श्री ५ महेन्द्रबाट सकारात्मक भूमिका निर्वाह गरिबक्स्यो । असंलग्न राष्ट्रहरूको संगठन बनाई शिखर सम्मेलन गरी आफ्नो अस्तित्व कायम गर्नमा प्रधानमन्त्री पं. जवाहरलाल नेहरू, राष्ट्रपति नासेर, राष्ट्रपति सुकार्नो, राजा महेन्द्र र राष्ट्रपति अनुमाको नाम संसारमा अझै लिइन्छ । उहाँकै शासनकालमा संयुक्त राष्ट्रसंघको सुरक्षापरिषद्‍मा नेपाल सदस्य हुन सक्यो। उहाँको समयमा चीन र भारतसँगको मैत्री सम्बन्ध उच्च बिन्दुमा पुगेको थियो ।
नेपालमा आज जुन विकासका पूर्वाधारहरू खडा छन् तीमध्ये मुख्यमुख्य विकासका कामहरू राजा महेन्द्रकै समयमा शुरु भएका हुन् ।
यसरी वैदेशिक नीतिमा पनि श्री ५ महेन्द्रबाट सफलता पाइबक्स्यो । त्यही समयमा विदेशीहरूबाट धेरै योजनाहरू पनि नेपालले पायो । भारत, रुस, सबेलाइतले राजमार्गहरू बनाइदिए भने रुस सरकारले चिनी, चुरोट कारखाना बनाइदियो । चीनले जुत्ता कारखाना पनि त्यही समयमा बनाइदियो । यसरी उहाँको समयमा नेपालले स्वदेश–विदेश सबैतिर सफलता हासिल गर्न सक्यो ।
२०२५ सालको शुरुमा म गृहराज्यमन्त्री नै थिएँ। मलाई गर्दनको हाड खिइने योग (स्पोन्डोलाइटिस्) ले समात्यो । निकै दुःख पाएँ । सरकारबाट उपचार गर्न दिल्ली पठाइबक्स्यो । अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा भर्ना भएँ । श्रीमती मीरा र म दुई जना थियौं । राजदूतावासबाट राम्रै हेरचाह भएको थियो, तर अपर्झट प्रधानमन्त्री सूर्यबहादुरजीको राजीनामा आयो। मन्त्रिपरिषद् विघटन भयो । आफू पनि मन्त्रीबाट हटेँ ।
अर्को मन्त्रिपरिषद् बन्न करिब एक हप्ता ढिलो भयो । राजदूताबासबाट पनि हेरचाह हुन छोड्यो । ५/६ दिनपछि श्री गेहेन्द्रबहादुर राजभण्डारीको फोन आयो। उहाँको भनाइ थियो “नवराजजीलाई सोध्नू भन्ने हुकुम भएको छ, तपाईं व्यापार गर्ने कि नगर्ने ?” मैले बुझेँ– सरकारबाट उद्योगवाणिज्य मन्त्री बक्सन लाग्यो । जे निगाहा हुन्छ मलाई मन्जुर छ भनी जवाफ दिएँ । कीर्तिनिधि विष्टको प्रधानमन्त्रीत्वमा
भोलिपल्ट मन्त्रिमण्डल बन्यो । म उद्योगवाणिज्य मन्त्री भएँ ।
दिल्लीबाट फर्कन करिब तीन हप्ता लाग्यो । काठमाडौं पुगेको भोलिपल्टै श्री ५ बाट बेलुका दर्शनभेट बक्स्यो। सरकारबाट हुकुम भयो– “नवराज, तिमीलाई इमान्दारीसँग काम गर्छौ भन्ने विश्वासमा यो मन्त्रालय दिएँ । लामो समय तिमीले यसै मन्त्रालयमा काम गर्नुपर्छ । मेरो परिवारको दबाउ आउन सक्छ । डर नमानी काम गर । तिमीलाई अप्ठ्यारो परे मलाई खबर गर्नु । तिमीले नै भारतसँग व्यापार तथा पारवहन सन्धि गर्नुपर्छ ।”
हुन पनि यो मन्त्रालयमा करिब तीन वर्षभन्दा बढी मैले काम गरेँ । कसैको दबाउमा पनि आइनँ । मलाई कुनै दिन पनि प्रधानमन्त्रीले यो गरिदे भन्नुभएन । कीर्ति बाबुसँग काम गर्न साहै्र सजिलो थियो । कुनै कुरा सोधेमा पनि आफैं निर्णय गर्नुस्– म सरहको साथी म के भनुँ भन्नुहुन्थ्यो ।
श्री ५ अधिराजकुमार हिमालय, बसुन्धरा र श्री ५ अधिराजकुमारी हेलेन तीनै जना व्यापारमा हुँदा उहाँहरूबाट भने बराबर दबाउ आउँथ्यो । पछि अधिराजकुमार ज्ञानेन्द्र पनि थप होइबक्स्यो । राजा केही पनि नदे भन्ने तर उहाँहरूलाई पूर्ण सहुलियत चाहिने । यस्तो विषम परिस्थितिमा मैले काम गर्नुपर्‍यो ।
एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो । त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ । कुरा चल्दै गयो । राजाबाट हुकुम भयो, “मेरो भाई– छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने ? मैंले एक उद्योग गर भनेर दिएकै छ । अब अरू दिनुपर्दैन । कीर्तिनिधि, नवराजलाई बढी ‘प्रेसर’ भयो, तिमीले भन्दिनू ।”
यो कुरा प्रधानमन्त्रीले भन्नुभयो कि भएन थाहा पाइनँ तर त्यसपछि मलाई दबाउ आएन । तर, उहाँहरू पार्टीहरूमा भेट हुँदा पनि मसँग बोल्नुहुन्नथ्यो । श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध सुरुदेनि नै राम्रो भएन । पछि श्री ५ होइबक्सँदा पनि मसँग राम्रो व्यवहार हुन सकेन । यसका मुख्य दुई कारण छन्– प्रथमतः २०३८ सालमा सूर्यबहादुरजीको विरोधमा प्रधानमन्त्रीको उम्मेदवार नहुनु र दोस्रोमा ओमेगा (घडी) कारखाना थियो ।
ओमेगा (ओमेगा वाच) ले नेपालमा एक कारखाना खोल्न पाऊँ भनी प्रस्ताव पठायो । कुरा राम्रो थियो । अतः विश्व ब्यांकको वार्षिक साधारण सभाको मिटिङबाट फर्कंदा जेनेभा गई ओमेगा फ्याक्ट्री हेर्ने र कुरा पनि गर्ने भन्ने श्री ५ महेन्द्रबाट निर्देशन बक्स्यो । वाशिङ्टनबाट फर्कँदा म, भेषबहादुरजी र डा. पुष्करनाथ पन्त हामी तीन जनाले ओमेगा फ्याक्ट्री पनि हेर्‍यौं र नेपालमा फ्याक्ट्री खोल्नेबारे कुरा पनि गर्‍यौं ।
उनीहरूको एउटै मात्र शर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्दैनौं भन्ने थियो। यो शर्त मन्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालु गछौं भन्ने उनीहरूको भनाइ थियो। हामीहरूले ओमेगा जस्तो कम्पनी आउँछ भने किन नदिने भनी मन्जुर दियौं ।
तर, काठमाडौं आएपछि अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा शेयर (अंश) चाहियो, जुन कुरा मैले ठाडै इन्कार गरे। यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन । ज्ञानेन्द्र सरकार पनि मसँग रिसाइबक्स्यो । जे होस्, दरबारमा प्रधानमन्त्री र मेरो बीचमा सरकारबाट बक्सेको निर्देशनले मलाई काम गर्न सजिलो भयो ।
(पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काउन गठन गरेको संयुक्त आन्दोलन समितिका संयोजक पूर्वपञ्च ८६ वर्षीय वयोवृद्ध नवराज सुवेदीद्वारा लिखित पुस्तक ‘इतिहासको एक कालखण्ड’ बाट)

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
480 Shares