काठमाडौंमा सवारीसाधनमा कालो सिसा हटाउने देशव्यापी अभियान सुरु

काठमाडौं । सवारीसाधनमा जडान गरिएका कालो सिसा (टिन्टेड ग्लास) विरुद्ध नेपाल प्रहरीले देशव्यापी अभियान सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका ट्राफिक तथा राजमार्ग सुरक्षा कार्यालयलाई सार्वजनिक र निजी दुवै सवारीसाधनमा प्रयोग भएका कालो सिसा हटाउन निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले मंगलबार सबै प्रदेश र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई अभियान प्रभावकारी रूपमा कार्यान्वयन गर्न सर्कुलर पठाएको जनाएको छ ।

प्रहरीका अनुसार कालो सिसाका कारण अपराध अनुसन्धान, सुरक्षा निगरानी तथा ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको भन्दै देशभर एकरूप रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

यसअघि काठमाडौं उपत्यकामा सुरु गरिएको अभियानअन्तर्गत असार १५ गते गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सरकारी सवारीसाधनबाट समेत कालो सिसाका स्टिकर हटाइएको थियो । त्यस्तै मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीबाट पनि कालो सिसा हटाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले असार १४ गतेदेखि निजी तथा सार्वजनिक सवारीमा जडान गरिएका कालो सिसा हटाउने अभियान सुरु गरेको थियो । हाल स्टिकर हटाउने कार्यलाई प्राथमिकता दिइएको छ भने कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीका हकमा सिसा परिवर्तन गर्ने विषयमा गाडी बिक्रेता कम्पनीहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
262 Shares