लाहोरमा निर्माणाधीन भवनको छत भत्किँदा १४ बालबालिकाको मृत्यु, उद्धार कार्य जारी

एजेन्सी । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

प्रहरीका अनुसार भग्नावशेषमा थप बालबालिका फसेको आशंकामा उद्धार कार्य जारी रहेको छ। घटनापछि शिक्षण केन्द्रका सञ्चालक र अर्का एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वरिष्ठ प्रहरी अधिकारी फैसल कामरानका अनुसार पुरानो भवनमा सञ्चालन भइरहेको शिक्षण केन्द्रको निर्माणाधीन दोस्रो तलाको छत कमजोर निर्माणका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घाइते बालबालिकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

छत भत्किएलगत्तै एम्बुलेन्स, सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा पुगेका थिए। स्थानीय बासिन्दाले पनि बेलचा र खाली हातको सहायताले भग्नावशेष हटाउँदै उद्धार कार्यमा सहयोग गरेका थिए।

घटनापछि अस्पताल र शिक्षण केन्द्र आसपास शोकको वातावरण छाएको छ। अधिकांश मृतक स्थानीय बासिन्दाका सन्तान भएकाले उनीहरूको अन्त्येष्टिको तयारी गरिएको छ।

स्थानीयवासीले असुरक्षित तथा जीर्ण भवनमा कक्षा सञ्चालन गरेको आरोप लगाउँदै शिक्षण केन्द्रका सञ्चालकमाथि कडा कारबाहीको माग गरेका छन्।

यस घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता दुर्घटना दोहोरिन नदिन सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
413 Shares