कान्तिलोकपथमा फेरि पहिरो, भर्‍याङडाँडामा सडक अवरुद्ध; ठिंगन खण्ड सञ्चालनमा

मकवानपुर । लगातारको वर्षासँगै मकवानपुरमा कान्तिलोकपथअन्तर्गत दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सोमबार रातिदेखि अवरुद्ध बनेको सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षा र ठूलो पहिरोका कारण यातायात सञ्चालनमा समस्या भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब १२:३० बजे बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्तिलोकपथ सडकखण्डमा सडकमाथिबाट ढुंगासहित ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। प्रहरी र सडक डिभिजन कार्यालयको समन्वयमा गरिएको प्रयासपछि उक्त स्थानको पहिरो मंगलबार बिहान करिब ६:३० बजे हटाएर सडक सञ्चालनमा ल्याइएको छ।

तर, भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा खसेको अर्को ठूलो पहिरोका कारण सडक अझै अवरुद्ध रहेको छ। ठिंगन खण्ड सञ्चालनमा आए पनि भर्‍याङडाँडाको पहिरो नहटेकाले कान्तिलोकपथ भएर सवारी आवागमन हुन नसकेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरीका अनुसार पहिरो खसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक अर्जुन बरुवालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो हटाउने कार्य सुरु गरिएको थियो।

हाल भर्‍याङडाँडास्थित पहिरो हटाउने काम जारी रहे पनि पहिरोको परिमाण ठूलो भएकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। यस क्षेत्रमा अझै सिमसिमे वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिमसमेत रहेको छ।

काठमाडौं र हेटौँडालाई जोड्ने महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा रहेको कान्तिलोकपथ अवरुद्ध भएपछि यस सडकमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। प्रहरीले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

प्रहरीले वर्षायाममा पहिरोको जोखिम उच्च रहने भएकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

Facebook Comments Box
आज असार १६ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
१४ घण्टा अगाडि

1.6kViews 390 Shares Share on Facebook Share on Twitter मेष अरूको भर परेर काम गर्दा हानि हुन सक्छ, सचेत रहनुहोस्।…

TOP
431 Shares