पुराना अपराध प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’मा सुरक्षित, जुनसुकै बेला अपराधी कानुनी दायरामा आउँछन् : आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’मा सुरक्षित रहने भएकाले अपराधमा संलग्न व्यक्ति जुनसुकै बेला कानुनी दायरामा ल्याइने बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा आईजीपी कार्कीले व्यक्तिको स्मरण समयसँगै कमजोर भए पनि प्रहरी सङ्गठनले आपराधिक घटनालाई नबिर्सने बताएका हुन्। उनले दशकौँ पुराना जघन्य अपराधमा संलग्न व्यक्तिसमेत अनुसन्धानका आधारमा पक्राउ गरी कानुनी कारबाही गरिएको उल्लेख गरे।

“व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न,” उनले भने।

पुराना घटनामा अपेक्षाअनुसार सफलता हासिल गर्न चुनौती रहे पनि निरन्तर अनुसन्धान र प्रमाणको अध्ययनबाट अपराधीलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको उनले बताए। चर्चित तथा जघन्य प्रकृतिका पुराना घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको र केही घटनामा उल्लेखनीय सफलता प्राप्त भएको उनको भनाइ छ।

आईजीपी कार्कीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत पुराना जघन्य अपराधका घटनाको अनुसन्धान जारी छ। “नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,” उनले भने।

आधुनिक अपराधसँगै अनुसन्धान प्रणालीमा पनि परिवर्तन

बदलिँदो समाज, प्रविधि र अपराधको कार्यशैलीसँगै सुरक्षा चुनौती थपिँदै गएको उल्लेख गर्दै आईजीपी कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिक अपराध नियन्त्रण गर्न नसकिने बताए।

प्रहरी कर्मचारीको कार्यसम्पादनलाई थप व्यवस्थित र परिणाममुखी बनाउन पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरिएको उनले जानकारी दिए। कामका आधारमा मूल्याङ्कन हुने प्रणालीले प्रहरी कर्मचारीलाई आफ्नो कार्यसम्पादन सुधार्ने अवसरसमेत दिने उनको भनाइ छ।

“प्रहरी कर्मचारीलाई स्वचालित र उत्प्रेरित गर्न पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरेका छौँ । यो पूर्वानुमानयोग्य छ । कामका आधारमा मूल्याङ्कन हुन्छ, जसले व्यक्तिलाई सुधार्ने मौका पाउँछ,” उनले भने।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकलाई सामान्य सेवाका लागि प्रहरी कार्यालय धाउनुपर्ने अवस्थासमेत क्रमशः अन्त्य गर्न खोजिएको उनले बताए। नेपाल पुलिस एपमार्फत घरबाटै आवेदन तथा निवेदन दिन र सेवासम्बन्धी जानकारी लिन सकिने गरी प्रणाली विकास गरिएको उनको भनाइ छ।

प्रविधि र आर्थिक अपराधमा विशेष अनुसन्धान

पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराधका घटना बढ्दै गएको भन्दै आईजीपी कार्कीले यस्ता अपराधको अनुसन्धानका लागि आवश्यक जनशक्ति भर्ना तथा परिचालनमा जोड दिइएको बताए।

उनले अपराधको प्रकृति र प्रवृत्तिअनुसार विशिष्टीकृत अनुसन्धान इकाइ गठन गरिएको जानकारी दिँदै अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि विभिन्न देशका प्रहरी सङ्गठन तथा इन्टरपोलमार्फत आवश्यक समन्वय भइरहेको बताए।

“नेपाल प्रहरीले आधुनिक ‘पुलिसिङ’का स्ट्यान्डर्डलाई अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी सङ्गठनका सदस्यसँग समन्वय गरिरहेको छ,” उनले भने।

प्रविधिको दुरुपयोगबाट हुने आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरी सक्षम बन्दै जाने विश्वाससमेत उनले व्यक्त गरे।

अपराध नियन्त्रणमा नागरिक सहयोग अपरिहार्य

नेपाल प्रहरी आमनागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने संस्था भएको उल्लेख गर्दै आईजीपी कार्कीले शान्ति, सुव्यवस्था कायम गर्न तथा नागरिकको जीउधनको सुरक्षा गर्न प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहेको बताए।

उनले आपराधिक गतिविधि वा आपराधिक प्रवृत्ति भएका व्यक्तिबारे प्रहरीलाई समयमै सूचना उपलब्ध गराउन आमनागरिकसँग आग्रह गरे।

“प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आमनागरिकको सहयोगको अपेक्षा सदैव छ । आपराधिक प्रवृत्ति भएका मान्छेका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु,” आईजीपी कार्कीले भने।

Facebook Comments Box
TOP
15 Shares