

जागिर छाडेर कोरिया पुगेका प्रहरी सई बढुवामा सिफारिस, नेपाल प्रहरीको बढुवा प्रणालीमै गम्भीर प्रश्न
काठमाडौं । नेपाल प्रहरीको बढुवा प्रणालीमा गम्भीर त्रुटि र प्रशासनिक लापरबाही उजागर भएको छ। दुई महिनाअघि नै जागिर छाडेर वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगिसकेका एक प्रहरी कर्मचारीलाई हालै प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरिएको घटना सार्वजनिक भएपछि प्रहरी मुख्यालयको अभिलेख तथा बढुवा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।
प्रहरी स्रोतका अनुसार प्रहरी सहायक निरीक्षक (असई) जोसेफ तावा दुई महिनाअघि नै सेवाबाट अलग भई वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गइसकेका थिए। तर, प्रहरी प्रधान कार्यालयले गत साता सार्वजनिक गरेको बढुवा सिफारिस सूचीमा उनको नाम समेत समावेश गरेको छ।
अझ रोचक पक्ष के छ भने, प्रहरी प्रधान कार्यालयले नै गत असार १० गते तावालाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाउँदै सार्वजनिक सूचना जारी गरेको थियो। तर, उक्त सूचनाको दुई दिनपछि नै उनलाई बढुवाका लागि सिफारिस गरिएको देखिएको छ।
प्रहरी स्रोतका अनुसार जागिरबाट हटाउने प्रक्रिया औपचारिक रूपमा टुंगोमा नपुग्दा उनको विवरण प्रहरीको विद्युतीय प्रणालीमा सक्रिय अवस्थामै रहेको थियो। सोही त्रुटिपूर्ण अभिलेखका आधारमा उनी बढुवा सिफारिसमा परेका हुन्।
यो घटनाले नेपाल प्रहरीको कर्मचारी अभिलेख व्यवस्थापन, बढुवा प्रणाली तथा आन्तरिक समन्वयको अवस्था कति कमजोर छ भन्ने प्रश्न खडा गरेको छ। सेवाबाट हटाउने प्रक्रियामा रहेका कर्मचारीको विवरणसमेत अद्यावधिक गर्न नसक्ने अवस्था देखिएपछि प्रहरी संगठनभित्रको प्रशासनिक प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लापरबाही सार्वजनिक भएपछि बढुवाको अन्तिम निर्णयअघि तावाको नाम सूचीबाट हटाउने तयारी भइरहेको छ।
झापाको हल्दीबारी घर भएका असई जोसेफ तावा ताप्लेजुङस्थित प्रहरी चौकी सिवामा कार्यरत थिए। उनी वैशाख १६ गतेदेखि गैरहाजिर भएपछि सेवाबाट हटाउने प्रक्रिया अघि बढाइएको थियो। तर, सोही प्रक्रियाकै बीच उनी बढुवा सिफारिसमा पर्न सफल हुनु नेपाल प्रहरीको प्रशासनिक संयन्त्रका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





