पानभन्दा ‘साली राम्री’ टिप्पणीपछि एपीएफका डिआइजी कुँवर विवादमा

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का लुम्बिनी प्रदेश डिआइजी दिपेन्द्र कुँवर सामाजिक सञ्जालमा भाइरल भएको एक टिकटक भिडियोका कारण विवादमा तानिएका छन्।

सशस्त्र प्रहरी बलको ३० नम्बर हेडक्वार्टरको वार्षिकोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुन नेपालगञ्ज पुगेका कुँवर चैत २० गते राति धम्बोजी चोकमा पान खाँदै गरेको भिडियो सार्वजनिक भएपछि आलोचनामा परेका हुन्। भिडियोमा उनीसँग नेपाल पत्रकार महासंघ, बाँके शाखाकी उपाध्यक्ष महारानी शाह र गणपति भीमबहादुर चन्द पनि देखिन्छन्।

भिडियोअनुसार शाहले ‘भिनाजु, पान कस्तो लाग्यो?’ भनेर सोध्दा कुँवरले ‘पानभन्दा साली राम्री लाग्यो’ भन्दै जवाफ दिएका छन्। त्यसपछि शाहले पनि ठट्टाकै शैलीमा प्रतिक्रिया दिएकी छन्। भिडियोमा उनले कुँवरलाई त्रिभुवन चोकमा विभिन्न परिकार खुवाउने र १५ हजार रुपैयाँ दिने कुरा समेत गरेको सुनिन्छ।

उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। सार्वजनिक पदमा रहेका उच्च अधिकारीबाट यस्तो अभिव्यक्ति आउनु अनुचित भएको भन्दै धेरैले प्रश्न उठाएका छन्।

यता, स्रोतका अनुसार कुँवरको व्यवहारप्रति आन्तरिक रूपमा पनि असन्तुष्टि बढ्दो छ। ‘डिआइजीको पारा यस्तो छ, अरूले के सिक्ने?’ भन्ने टिप्पणीसमेत सार्वजनिक भएको छ।

उक्त घटनाको भोलिपल्ट भने कुँवर सोही हेडक्वार्टरको वार्षिकोत्सव कार्यक्रममा सहभागी भई सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आपसी समन्वय र पेशागत दक्षता आवश्यक रहेको बताएका थिए।

घटनाबारे सशस्त्र प्रहरी बलको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।

Facebook Comments Box
TOP
215 Shares