दलीय प्रभाव अन्त्य गर्दै योग्यता–आधारित प्रणाली लागू गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं ।प्रधानमन्त्री बालेन शाहले शिक्षालय र कर्मचारीतन्त्रमा लामो समयदेखि जरा गाडेको दलगत प्रभाव अन्त्य गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारी संगठनहरूलाई दलगत नियन्त्रणबाट मुक्त गर्दै प्रणालीगत सुधारतर्फ सरकार अगाडि बढिसकेको स्पष्ट पारे। उनका अनुसार विगतमा यस्ता संगठनहरू राजनीतिक दलका “स्लिपर सेल” जस्तै प्रयोग हुँदै आएका थिए, जसले योग्यता, क्षमता र पेशागत मर्यादालाई कमजोर बनाएको थियो।

प्रधानमन्त्री शाहले अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता हुने स्पष्ट पार्दै प्रशासनिक सुधारमा सरकार कडाइका साथ अघि बढ्ने संकेत दिए।

उनले शिक्षालयमा दलगत झण्डा र कर्मचारीतन्त्रमा दलगत झोला निषेध गर्ने नीति लागू गरिने जानकारी दिँदै यसलाई अधिकार कुण्ठित गर्ने कदम नभई पेशागत स्वतन्त्रता सुदृढ गर्ने प्रयास भएको बताए।

विद्यार्थीहरूले राजनीति सिक्नुपर्ने तर त्यो “सभ्य, विचारशील र जिम्मेवार” हुनुपर्नेमा जोड दिँदै उनले कर्मचारीहरूले कुनै दल विशेषको होइन, जनताको सेवामा समर्पित हुनुपर्ने धारणा राखे।

सरकारले उक्त सुधार अध्यादेशमार्फत लागू गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यो कदम कुनै पार्टीविरुद्ध लक्षित नभई प्रणाली सुधार र देशलाई संस्थागत मार्गमा अघि बढाउने दीर्घकालीन प्रयास भएको स्पष्ट पारे।

Facebook Comments Box
TOP
400 Shares