कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृतमाथि सामूहिक कुटपिट, दुई पक्राउ

चितवन। चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरी सामूहिक कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। बिहीबार बिहान गाउँपालिकाको कार्यालयमै भएको उक्त घटनापछि बस्नेत घाइते भएका छन् भने उनको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार निर्माण व्यवसायी लालबहादुर तामाङसहित करिब ६ जनाको समूहले गाउँपालिकाको कार्यकक्षमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गाउँपालिकाका कर्मचारीहरूका अनुसार खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट आफ्नो पक्षमा फैसला पाएपछि त्यसकै रिसइबी साँध्ने उद्देश्यले आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ। उक्त मुद्दाको सुनुवाइ बुधबार जिल्ला अदालत चितवनमा भएको थियो।
घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले आफूलाई “मुद्दा किन हराइस्” भन्दै कार्यकक्षमै आएर कुटपिट गरिएको र परिवारलाई समेत ज्यान मार्ने धम्की दिइएको बताएका छन्।
यस घटनाप्रति गाउँपालिकाका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले कार्यालय परिसरभित्रै कर्मचारीमाथि भएको आक्रमणले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
कर्मचारीहरूले दोषीमाथि कानुनी प्रक्रिया अघि नबढेसम्म नियमित कामकाज सञ्चालन गर्न असहज हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।
उता, प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिसकेको जनाएको छ। घटनामा प्रयोग गरिएको गाडीसमेत नियन्त्रणमा लिइएको छ भने मुख्य आरोपितसहित अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

Facebook Comments Box
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
१ दिन अगाडि

2.3kViews 306 Shares Share on Facebook Share on Twitter काठमाडौँ – नेपालभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विभिन्न संस्था तथा सञ्जालहरूलाई…

TOP
15 Shares