विकास रोक्ने शक्तिलाई निर्वाचनबाटै दण्डित गर्नुपर्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास निर्माणका काम रोक्ने र बजेट कटौती गर्ने शक्तिलाई आसन्न निर्वाचनमार्फत जनताले दण्डित गर्नुपर्ने बताएका छन्।
आइतबार झापा क्षेत्र नं–५ मा आयोजित निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार विकासप्रति अनुदार र प्रतिशोधपूर्ण ढंगले प्रस्तुत भएको आरोप लगाए। उनले एमाले नेतृत्वको सरकारले अघि बढाएका राष्ट्रिय गौरवका योजनाहरू रोकिनु दुःखद भएको उल्लेख गरे।
“यो निर्वाचन केवल सांसद छान्ने चुनाव होइन,” उनले भने, “यो विकास गर्ने कि विकास रोक्ने भन्ने निर्णय गर्ने जनमत संग्रह हो।”
अध्यक्ष ओलीले झापाको समग्र विकासका लागि एमाले सरकारले अघि सारेका ठूला परियोजनाहरू वर्तमान सरकारले रोकेको दाबी गर्दै ती योजनाहरू पुनः गतिमा ल्याउन जनमत आवश्यक रहेको बताए।
उनले विकासलाई केवल भौतिक संरचनासँग मात्र नजोडी पहिचान र स्वाभिमानसँग पनि जोडेर हेर्नुपर्ने धारणा राखे। “हामी सालिक र स्मारक बनाएर पहिचानको सम्मान गर्छौं, तर अर्कोतर्फ बनेका संरचना भत्काइन्छन्,” उनले भने, “यो सालिक बनाउने र भत्काउनेहरूबीचको लडाइँ हो। अब विकास विरोधीलाई चिन्न ढिला गर्नु हुँदैन।”
उनले मतदातालाई विकास, स्थायित्व र समृद्धिको पक्षमा स्पष्ट निर्णय लिन आह्वान गर्दै आगामी निर्वाचनलाई भविष्यको मार्गनिर्देशन गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रित गरे।

Facebook Comments Box
TOP
229 Shares