निर्मला पन्त हत्या प्रकरणमा ८ वर्षपछि फेरि उच्चस्तरीय अनुसन्धान समिति गठन

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या घटना भएको ८ वर्ष पूरा हुन लाग्दा प्रहरीले पुनः अनुसन्धान तीव्र बनाएको छ । यस संवेदनशील तथा चर्चित घटनाको वास्तविक दोषी पत्ता लगाउने उद्देश्यले नेपाल प्रहरी प्रधान कार्यालयले उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन गरिएको हो । यसअघि विभिन्न चरणमा गठन गरिएका अनुसन्धान टोलीहरूले ठोस निष्कर्ष निकाल्न नसकेपछि पुनः विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

विसं २०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनापछि गरिएको अनुसन्धानमा अहिलेसम्म १२३ भन्दा बढी व्यक्तिको डीएनए परीक्षण गरिएको भए पनि कुनै पनि नमुना मेल नखाँदा अभियुक्त पहिचानमा प्रगति हुन सकेको छैन ।

प्रहरीका अनुसार अनुसन्धानलाई अझ प्रभावकारी बनाउन एसएसपी पंगेनी नेतृत्वको समितिमा आईजीपी सचिवालयमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडा र केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का एक जना इन्स्पेक्टरसहितका अधिकृतहरू समावेश छन् ।

प्रहरी प्रधान कार्यालयले समितिका सदस्यहरूलाई घटनास्थल कञ्चनपुरमै खटाई अनुसन्धानलाई केन्द्रित रूपमा अघि बढाइरहेको जनाएको छ । प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले अनुसन्धान जारी रहेको र समितिले काम गरिरहेको जानकारी दिएका छन् ।

दीर्घ समयदेखि समाधान नपाएको यस संवेदनशील घटनामा नयाँ अनुसन्धान समितिले ठोस उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
262 Shares