जेनजी आन्दोलनपछिनेपाल प्रहरीका एसपीबाट एसएसपी बढुवामा अन्योल, योग्य अधिकृत निराश

काठमाडौं । नेपाल प्रहरीभित्र एसपीबाट एसएसपीमा बढुवाको विषय फेरि विवाद र असन्तोषको केन्द्रमा पुगेको छ। जेनजी आन्दोलनपछि संगठनभित्रको मनोबल उकास्नुपर्ने बेला उल्टै बढुवा प्रक्रिया अन्योलग्रस्त बन्दा दर्जनौँ योग्य अधिकृत निराश बनेका छन्।
व्याचीहरू बढुवा भएर महत्वपूर्ण जिल्ला र ब्युरोको कमाण्ड सम्हालिसक्दा पनि कतिपय अधिकृत भने अझै ‘लाइन’मै अड्किएका छन्। यसको ज्वलन्त उदाहरण हुन्—काठमाडौं प्रहरी परिसरका प्रमुख रमेश थापा। थापाले चार महिनादेखि परिसर कमाण्ड गरिरहेका छन्, तर उनको बढुवा भएको भने आधा वर्षभन्दा बढी भइसकेको छ। उनीसँगैका व्याची अधिकृतहरू अझै पनि एसएसपी बढुवाको पर्खाइमा छन्।
नेपाल प्रहरीमा हाल १० एसएसपी पदका लागि बढुवा प्रक्रिया अघि बढाइएको छ। अर्थ मन्त्रालयले तीन एसएसपी दरबन्दी थप्न स्वीकृति दिएपछि संख्या १० पुगेको हो। केही दिनभित्रै मन्त्रिपरिषद् बैठकले दरबन्दी स्वीकृत गर्ने तयारी भए पनि बढुवा प्रक्रिया भने ढिलाइ र शक्ति–सन्तुलनको खेलमा अल्झिएको देखिन्छ। अहिले प्रहरी संगठनमा ७ एसएसपी पद रिक्त छन्।
यी १० पदका लागि १७ जना प्रतिस्पर्धी मैदानमा छन्। तीमध्ये ३ जना विभागीय र १४ जना खुला प्रतिस्पर्धाबाट आएका इन्स्पेक्टर ब्याचका अधिकृत हुन्। बढुवाको दौडधुप तीव्र भए पनि निष्पक्षता र समयमै निर्णय हुनेमा अधिकृतहरू आश्वस्त छैनन्।बढुवाको सूचीमा पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रो नम्बरमा भुवनेश्वर तिवारी छन्। शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् भने तिवारी २०५५ सालमा असईबाट सेवा प्रवेश गरेका अधिकृत हुन्। तिवारी हालका आईजीपी दानबहादुर कार्कीका जिल्लावासी पनि हुन।
रिक्त एसएसपी पदका लागि तेस्रो नम्बरमा ऋषिराम कँडेल, चौथोमा एसपी सुरेश काफ्ले छन्। काफ्ले नेपाल प्रहरीभित्र संगठन चलाउने क्षमता, कार्यक्षमता र व्यावसायिक निष्ठाका कारण ‘अब्बल अफिसर’का रूपमा चिनिन्छन्। त्यसैगरी पाँचौँ नम्बरमा अमरेन्द्रबहादुर सिंह छन्, जो लामो समय युएन मिसनमा खटिए पनि हालसम्म जिल्ला कमाण्ड पाउन सकेका छैनन्। छैटौँ नम्बरमा श्यामसिंह चौधरी छन्।
यसपछि क्रमशः नकुल पोखेल, पदमबहादुर बिष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही रहेका छन्। सिलवाल बारा–पथलैया ट्राफिकमा रहँदा विवादमा मुछिएका अधिकृत हुन्।
२०५८ साउन १८ को खुला इन्स्पेक्टर ब्याचका २५ भन्दा बढी अधिकारी एसएसपी भइसकेका छन्, तर सोही ब्याचका केही अधिकृत भने अझै बढुवाको पर्खाइमा छन्। भुवनेश्वर तिवारी त डीएसपी बढुवादेखि नै पछि पारिँदै आएको आरोप आफन्त र सहकर्मीहरू नै गर्छन्। उनी २०६९ फागुन १३ मा डीएसपी भएका हुन्, जबकि उनका अधिकांश व्याची अहिले एसएसपी मात्र होइन, डिआइजी लाइनमा पुगिसकेका छन्।
२०८१ माघमा भएको पछिल्लो बढुवामा रमेश थापा, अजय केसी, अनुपमसमशेर जबरा, वीरबहादुर बूढा मगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होविन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोविन्द अधिकारी, विनोद सिलवाललगायत २५ जना एसपी एसएसपी बनेका थिए। तीमध्ये थापा काठमाडौं प्रहरी प्रमुख, अधिकारी उपत्यका ट्राफिक, कोइराला लागूऔषध नियन्त्रण ब्युरो, बोगटी ललितपुर, पंगेनी मानव बेचबिखन अनुसन्धान ब्युरो र श्रेष्ठ सीआईबीमा कार्यरत छन्। अजय केसी साइबर ब्युरोमा छन्।
प्रश्न स्पष्ट छ—
योग्यता, कार्यक्षमता र वरिष्ठताका आधारमा बढुवा गर्ने कि पहुँच, भागबण्डा र ‘लाइन मिलाउने’ संस्कारलाई निरन्तरता दिने?
जेनजी आन्दोलनले प्रहरी संगठनलाई गम्भीर आत्मसमीक्षाको मोडमा ल्याएको बेला बढुवामा हुने ढिलासुस्ती र विवादले संगठनको मनोबल थप खस्किँदै गएको छ। यदि समयमै निष्पक्ष र पारदर्शी निर्णय भएन भने, यो असन्तोष भोलि संगठनकै लागि ठूलो चुनौती बन्ने संकेत स्पष्ट देखिन थालेको छ।

Facebook Comments Box
TOP
375 Shares