निर्वाचन सुरक्षामा कडाइ : मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलियाद्वारा निर्वाचन प्रहरी निरीक्षण तथा निर्देशन

वीरगञ्ज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) गोबिन्द थपलियाले पर्सा जिल्लामा तालिमरत निर्वाचन प्रहरीहरूको निरीक्षण तथा ब्रिफिङ गर्नुभएको छ।
निरीक्षणका क्रममा डिआईजी थपलियाले तालिमको शिक्षण–सिकाइ प्रक्रिया, निर्वाचन आचारसंहिता पालना, तथा आसन्न निर्वाचनलाई लक्षित गरी गरिने प्रहरी परिचालन चुस्त, दुरुस्त र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्तै संवेदनशील र जिम्मेवारीपूर्ण हुने उल्लेख गर्दै कुनै पनि लापरवाही सह्य नहुने स्पष्ट निर्देशन दिनुभयो।
डिआईजी थपलियाले मातहतका सम्पूर्ण प्रहरी अधिकारी तथा कर्मचारीहरूलाई उच्च अनुशासन, आपसी समन्वय र व्यावसायिकता कायम गर्दै तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिनुभएको छ। साथै, निर्वाचन अवधिभर जनतामैत्री व्यवहार अपनाउँदै कानुनको पूर्ण पालना गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत लगायत विभिन्न इकाइका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
निरीक्षण तथा ब्रिफिङ कार्यक्रमले निर्वाचन सुरक्षाप्रति प्रहरी संगठनको तयारी र प्रतिबद्धता अझ मजबुत भएको सन्देश दिएको छ।

Facebook Comments Box
TOP
306 Shares