कालो सिसाविरुद्धको कारबाही नयाँ होइन, कानुन कार्यान्वयन मात्र हो : एसएसपी सुरेश काफ्ले

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले सवारीसाधनमा अवैध रूपमा जडान गरिएको कालो (टिन्टेड) सिसाविरुद्धको कारबाही नयाँ नियम नभई विद्यमान कानुनको कार्यान्वयन मात्र भएको स्पष्ट पारेका छन्।

उनका अनुसार सवारीसाधनको कालो सिसासम्बन्धी कारबाही गर्ने अधिकार यातायात व्यवस्था विभागले प्रदेश यातायात कार्यालयलाई हस्तान्तरण गरिसकेको छ। त्यसैले हाल बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १३६ अनुसार कारबाही भइरहेको उनले बताए।

ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ तथा सर्वोच्च अदालतको २०६७ माघ २६ गतेको आदेशले पनि अनुमति बिना रङ्गीन वा कालो सिसा प्रयोग गर्न निषेध गरेको जनाएको छ।

विशेष कारणले रङ्गीन वा कालो सिसा प्रयोग गर्नुपर्ने अवस्थामा यातायात व्यवस्था विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। ट्राफिक प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार नियमविपरीत कालो सिसा प्रयोग गर्ने सवारीसाधनलाई कसुरको प्रकृतिअनुसार ७ हजार ५०० देखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिँदै आएको छ।

एसएसपी काफ्लेले सडक सुरक्षा सुदृढ बनाउने, कालो सिसाको आवरणमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा समाजमा सुरक्षा कायम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उल्लेख गर्दै धेरै नागरिकले स्वेच्छाले कालो सिसा हटाइरहेको भन्दै त्यसको प्रशंसा गरेका छन्।

Facebook Comments Box
TOP
185 Shares