रूसको मिसाइल र ड्रोन आक्रमणमा किएभमा कम्तीमा ८ जनाको मृत्यु, २५ घाइते

किएभ । रूसले बिहीबार युक्रेनको राजधानी किएभमा मिसाइल र ड्रोनमार्फत ठूलो आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएलगत्तै उक्त आक्रमण भएको बताएका छन्। घटनापछि उनले आयरल्यान्डको डब्लिन भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए।

युक्रेनको वायुसेनाले ब्यालेस्टिक मिसाइल राजधानीतर्फ प्रहार भइरहेको चेतावनी दिएपछि सर्वसाधारण मेट्रो स्टेशनलगायत सुरक्षित स्थानमा आश्रय लिन पुगेका थिए। किएभका विभिन्न क्षेत्रमा भएका विस्फोटले आवासीय भवन, गोदाम, छात्रावास, सवारीसाधन तथा अन्य संरचनामा क्षति पुगेको छ।

सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आक्रमण मुख्यतः नागरिक र आवासीय क्षेत्रलाई लक्षित गरिएको थियो। क्षेत्रीय गभर्नर माइकोला कलास्निकले किएभ क्षेत्रका पाँच जिल्ला प्रभावित भएको जानकारी दिएका छन्।

युक्रेनी आपतकालीन सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा आवासीय भवनहरूमा व्यापक क्षति देखिएको छ। प्रारम्भिक विस्फोटपछि अर्को शक्तिशाली विस्फोट हुँदा आकाशमा धुवाँ र आगोको मुस्लो देखिएको बताइएको छ।

राष्ट्रपति जेलेन्स्कीले नागरिकलाई सतर्क रहन, सुरक्षित आश्रय प्रयोग गर्न र हवाई आक्रमणसम्बन्धी चेतावनीलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्। उनले रूसले युद्ध अन्त्य गर्ने कुनै संकेत नदिएको आरोप लगाउँदै सबै सम्भावित कूटनीतिक माध्यमबाट शान्ति वार्ताको प्रयास जारी रहने बताएका छन्।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
305 Shares