

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
ढोरपाटन। पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो । फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन । तर, पछिल्लो समय जलजला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजलामा दैनिकजसो पर्यटक पुग्न थालेका हुन् ।
ढोरपाटन उपत्यकाबाट घना जङ्गल र ठुला जँघार पार गर्दै जलजला पुग्न सकिन्छ । शान्त वातावरण र आँखै अगाडि देखिने हिमशृङ्खला हेर्नका लागि पर्यटक जलजला जाने गर्छन् । ढोरपाटन उपत्यकादेखि २२ किलोमिटर पूर्वमा रहेको जलजलामा बाह्रै महिना पर्यटक पुग्ने गरेका हुन् । ढोरबराह मन्दिर दर्शन गर्न पुग्ने दर्शनार्थीसमेत यहाँ पुग्न गरेका छन् । बर्खामा हरियाली र हिउँदमा हिउँसँग रमाउने पर्यटकका लागि जलजला उत्कृष्ट गन्तव्य बनेको छ ।
पहिले असोजदेखि आन्तरिकसहित बाह्य पर्यटक जलजला पुग्ने गरे पनि पछिल्लो समय बाह्रै महिना यहाँ आउने गरेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जानकारी दिए। ढोरपाटन उपत्यकादेखि १८ किलोमिटर सवारी साधन र चार किलोमिटर पैदल यात्रामा जलजला पुग्न सकिने उनको भनाइ छ । केही वर्ष अगाडिसम्म ओझेलमा रहेको जलजला प्रचारप्रसार र सडक सञ्जालले जोडिन थालेपछि पर्यटकको आकर्षण बढेको पुनले बताए। यो याममा दैनिक जलजला जाने पर्यटकको सङ्ख्या बढिरहेको उनको भनाइ छ । मासिक रूपमा तीन हजारको हाराहारीमा पर्यटक जलजला पुग्ने अध्यक्ष पुन बताउँछन्।जलजलाको प्रचारप्रसार बढी भएर होला, अहिले टाढा–टाढाबाट पर्यटक आउन थालेका छन्, ढोरपाटन उपत्यकाबाट बाटो सहज बनेको छ, शान्त वातावरण, अनगिन्ती हिमशृङ्खला र प्रकृतिसँग रमाउन चाहनेहरू जलजला आउँछन्”, अध्यक्ष पुनले भने, “पहिले फाट्टफुट्ट मात्रै पर्यटक जलजला पुग्थे, तर हिजोआज धेरै जान थालेका छन्, ढोरपाटनबाट बिहान गएर साँझ फर्किन सकिन्छ, यहाँबाट देखिने हिमशृङ्खलाले धेरैलाई आकर्षित गर्छ ।”यति बेला गर्मी बढेको हुँदा तराईबाट पनि घुम्न आउने बढी छन् । समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा रहेको जलजलाबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरीलगायत दुई दर्जन बढी हिमाल एकै ठाउँमा उभिएर नजिकै देख्न सकिने पुन बताउँछन् । पर्यटकको सङ्ख्या बढेपछि होटल व्यवसायसमेत फस्टाउन थालेको उनको भनाइ छ । ढोरपाटन आउने पर्यटकलाई अघिल्लो दिन नै होटलका लागि सम्पर्क गरेर आउन अध्यक्ष पुनले आग्रह गरे।भैरहवाबाट ढोरपाटन आएका सुदीप सुवेदीले जलजला निकै सुन्दर रहेको बताए। तराईमा अत्यधिक गर्मी हुँदा एक साताका लागि ढोरपाटन घुम्न आएको सुनाउँदै जलजला पुग्दा शीतलता प्राप्त भएको उनको भनाइ छ । जलजलालाई प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको भन्दै जलजलासम्म पुग्ने सडकलाई सहज बनाउन सके पर्यटक बढ्ने सुवेदीले बताए।
उनले भने, “तराईमा निकै गर्मी छ, केही दिन भए पनि शीतलता लिनका लागि ढोरपाटन जाउँ भनेर आएका थियौँ, यहाँ आएपछि होटल व्यवसायी दाइहरूले जलजलासम्म पुग्नु भन्नुभयो, सुरुमा त खासै जान मन थिएन, पछि साथीहरुसँग त्यहाँ पुग्दा निकै मन फुरुङ्ग भयो, अहिलेसम्म मेरो जीवनकालमा यति धेरै हिमाल एकै ठाउँबाट देखेको थिएन, यो ठाउँ साँच्चिकै स्वर्गभन्दा कम छैन ।”
पोखराबाट घुम्न आएका नितेश तामाङले जलजला क्षेत्र निकै मनमोहक रहेको बताए । बुर्तिबाङ बजारदेखि ढोरपाटनसम्मको सडकमा जोखिमपूर्ण यात्रा गर्दा डर लागे पनि जलजला पुग्दा छुट्टै आनन्द आउने उनको भनाइ छ । राज्यले सडक र पदमार्गलाई व्यवस्थित गर्न सके बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सकिने तामाङ बताउँछन्। ढोरपाटनसम्म पुग्ने सडक मात्रै व्यवस्थित हुन सके जलजलामा पर्यटकको भिडभाड बढ्ने उनको भनाइ छ ।
पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटक जलजलासँगै बर्खामा बुकीपाटन पनि पुग्ने गरेका छन् । उपत्यकादेखि करिब साढे चार घण्टाको पैदल यात्रामा पुग्न सकिने बुकीपाटन निकै मनमोहक छ । साँघुरो र अप्ठ्यारो पदमार्ग हुँदै पर्यटक बुकीपाटन पुग्ने गरेका छन् । यस वर्ष उद्योग तथा पर्यटन कार्यालय बागलुङले पाखाथरदेखि गर्पाछेडासम्म तीन किलोमिटर पदमार्ग निर्माण गरिरहेको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखमा पदमार्ग निर्माण भइरहेको उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पारसिंह थापाले जानकारी दिए । पर्यटकलाई बुकीपाटन पुग्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गर्न थालिएको उनको भनाइ छ ।रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



