इन्धन मूल्य घटेपछि बजारमा अभाव, अनुगमनका लागि आयल निगमद्वारा तीन टोली परिचालन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेपछि काठमाडौंसहित देशका विभिन्न स्थानमा इन्धनको अस्थायी अभाव देखिएको छ। धेरै पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर बिक्री बन्द गरेपछि नेपाल आयल निगमले अनुगमनका लागि तीन वटा टोली परिचालन गरेको छ।

नेपाल आयल निगमले मंगलबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँ मूल्य घटाएको थियो। स्वचालित मूल्य प्रणालीअनुसार प्रत्येक अंग्रेजी महिनाको १५ र अन्तिम दिन मूल्य समायोजन गर्ने व्यवस्थाअनुसार नयाँ मूल्य लागू गरिएको हो।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने निश्चित भएपछि सम्भावित नोक्सानीबाट बच्न धेरै पेट्रोल पम्पले डिपोबाट इन्धन नउठाएकाले बजारमा अस्थायी अभाव देखिएको हो।

बजारमा इन्धन अभाव देखिएपछि निगमले काठमाडौं उपत्यकामा तीन वटा अनुगमन टोली परिचालन गरेको जनाएको छ। टोलीलाई सम्बन्धित पेट्रोल पम्पमा पुगेर अवस्था निरीक्षण गर्ने तथा पर्याप्त इन्धन हुँदाहुँदै पनि वितरण नगरेको वा अनावश्यक रूपमा बिक्री बन्द गरेको पाइए आवश्यक कारबाही, आवश्यक परे पम्प सिल गर्ने निर्देशन दिइएको छ।

प्रवक्ता ठाकुरले उपत्यकाबाहिरका प्रादेशिक कार्यालयलाई पनि अनुगमन तीव्र बनाउन निर्देशन दिइएको जानकारी दिँदै हाल देखिएको समस्या अस्थायी भएको बताए। उनका अनुसार पम्पहरूले पुनः मागअनुसार इन्धन उठाउन थालेकाले आज साँझ वा भोलिसम्म बजारको अवस्था सामान्य हुने अपेक्षा गरिएको छ।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अमेरिका–इरान तनावअघिकै स्तरमा फर्किएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
200 Shares