प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक समितिमा पठाउने कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत ४७औँ बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिनुका साथै चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची रहेको छ।

संसद् सचिवालयले तय गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकको प्रारम्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ।

त्यसपछि व्यवस्थापन कार्यअन्तर्गत विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिनेछ।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जनाएका छन्।

सोमबारको बैठकमा विधेयकहरू समितिमा पठाउने प्रस्तावमाथि आवश्यक प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares