धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग

बाँके । बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बनाइएको हो ।ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी पर्यटनमार्गको परिकल्पना गरिएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिए ।उनका अनुसार उक्त पर्यटनमार्ग राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं ३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं ४ स्थित वर्फानी बाबा, वडा नं ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगन्जको बागेश्वरी मन्दिरसम्म पुर्‍याउने योजना छ ।कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थल हुँदै गाभर क्षेत्रमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी मार्ग तय गरिएको ढकालले बताए । उक्त मार्ग निर्माणलाई योजनाबद्ध तरिकाले अगाडि बढाउन मदन भण्डारी धार्मिक पर्यटनमार्ग संरक्षण तथा प्रवर्द्धन समिति गठन गरिएको छ । जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्ग निर्माणको योजना बनाएर काम सुरु गरिएको समितिका अध्यक्ष खिलराज भुसालले बताए। “कतिपय ऐतिहासिक मठमन्दिरको संरक्षण नहुँदा जीर्ण भएका छन् भने प्रचारप्रसार नहुँदा जिल्लावासीलाई धार्मिक पर्यटकीयस्थल बारे जानकारी छैन”, उनले भने, “पर्यटनमार्ग निर्माण पश्चात् त्यस्ता धार्मिकस्थलको संरक्षण हुनाका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ ।”पर्यटनमार्ग निर्माण गरी प्रचार–प्रसार गर्दा एकैपटक धेरै धार्मिकस्थलको अवलोकन गर्न सकिने भएकाले यसले पर्यटन प्रवर्द्धनमा सकरात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवर्द्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । धार्मिक पर्यटनमार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँ–गाउँसम्म पुर्‍याउनुका साथै समाजलाई बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीको भनाइ थियो । उनले गाभरको पारिजात बगानलाई उक्त मार्गले समेट्ने भएपछि समग्र गाभरको विकासमा सघाउ पुग्ने अपेक्षा गरे।  बाँकेका ग्रामीण क्षेत्रमा सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानीलगायत धार्मिक क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन् भने नेपालगन्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ ।

Facebook Comments Box
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१७ घण्टा अगाडि

1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…

TOP
Shares