

पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या
कास्की । पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत हो । खोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानी वितरणमा समस्या परेको छ ।
नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी पुर्याउन गाह्रो परेको सूचना जारी गरिसकेको छ । खडेरीका कारण हाल भइरहेको पानी उत्पादनमा कमी आएकाले पोखरा महानगरभित्र कतिपय स्थानमा पानी वितरणमा समस्या आएको सूचनामार्फत जानकारी दिइएको छ । हाल उत्पादन भइरहेको पानी आपूर्ति नभएका क्षेत्रमा आलोपालो गरी वितरणका लागि संस्थान प्रयासरत रहेकाले अनावश्यक पानी खर्च नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।पोखरामा ल्याउने पानीको सतह घटेको संस्थानका वितरण प्रमुख सबइञ्जीनियर लक्ष्मण पाण्डेले जानकारी दिए। “गर्मी सुरु भयो, खोलाको पानी ८० प्रतिशत घटेको छ”, उनले भने, “हाम्रो पानीको स्रोत भनेको ८० प्रतिशत मर्दी नै हो । त्यसपछि भोटीखोला, कालीखोला, बालधारा र बोरिङ हो । यी स्रोतमा पानी घटेका कारण हामीलाई समस्या भएको हो ।”खानेपानीको समस्याबारे जानकारी गराउन बिहीबार संस्थानको कार्यालय नै पुग्नुभएका पोखरा महानगरपालिका–१३ का भीमबहादुर गुरुङ पनि हैरानीमा छन् । “मैले घर बनाएको पाँच वर्ष भयो, पानीको समस्या त पहिलादेखि नै हो । मैले महिनामा एक हजार लिटर पानी ट्याङ्करबाट मगाउँथे”, उनले भने, “पछिल्लो दुई हप्तादेखि पानी नै आएको छैन, अहिले त झनै समस्या परेको छ ।” खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानको वितरण शाखाका कर्मचारी राजेश थापाले बताए । घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको उनले सुनाए । “खानेपानीको समस्या पर्यो भन्दै पहिला पनि समस्या नआएको होइन, तर पछिल्ला दिनमा अधिक फोन आउने गरेको छ”, उनले भने ।
मुहानमा पानीको सतह घट्नु एउटा कारण भए पनि खानेपानीको नयाँ प्रोजेक्ट परीक्षणको कामले पनि खानेपानी वितरणमा समस्या भएको सबइञ्जीनियर पाण्डेले बताए । “हामी सात–आठ दिनअघि सूचना जारी गरेरै पोखरा आउने १६ र २० इन्चको पाइप पूर्णरूपमा बन्द गरेका थियौँ”, उनले भने, “किनभने जापान सहयोग नियोग (जाइका)ले बनाएको ग्रिड च्याम्बर र ट्याङ्कीमा पानी जम्मा गर्न हाम्रो पाइपको कनेक्सन टुटाएर त्यता जोडिएको थियो ।” सोही कामका लागि सोमबार पुनः पानी पाइप बन्द गरिने उनले बताए ।
सोमबारदेखि पनि पानी वितरणमा समस्या हुने भएकाले उपभोक्तालाई अनावश्यक पानी खर्च नगर्न आग्रह गरिएको छ । आफूलाई जस्तै पानीको महत्व अरुलाई पनि छ भन्ने महसुस गरी अनावश्यकरूपमा धारा खुला नराखीदिन, मोटर प्रयोग नगरिदिन पानीको सही सदुपयोग गरिदिन संस्थानले आग्रह गरेको छ ।
हाल पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको कार्यालय प्रमुख आशिष कार्कीले जानकारी दिए । जसमा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको छ । पोखरामा संस्थानका छवटा खानेपानी ट्याङ्की छन् । जसमध्ये विन्ध्यवासिनीमा ४० लाख लिटर, माटेपानीमा साढे चार लाख लिटर, बालधारामा एक लाख २० हजार लिटर, खहरेमा एक लाख लिटर क्षमताका ट्याङ्की छन् । यीबाहेक अमला बिसौनी र लभ्लीडाँडाको ट्याङ्कीबाट पनि पानी वितरण भइरहेको छ । पोखरामा संस्थानबाट करिब ४८ हजार धारा जडान भएका छन् ।
पोखरामा बढ्दो सहरीकरणसँगै खानेपानीको समस्या रहेको प्रमुख कार्कीको भनाइ छ । उनका अनुसार पोखरामा वार्षिक तीन हजार नयाँ धारा जडान हुने गरेका छन् । नयाँ धारा जडान आधारमा हरेक वर्ष थप ३० लाख लिटर पानी आवश्यक पर्ने उनले बताए । अबको पाँच वर्षमा अहिले बनिरहेको जाइकाको आयोजना सकिएपछि पनि खानेपानी पु¥याउन समस्या पर्ने कार्कीको आकलन छ ।
भविष्यमा हुनसक्ने खानेपानीको समस्याका विषयमा अहिले नै सोच्नुपर्ने प्रमुख कार्कीले बताए । खानेपानीको समस्या हल गर्न यही वर्ष पोखरा–७ र १४ मा थप दुई नयाँ बोरिङको काम भइरहेको छ । पोखरामा अहिले आठ ठाउँमा बोरिङबाट पनि पानी वितरण हुँदै आएको छ ।रासस
समाज
थप सामाग्री-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
१९ घण्टा अगाडि
1.6kViews 200 Shares Share on Facebook Share on Twitter झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा…



