

नेपालगञ्ज बसपार्क क्षेत्रमा यौन व्यवसाय फस्टाउँदै, प्रहरीको संरक्षणको आरोप

नेपालगञ्ज । पछिल्ला महिनाहरूमा बाँकेको नेपालगञ्ज सहर विशेषगरी बसपार्क क्षेत्र यौन व्यवसायको केन्द्र बन्दै गएको भन्दै स्थानीय बासिन्दा, सामाजिक अभियन्ता र सरोकारवाला निकायहरू गम्भीर चिन्तित बनेका छन्। स्थानीयहरूका अनुसार केही होटल, लज र रेष्टुरेन्टहरूमा खुलेआम यौन व्यवसाय सञ्चालन भइरहेको छ, र त्यसमा प्रहरीको मिलेमतो रहेको आरोप लगाइएको छ।
स्रोतहरूका अनुसार आर्थिक अभाव, बेरोजगारी, र पारिवारिक समस्याका कारण कतिपय महिला तथा किशोरीहरू यौन व्यवसायमा संलग्न हुन बाध्य छन्। नेपालगञ्जमा क्रियाशील एक गैरसरकारी संस्थाकी कार्यक्रम संयोजक माया थापा भन्छिन्, “हामीले पछिल्लो एक वर्षमा मात्रै ५० भन्दा बढी महिलालाई यौन व्यवसायबाट उद्धार गरेका छौं। धेरैजसो महिला आर्थिक समस्याका कारण त्यसमा फसेका थिए।”
स्थानीय बासिन्दाको गुनासो : “प्रहरीको आँखै अगाडि अवैध काम”
नेपालगञ्ज बसपार्क नजिकैका स्थानीय व्यापारी रामजी साह भन्छन्, “हामीले पटक–पटक उजुरी दिएका छौं, तर प्रहरीले ठोस कारबाही गरेको देखिँदैन। केही होटलहरूमा रातिको समयमा अवैध गतिविधि हुने गरेको हामीले आफ्नै आँखाले देखेका छौं।”
उनका अनुसार यस्ता कार्यहरू प्रहरीको निगरानीमै भइरहेका छन्, तर संलग्न व्यक्तिहरू सजिलै छुट्ने गरेका छन्। बसपार्क आसपासका महिलाहरूले पनि साँझपख असुरक्षा बढेको गुनासो गरेका छन्। एक महिला बासिन्दा भन्छिन्, “बसपार्क वरिपरि किशोरीलाई छेडछाड, नशालु व्यक्तिको भीड र यौन प्रस्ताव खुलेआम भइरहेका छन्। हामी डराउँदै हिंड्नुपर्छ।”
‘नजराना’ उठाउने आरोप
स्थानीय स्रोतका अनुसार बसपार्क, न्यूरोड, कारकाँदो, गुलरिया रोड लगायत क्षेत्रका केही होटल र रेष्टुरेन्टहरूमा प्रहरीकै संरक्षणमा युवती राखेर यौन अखडा चलाउने गरिएको छ।
एक होटल सञ्चालकका अनुसार, “प्रहरीलाई मासिक पाँच हजारदेखि पच्चीस हजार रूपैयाँसम्म बुझाएर काम गर्न दिइन्छ। हाम्रो होटलले मात्रै मासिक १५ हजार बुझाउँछ।”
स्रोतहरूले दाबी गरेका छन् कि ती रकम उठाउने जिम्मेवारी प्रहरी पोष्ट बसपार्क (विद्युत) लाई दिइएको छ। “तोकिएको रकम नदिएमा छापा मार्ने धम्की दिइन्छ, रकम बुझाएपछि भने सबै ठिक,” स्रोतले भने।
स्वास्थ्य जोखिम र सामाजिक असर
चिकित्सकहरूको चेतावनी छ—यौन व्यवसाय नियन्त्रण नभए नेपालगञ्जमा यौनजन्य रोग (STI) को जोखिम बढ्न सक्छ। बर्दिया अस्पतालका एक चिकित्सकका अनुसार, “सुरक्षित यौन सम्बन्धको कमी र सचेतनाको अभावले संक्रमण फैलन सक्ने सम्भावना बढेको छ।”
प्रशासनको प्रतिक्रिया
बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख नवराज पन्थी भन्छन्, “हामीले केही गेष्टहाउसहरूमा कारबाही गरिसकेका छौं। यो केवल कानुनी होइन, सामाजिक समस्या पनि हो, त्यसैले सबै निकायको सहकार्य आवश्यक छ।”
उता, बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले भने आरोप अस्वीकार गर्दै प्रतिक्रिया दिएका छन्, “प्रहरी नियमित रूपमा अनुगमन गरिरहेको छ। प्रहरी संलग्न भएको प्रमाण भेटिएमा कडा कारबाही हुन्छ।”
दीर्घकालीन समाधानको आवश्यकता
विशेषज्ञहरूका अनुसार यौन व्यवसाय नियन्त्रणका लागि केवल छापा वा कारबाही पर्याप्त छैन। युवतीहरूलाई रोजगारमा जोड्ने, शिक्षा पहुँच विस्तार गर्ने र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ।
सामाजिक अभियन्ता थापाको भनाइमा, “यो समस्या केवल नैतिक होइन, सामाजिक–आर्थिक असमानतासँग पनि जोडिएको छ। राज्य, प्रहरी, स्थानीय तह र नागरिक समाजको सहकार्यबिना यसको समाधान सम्भव छैन।”
अन्ततः
नेपालगञ्जको बसपार्क क्षेत्र यौन व्यवसायको केन्द्र बन्दै गएको आशंका गम्भीर विषय हो। यदि समयमै नियन्त्रणका प्रभावकारी पहल नलिए, यो समस्या केवल कानूनको दायराभित्र सीमित नरही समाजिक, स्वास्थ्य र सुरक्षागत संकटमा रूपान्तरित हुन सक्ने चेतावनी सरोकारवालाहरूले दिएका छन्।
समाज
थप सामाग्री-
आज्ञ भदौ ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
पेटी ठेक्काको आडमा ठगीको साम्राज्य : हर्क श्रेष्ठमाथि निष्पक्ष छानबिन अब अनिवार्य
-
आज भदौ ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
४ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष धनको मामिलामा राहत मिल्नेछ। आफ्नो कामको कदर हुनेछ। आफन्तसँगको भेटघाटले…





