सुकुमबासी आन्दोलनमा विप्लव माओवादीको समर्थन, वैकल्पिक बसोबासको माग तीव्र

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले सुकुमबासीहरूले थालेको आन्दोलनप्रति खुलेर समर्थन जनाएको छ।

पार्टीका प्रवक्ता प्रकाण्ड ‘सी’ले बुधबार जारी गरेको विज्ञप्तिमा भूमिहीन र सुकुमबासीहरूको पक्षमा भइरहेको आन्दोलनलाई न्यायोचित ठहर गर्दै सबै पक्षलाई उक्त अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्। उनले राज्यले विस्थापित गरिएका नागरिकहरूलाई तत्काल वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्ने र दीर्घकालीन रूपमा भूमि अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

विज्ञप्तिमा बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिकाले सुकुमबासी बस्तीमा डोजर प्रयोग गरी हटाउने कार्य गरेको भन्दै त्यसप्रति कडा आपत्ति जनाइएको छ। पार्टीले यस किसिमको कदमलाई मानवअधिकार विपरीत भएको आरोप लगाउँदै तत्काल रोक्न माग गरेको छ।

सरकारले वैशाख १२ गतेदेखि देशभर सुकुमबासी बस्ती हटाउने अभियान तीव्र बनाएको छ। यस कदमले प्रभावित समुदायमा असन्तोष बढिरहेको बेला विप्लव नेतृत्वको माओवादीको समर्थनले आन्दोलन थप सशक्त बन्ने संकेत देखिएको छ।

Facebook Comments Box
TOP
15 Shares